विराटनगर । मोरङमा कुष्ठरोगी प्रत्येक वर्ष बढदै गएको पाइएको छ । अहिलेसम्म मोरङमा १ सय ३१ जना कुष्ठरोगी रहेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
मोरङको सबैभन्दा बढी विराटनगर महानगरपालिका भित्र कुष्ठरोगी बढेको कुष्ठरोग अधिकृत मुलकचन्द राजवंशीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्षमा १ सय ३१ जनामध्ये विराटनगर महानगरपालिकाभित्र मात्र ५१ जना नयाँ कुष्ठरोगी भेटिएको बताए ।
यस्तै रंगेलीमा ८, रतुवामाइमा ८, सुनवर्षीमा ६, उर्लाबारीमा ६, सुन्दरहरैंचामा ७, पथरीशनिश्चरेमा ४, बेलबारी नगरपालिकामा ५ जना कुष्ठरोगी रहेका छन् । यस्तै बुढीगंगामा १, धनपालथानमा १, ग्रामथानमा १, कटहरीमा ४ जना कुष्ठरोगी रहेका छन् ।
मोरङको तीन वटा स्थानीय तहमा अहिलेसम्म कुष्ठरोगीका विरामी नभेटिएको कुष्ठरोग अधिकृत राजवंशीले जानकारी दिए । जसमा केराबारी, मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकामा अहिलेसम्म कुष्ठरोगीका विरामी देखिएको छैनन् ।
आर्थिक वर्ष २०७६/०७७ मा को प्रथम चौमासिकमा मोरङमा कुष्ठरोेगका ११ जना बिरामीहरु थिए । तर, आर्थिक वर्ष २०७८/०७९ को अन्त्यतिर आईपुग्दा बिरामीको संख्या बढेर १३१ पुगेको छ ।
जनस्वास्थ्यकर्मीहरुका अनुसार कुष्ठरोग ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने रोग हो । यो रोगले मुख्यतः छाला र स्नायुका टुप्पाहरूमा आक्रमण गर्छ । त्यसबाहेक, यसले नाकको भित्री भित्ता तथा माथिल्लो श्वासनलीमा पनि आक्रमण गर्छ । यो रोग लागेपछि छालामा दागहरु देखिने, स्नायु प्रणाली प्रभावित हुने, नसा सुन्निने दुख्ने तथा सुक्ने, पक्षघात हुने र शरीरका विभिन्न भागमा घाउ खटिरा हुनेलगायतका लक्षणहरु देखा पर्छन् ।
कुष्ठरोग लागेपछि छाला रातो हुने, अनुहारको छाला बाक्लो हुने, गिर्खाहरू देखापर्ने र स्नायुमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नहुने लगायतका लक्षणहरु समेत देखिन्छन् । यसको न्युनीकरणका लागि रोग लुकाउनुको साटो पत्ता लाग्ने बित्तिकै उपचार गराउने बानीको विकास गर्नुपर्ने स्वास्थ्य कार्यालय मोरङका कुष्ठरोग अधिकृत मुलुकचन्द राजवंशीको भनाइ छ ।