बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी

विराटनगर । औषधीको तस्करी धन्दामा लागेका गिरोहले अनेक जुक्ति अपनाएर तस्करी गर्ने गरेका छन् । भारतबाट भन्सार छलेर औषधी ल्याउँदा बढी मुनाफा हुने भएपछि गिरोहले अनेक जुक्ति अपनाएर औषधीको तस्करी गर्ने गरेको पाइएको हो ।

सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ रानीबाट लगभग १९ लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेसँगै यस्तो घटना बाहिर आएको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार दुईवटा कार्टुनमा लुकाएर झाडीमा फ्याँकेको अवस्थामा औषधि बरामद गरिएको हो ।

डेक्समिडाइन, टिगेवेस्ट, टिकोवाक्ट, कुटेनोक्स, डोटामिन, निप्रेसलगायतका ११ प्रकारका औषधि बरामद गरिएको एसपी पौडेलले जानकारी दिए । बरामद भएको औषधी अवैध रुपमा तस्करी धन्दा चलाउने गिरोहको सञ्जालले ल्याएको हुनसक्ने प्रहरीले बताएको छ । ‘भारतदेखि अहिले तस्करी गरेर नेपालमा औषधी ल्याउँदा बढीभन्दा बढी फाइदा छ । त्यही भएर औषधी तस्करी धन्दा चलाउने गिरोहले अहिले औषधी व्यवस्था विभागमा दर्ता भएका र नभएका दुवै औषधी अवैध बाटो हुँदै ल्याउने गरेको छन्,’ स्वास्थ्य क्षेत्रका एक जानकारले भने ।

लागत मुल्यभन्दा, दोब्बर तेब्बर बढी मुनाफा आर्जन हुने भएपछि गिरोहले भरिया प्रयोग गरेर तस्करीको औषधी भित्र्याउने गरेका छन् । स्रोतले दिएका जानकारी अनुसार भारतदेखि तस्करीको औषधी सबैभन्दा बढी सीमावर्ती क्षेत्रमा रहेका फार्मेसीले मगाउने गरेका छन् । ‘उनीहरूले निश्चित रकम दिएर भरिया प्रयोग गर्दछन् । गन्तब्य (होलदेखि फार्मेसी)सम्म ल्याएपछि राम्रो पैसा पाउने भएकोले क्यारिङ गराउने भरिया प्रयोग गर्दछन् । ‘भरियाले गन्तव्यसम्म तस्करीको औषधी ल्याउने गरेका छन्,’ स्रोतले भन्यो । औषधीको तस्करी धन्दा चलाउने क्यारिङ गर्नेले फार्मेसीसँग तस्करीको औषधी ल्याउँदा औषधीको पत्ता हिसाबले पैसा लिने गर्दछन् । प्रहरीले बरामद गरेको औषधी भरियाले गन्तव्यसम्म पु¥याउँदा क्यारिङ गर्नेले मगाउने व्यक्तिसँग एक लाख रूपैयाँसम्म लिने गरेको बुझिएको छ ।

आइतबार बरामद भएको औषधी बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानीले बरामद गरेको थियो । एसपी पौडेलका अनुसार औषधि भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको हुनसक्छ । तर औषधि कसको हो भन्ने खुलेको छैन । ‘बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो,’ उनले भने, ‘भारतबाट भन्सार छली गरेर ल्याएको आशंका छ । औषधिको तस्करीमा संलग्नको खोजी भइरहेको छ । सशस्त्र प्रहरीलाई देखेपछि तस्करीमा संलग्नहरु औषधि फ्याँकेर भागेका हुनसक्छन् ।’ बरामद औषधिबारे आवश्यक छानविनका लागि औषधि व्यवस्था विभाग विराटनगर बुझाइएको उनको भनाइ छ ।

औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले बरामद भएका औषधि अति आवश्यकीय रहेको बताए । उनका अनुसार अधिकांश औषधि कोरोना संक्रमित, मुटुको समस्या भएका बिरामीका लागि प्रयोग हुन्छन् । त्यस्तै शरीरमा रगत जम्न नदिने खालका औषधि पनि रहेको उनले बताए । ‘प्रहरीले बरामद गरेको औषधी विभागलाई बुझाएको छ,’ उनले भने, ‘यस विषयमा हामीले अनुसन्धान सुरू गरेका छौं ।’

सोमबार, २८ भदौ, २०७८, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर