विराटनगर । कुनैबेला यस्तो थियो नगरका निश्चित चोकहरुमा आकासे पुल तुरुन्त बनाउन दबाब दिँदै विराटनगर महानगरपालिकामा दिनहुँजसो दबाब आउँथ्यो ।
यस्तो माग राख्दै आउनेलाई समय उपलब्ध गराउन मेयर भीम पराजुलीलाई हम्मे पथ्र्यो । सडक चौडा भएपछि दुर्घटना बढेको गुनासो बढेको थियो । सडक वारपार गर्न सर्वसाधारणलाई सास्ती भयो भन्दै आकासे पुलको माग गर्न ठाउँ–ठाउँबाट दबाब दिन जाने लहर चलेको थियो । यसरी नगरबासीले मागेकै योजना निर्माणको चरणमा आइपुगेपछि भने महानगरलाई त्यही योजना घाँडो बनेको छ ।
‘पहिले आकासे पुल बनाइदेऊ भन्दै डेलिगेसन आउँथे अहिले मेरो घर अगाडि बनाउन पाइँदैन भन्दै अवरोध गरिरहेका छन्’, महानगर प्रमुख भीम पराजुलीले भने । नगरबासीहरुको चौतर्फी दबाब बढेपछि महानगरले आकासे पुलको आवश्यकता अध्ययन ग¥यो । अध्ययनले कम्तीमा चार ठाउँमा आकासे पुल जरुरी रहेको निष्कर्ष निकाल्यो । त्यसैका आधारमा महानगरपालिकाले आवश्यक स्रोतको व्यवस्थापन गरेर आकासे पुल बनाउने योजना अगाडि बढायो । अहिले कञ्चनबारी, बरगाछी, घाँसचोक र बसपार्क क्षेत्रमा आकासे पुल बनाउने अन्तिम तयारी गरिरहेको बेलामा स्थानीयले अवरोध गर्न थालेका छन् । यसले महानगर हैरान बनेको छ ।
आकासे पुल बनाउन ठेकेदार कम्पनीले बसपार्क दक्षिण पाञ्चाली मोड नजिकै काम सुरु ग¥यो । तर, जग्गाधनी नागेश कोइरालाले काममा अवरोध गरे । उनले आवश्यकतै नभएको ठाउँमा आकासे पुल बनाउन जरुरी छैन भन्दै काम अगाडि बढाउन दिएनन् । विकल्पमा उनले बसपार्क क्षेत्रमै आकासे पुल बने उपयोगी हुने सुझाव दिए ।
आकासे पुल चाहियो भनेर सबैभन्दा धेरै माग भएमध्येको कञ्चनबारी चोकमा पनि महानगरले काम अगाडि बढाउन सकेन । आकासे पुलको ‘ड्रोइङ डिजाइन’ चोकको दक्षिणमा बनाउने गरी तयार भएको थियो । राजमार्ग पूर्व र पश्चिम दुवैतर्फका घरधनीहरुले पुल निर्माण गर्न नदिने भएपछि चोकबाट उत्तरतर्फ सारियो । तर, त्यहाँ पनि आकासे पुल बन्ने छाँट छैन । प्रदेशसभा सदस्य (सांसद) चुमनारायण तवदारले महानगरमा लिखितै उजुरी दिएर आकासे पुलको विकल्प खोज्न वा त्यहाँबाट अन्यत्र सार्न माग गरेका छन् । दक्षिणतर्फ बनाउँदा महानगर ४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलको घर छेकिने भएकोले पहिल्यै सारिएको थियो । उत्तरमा सांसदकै घर परेपछि कञ्चनबारी चोकमा बन्ने भनिएको आकासे पुलको योजना ‘आकासको फल’ नै हुने त होइन भन्ने आशंका गर्न थालिएको छ ।
बरगाछीमा पनि स्थानीय गणेश थापाले आफ्नो घर अगाडि आकासे पुल नबनाउन दबाब दिँदै आएका छन् । उनले पनि दायाँबायाँ सारेर पुल बनाउन आग्रह गर्दै आफ्नो घर अगाडि भने बनाउन नमिल्ने भन्दै काम गर्न नदिने चेतावनी दिइरहेका छन् । सबैतिरबाट अवरोध भएपछि महानगर योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ ।
‘अहिलेसम्म कसैले पनि आकासे पुलको काम छैन नबनाऊ भनेका छैनन् सबैले बनाउनै पर्छ भनिरहेका छन्,’ प्रमुख पराजुलीले भने ‘बनाउनु पर्छ भन्नेहरु मेरो घर अगाडि चाहिँ हैन अलि पर अर्काको अगाडि बनाऊ भन्छन्, यसरी कसरी विकासको काम हुन्छ ?’
