शान्तिको अग्र्यानिक कृषि मार्ट : चार लाख पुँजी एक वर्षमै बढेर ४० लाख !

साढे चार लाख रुपैयाँ जुटाइन् र सुरु गरिन् अग्र्यानिक कृषि मार्ट । आजकल उनको पसलमा सामग्री खरिद गर्ने ग्राहक मात्र नभएर आइडिया लिन आउने मानिसहरु पनि बढ्न थालेका छन् ।

विराटनगर । ‘जहाँ नविन सोच त्यहाँ सफल उद्यमशिलता’ भनाइलाई सार्थक बनाएकी छन् सुनसरी इटहरीकी अधिकारकर्मी शान्ति गजमेरले । उनले साढें चार लाख रुपैयाँबाट सुरु गरेको व्यावसाय बढेर एक वर्षमै ४० लाख रुपैयाँ बराबरको पुँजी जम्मा भएको छ । त्यति मात्र हैन उनैको प्रेरणाबाट झापाको बिर्तामोड, दमक, धरान र काठमाण्डौमा उनको मार्टको शाखा विस्तार हँुदैछ ।

अहो ! के त्यस्तो व्यवसाय गरिन् त शान्तिले अनि कसरी ? जिज्ञासा जाग्न सक्छ । शान्तिले केही गरेकी हैनन् प्रदेश १ मा सुरु नै नभएको विशिष्टकृत अग्र्यानिक कृषि मार्ट पसल सुरु गरेकी मात्र हुन् । नेपालमा उत्पादन हुने दुई सयभन्दा बढि अग्र्यानिक कृषि उत्पादनलाई उनले मार्टमा केन्द्रित गरेकी छन् । के छैन उनको पसलमा सातु, पिठो, मार्सी चामल, तुलसी पुदिना चिया, ग्रिनटी, नौनी, छुर्पी, सिधेदेखि गुलाबी नुन, नाङलो, डालो र झ्याउदेखि च्याउसम्म राखिएका छन् । त्यत्तिमात्र हैन उनले डिपार्टमेन्टलहरुमा कतै राख्ने गरेको पुस्तकहरु समेत पसलमा राखेकी छन् ।

इटहरी आइतवारेस्थित गुद्री बजारमा रहेको ‘नाङ्लो आर्गेनिक मार्र्ट’ नामको विशिष्टिकृत पसलमा सँधै ग्राहकहरुको भिडमभीड हुन्छ । स्वास्थ्यको ख्याल गर्ने व्यक्तिदेखि गृहणीहरु पुग्छन् उनको पसलमा ।

धेरै जोखिम मोलेर सुरु गरेको व्यावसाय एक वर्षमै फस्टाएको मात्र हैन प्रसिद्धि समेत कमाएपछि महिला उद्यमी शान्ति मख्खछिन् । आफनो व्यवसायबाट फुरुक्क भएका शान्ति भन्छिन्, ‘सुरुमा व्यवसाय नचल्ला र भएको पुँजी पनि डुब्लाकी भन्ने चिन्ता थियो । तर, सबैले रुचाएकोले एक वर्षमै पुँजी चार लाखबाट चालीस लाख पुग्यो अब शाखा पनि बिस्तार हुँदैछ ।

शान्ति गजमेर इटहरीकी अधिकारकर्मी हुन् । साथी फाउण्डेसन नामको सामाजिक संस्था खोलेर उनी दलित महिला र बालबालिकाहरुको अधिकारका लागि सक्रिय थिइन् । तर, मध्यमवर्गीय परिवारकी उनलाई समाजसेवामा निरन्तर लागिरहँदा घरपरिवार चलाउन धौधौ पर्न थाल्यो ।

यसैले उनले केही नयाँ व्यावसाय सुरु गर्ने सोच बनाइन् । साथीभाइसँग सल्लाह लिइन् । धेरैले सबैले गरेका व्यापार गर्न सल्लाह दिए । तर, नविन सोच भएकी शान्तिलाई केही नयाँ व्यवसाय गर्ने इच्छा थियो । यसैले उनले सँधै लाखांै खर्चेर कृषि पवद्र्धनका लागि भनेर लगाइने मेलाहरुमा देखावटी रुपमा कृषि उत्पादनहरु बिक्रीका लागि राखिएको सम्झना गरिन् र अठोट गरिन्, नेपालमै उत्पादन भएका कृषि उत्पादनहरुको व्यापारिक पसल किन नखोल्ने ? अनि ऋणपान गरेर साढें चार लाख रुपैयाँ जुटाइन् र सुरु गरिन् अग्र्यानिक कृषि मार्ट । आजकल उनको पसलमा सामग्री खरिद गर्ने ग्राहक मात्र नभएर आइडिया लिन आउने मानिसहरु पनि बढ्न थालेका छन् ।

बुधबार, ०६ असोज, २०७८, बिहानको ०९:०८ बजे

प्रतिक्रिया

  1. अत्यन्तै राम्रो सोचबिचार अझै धेरै उन्नति र प्रगति भाको देख्न र सुन्न पाउ आशिर्वाद र शुभकामना छ बहिनी

प्रतिक्रिया:

सम्बन्धित खवर