लिगलिगे दौडमा कांग्रेसजनहरु

 लीलावल्लभ घिमिरे

यतिबेला यो देशको सबैभन्दा पुरानो र लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । २० जिल्ला बाहेक कांग्रेसले वडा तहको अधिवेशनपनि सकेको छ । धेरै वडाहरुमा सहमतिका आधारमा क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् । तर, प्रायः निर्वाचन हुने वडाहरु केन्द्रीय नेताको कृयाशील सदस्यता भएका ठाउँहरु हुन् । यी क्षेत्रीय प्रतिनिधि भनेका कांग्रेसको पहिलो इँटा हुन् । यिनीहरुले नै अब नगर, गाउँ, क्षेत्र, जिल्लाको नेतृत्व छान्नेछन् । यति मात्र हैन यिनैले केन्द्र र प्रदेशका लागि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत निर्वाचित गर्नेछन् । यो कांग्रेस पार्टी जति पुरानो छ यसभित्र गुट उपगुटपनि त्यतिकै छन् । यहाँभित्र रहेका सबै गुटको एउटा मात्र कुरा मिल्छ त्यो भनेको सबैले भेट्दा जय नेपाल भन्छन् । त्यो भन्दा अरु सबै गुट उपगुटकै रुपमा चलाइरहेका छन् ।

यतिबेला दुई जना कांग्रेसका बिचमा नयाँ परिचय भयो भने जय नेपाल पछि सोध्ने दोस्रो प्रश्न भनेको तपार्इँ देउवा, पौडेल, कोइराला, सिटौला कि निधी कांग्रेस हुने गरेको छ । कांग्रेस भित्रको आन्तरिक चुनावलाई नियालेर हेर्ने हो भने भारत र पाकिस्थान बिचको क्रिकेट भन्दा कम हँुदैन् । यही लडाइँको तयारीमा कांग्रेसजनहरु यतिबेला कम्मर कसेर लागिपरेका छन् । एउटा गुटकाले अर्को गुटका लागि सके क्षेत्रीय प्रनिधिमा लडाउने यदी त्यो सकिएन भने महाधिवेशन प्रतिनिधि बन्न नदिन साम, दाम, बल र बुद्धि चाही अन्तिममा लगाउन पनि पछि गर्दैन् । हिजोअस्तिको दिनमा धरानका एक जना पुराना र इमान्दार कांग्रेस गिरिराज आर्चाय त्यसैको शिकार बन्नुभयो । देशभर हेर्ने हो भने धेरै कांग्रेसका इमान्दार नेता तथा कार्यकर्ताहरुलाई क्षेत्रीय प्रनिधिमा ठेगान लगाउने काम भएको छ ।

अरु त के कुरा मोरङ कांग्रेसमा त क्षेत्रीय प्रतिनिधि बन्नबाट रोक्ने दोस्रो कुरा भयो । यहाँ त कृयाशील सदस्यता नै दिने नदिनेमा नै गुटका करा छन् । त्यसैले अहिलेसम्म कृयाशील सदस्यहरुको नामसमेत सार्वजनिक हुन सकेको छैन । त्यसमा पनि मोरङमा अन्यत्र भन्दा भिन्न प्रकृतिका समस्या छन् । जति केन्द्रीय नेताहरु छन् सबैको आ–आफ्नै गुट छन् । महेश आर्चाय, डाक्टर शेखर कोइराला, मिनेन्द्र रिजाल, सुजता कोइराला, अमृत अर्यालदेखि गुरु राज घिमिरेसम्मले कुन न कुनै रुपमा आफ्नो लाइन संघर्ष अघि बढाएका छन् ।

यदी मोरङलाई मात्र हेर्ने हो भने १३ औं महाधिवेशनमा मोरङ कांग्रेसको सभापतिका लागि सबै केन्द्रीय नेताहरुले एक एक जनालाई बोकेका थिए । तर यस पटक भने महेश आर्चाय, डाक्टर शेखर, डा. मिनेन्द्र रिजालको तर्फवाट एक जना मात्र सभापतिको उम्मेदवार हुने सम्भावना धेरै छ । यो समूहले बर्तमान सभापति डिकवहादुर लिम्बुलाई दोहो¥याउने सम्भावना वढि छ भने अमृत अर्याल लिम्बुको टकरमा दिलीप गच्छदारलाई चुनावी मैदानमा उर्ताने योजनामा छन् । उनलाई बिजय गच्छदार समूहदेखि केन्द्रीय सदस्य डिला संगौलासम्मको साथ छ । लिम्बु यसअघि अर्यालसँगै थिए ।