विराटनगर महानगरपालिकाले बनाउन खोजेको मध्ये घाँसचोकमा आकासे पुलको सबैभन्दा धेरै आवश्यकता देखिएको छ । बजार क्षेत्र भएको र पूर्व हाटखोलादेखि पश्चिम सरोचिया, जनपथ, ब्रम्हपुरादेखि सुनसरीसम्मबाट ठूलो संख्यामा मानिस आवतजावत गर्ने केन्द्र भएकोले त्यस ठाउँमा बन्ने आकासे पुल उपयोगी हुने सरोकारवालाहरुले बताएका छन् । त्यस्तै कञ्चनबारी र बरगाछीमा पनि आकासे पुल जरुरी छ । ती दुबै ठाउँमा स्थानीयले अवरोध गरेको भन्दै महानगरपालिकाले बिहीबारबाट सरोकारवालाहरुसँग छलफल आरम्भ गरेको छ । बिहीबार विराटनगरबाट प्रकाशित पत्रिकाका सम्पादक र नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग महानगरले छलफल गरी आकासे पुल निर्माणमा देखिएको समस्याबारे जानकारी गराउँदै सहजीकरणको अपेक्षा पनि ग¥यो । सञ्चारकर्मीहरुले आकासे पुल बन्न जरुरी रहेको भन्दै सम्बन्धित पक्षसँग समन्वय गर्न सुझाव दिए ।
प्रदेशसभा सदस्य चुमनारायण तवदारले आफू विकासको विरोधी नभएको बताए । ‘जुन ठाउँमा बन्नुपर्ने हो त्यो ठाउँमा नबनेर अन्तै बनाउन लागिएकोले त्यसो नगर्न भनेर मैले भनेको हुँ,’ सांसद तवदारले भने ‘यस ठाउँमा आकासे पुल वा ट्राफिक लाइटको अत्यन्त जरुरी छ, तर बनाउने ठाउँ मिलेन भनेर मात्र भनेका हौं ।’ अहिले आकासे पुल बनाउने तयारी गरेको ठाउँबाट पूर्वतर्फ जाने दुई वटा साना बाटाहरुमा अवरोध हुने भएकोले सार्न आग्रह गरेको उनले बताए । कतिपयले महानगर प्रमुखलाई असहयोग गर्न खोजियो भन्न थालेको भन्दै उनले आफ्नै पार्टीको प्रमुखलाई असहयोग गर्ने कुरा हुनै नसक्ने बताए । उनले चोकलाई आधार मानेर आकासे पुल बनाउँदा सहज हुने बताएका छन् ।
विराटनगर ४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलले आकासेपुल बनाउन आफूले अवरोध नगरेको बताए । उनले भने ‘मेरै अगाडिबाट बनाए पनि हुन्छ, पहिले पनि मेरो कारणले नभएर छिमेकीहरुका कारणले सरेको हो, यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने सहमति छ ।’
उता पाञ्चाली मोड नजिक बन्न लागेको आकासे पुल भने कम उपयोगी हुने सरोकारवालाहरुको ठहर छ । त्यसलाई अन्यत्र सार्नु उपयुक्त हुने सुझाव पत्रकारहरुले पनि दिएका छन् । काममा अवरोध गरेको आरोप खेपेका नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले भने ‘आकासे पुल कस्तो ठाउँमा बनाइन्छ ? भिडभाड हुने ठाउँमा नबनाएर नागेश कोइरालाको खाली जग्गामै लगेर बनाउनुको अर्थ के हो ? जबरजस्ती विकास विरोधी देखाउन यस्तो गरिएको अनुभूति भएको छ ।’ उनले विराटनगरको विकासमा जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको भन्दै ‘जुन ठाउँमा आवश्यक छ त्यस ठाउँमा पूर्वाधार बन्नुपर्छ । कलेज रोडको त्यस ठाउँमा तत्काल पुल आवश्यक छैन भनेर मैले केही समय काम नगर्न भनेको हुँ ।’
विराटनगर महानगरपालिकाले प्रदेश सरकारसमेतको सहयोगमा घाँसचोकमा लिफ्ट, शौचालय, सूचना केन्द्रसहितको आकासे पुल बनाउने छ । बाँकी पुलहरुमध्ये दुईवटामा दुवै तर्फबाट चढ्न मिल्ने र एउटामा भने एकातर्फबाट चढ्न मिल्ने गरी बनाउन लागिएको इन्जिनियर डा. राजन सुवालले जानकारी दिए । आकासे पुलको ७ मिटर उचाइको डिजाइन गरिएको भए पनि त्यसलाई संशोधन गरेर ६ मिटर बनाउन सुझाव आएकोले संशोधन गरिने महानगरले जनाएको छ । चार वटा आकासे पुल निर्माणका लागि महानगरले झण्डै ८ करोड रुपैयाँ खर्च गर्दैछ ।