अर्यालका लागि देउवा समूहवाट चुनावी मैदानमा उतारेका सभापतिलाई जिताउनै पर्ने दवाव जति छ त्योभन्दा वढि दवाव आफू कहाँ र कसरी सुरक्षित रहने भन्ने चिन्ता पनि छ । अघिल्लो पटक प्रदेश १ बाट केन्द्रीय सदस्यमा गुरुराज घिमिरे सँग पराजित भएका अर्याललाई पछि देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए । अघि अर्याल प्रदेश अध्यक्ष वा केन्द्रीय सदस्य उठ्ने मनस्थीतमा छन् । उता देउवा इतरको समुहले फेरि प्रदेश अध्यक्षमा गुरुराज घिमिरेलाई अघिसार्ने सम्भावना छ । यदि त्यसो भयो भने फेरि गुरुराज र अमृतबीच प्रदेश अध्यक्षका लागि प्रतिष्पर्धा हुन सक्छ ।

मोरङ सभापति पदमा आफ्नो उमेदवारी घोषणा गरिसकेका यदु विष्टलाई कुन समूहको कसरी लाइन मिल्छ त्यो अहिले भन्न सक्ने अवस्था छैन् । मोरङ कांग्रेसलाई जीवन्त दिन सक्षम नेतृत्वको आवश्यकता छ । त्यो परीक्षा दिन इमान्दार कांग्रेसजन तयार हुनुपर्छ । तर, अहिले कांग्रेस कांग्रेस बिचको निर्वाचन हेर्दा लाग्छ उनीहरु अन्य दलसँंग प्रतिष्पर्धा गरिरहेका छन् । ३ बर्षअघि मात्र झण्डै दुईतीहाइ मत ल्याएको बाम शक्ति तीन चिरामा फुटेका छन् । मधेसवादी दलहरु समेत दुई चिरा भएका छन् यस्तो अवस्थामा कांग्रेस गुट उपगुट भन्दा माथि उठेर नेतृत्व चयन गर्न सके मात्र आउने आम निर्वाचनमा चिया गफमा भए जस्तो कांग्रेस ठूलो दल बन्ला तर यही चाला हो भने फेरी कांग्रेसको हबिगत बिगतको जस्तै हुनेमा दुई मत छैन । कांग्रेसजनले अब पदको दौड जित्नका लागि तिघ्रामा ध्यु दल्न छोड्नु पर्छ । उहील्यै लिगलिगमा राजा बन्नका लागि यसरी नै तिघ्रामा ध्यु दलेर कुद्ने चलन थियो । सायद त्यसैको सिको गरेको हुनुपर्छ । यस पटकको कुम्भ मेला विचारले हैन, तिघ्राले काम गर्छ भन्ने चिन्ता जीवित छ । यो चुनाव अन्तर पार्टी बिचको हो जस्तो भान पार्टीका अधिकांश कार्यकर्तालाई मात्र हैन सर्वसाधराणलाई समेत पर्न सकेको छैन् । कांग्रेसका गुटहरु यतिबेला ढलको पानी सडकमा छताछुल्ल भएझंै गनाइरहेका छन् । मोरङकै कुरा गर्ने हो भने गएको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउन भन्दा हराउन लाग्ने नेताहरुको लिष्ट निकै लामो छ । एकले अर्को समूहलाई हराउन न्वारानदेखिको बल निकालेर नेताहरु लागे । यसले के भयो ? पार्टी संगठन कमजोर भो । मोरङका ६ मध्ये ५ निर्वाचन क्षेत्र गुमे ।

कांग्रेस पार्टी कसैको बपौती हैन । नेतृत्व व्यक्तिको क्षमतामा निर्भर हुन्छ । अहिले राम्रा मान्छेभन्दा हाम्रा मान्छे त खोज्छांै तर परिणाम ‘नरहे बा“स, नबजे बा“सुरी’ भने जस्तै हुन्छ । पार्टीभित्र भिन्न विचार उठाउन त पाइन्छ तर, भिन्न समूह नै बनाउने छुट कसैलाई हुदैन् । आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने हाम्रो बानी सबैभन्दा घातक छ ।

आइतबार, २७ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर