सूयर्माराज राई
अहिलेको राजनीतिक परिस्थितिलाई कसरी लिनुभएको छ ?
– संविधान निर्माण र संघीय व्यवस्था लागू भएपछिको पहिलो निर्वाचनले केही सकारात्मक सन्देश प्रवाह गरेको थियो । खासगरी बाम एकता र त्यसले प्राप्त गरेको जनमतको निकै महत्वपूर्ण थियोे । मूलतः संघीय व्यवस्था कार्यान्वयन गर्नेतर्फ र मुलुकलाई समृद्धिको नयाँ कोर्षतर्फ लैजाने अहम् जिम्मेवारी र भूमिका वाम एकतालाई दिएको थियो । राजनीतिक अस्थिरले हायलकायल नेपाली राजनीतिले स्थिरताको बाटो समात्ने आम विश्वास र आशा थियोे । तत्कालीन प्रधानमन्त्री केपी ओलीको मूर्खतापूर्ण निर्णय र व्यवहारको कारण त्यो सबै चकनाचुर भयो । हामी नेपाली कांग्रेस त जनमतको आदेश मानेर विपक्षीको भूमिकामा बसेर संघीयता कार्यान्वयन र मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने कुरामा निश्चिन्त सकारात्मक र रचनात्मक पोजिसनमा बसेकै थियौं । तर यो बीचमा मुलुकले जुन ढंगबाट कठिन राजनीतिक परिस्थितिबाट गुज्रिनुप¥यो त्यो निकै पीडादायी भयो । भलै, अहिले एउटा परिस्थिति निर्माण भएको छ । गठबन्धन सरकार र राष्ट्रिय राजनीति त्यही जगमा अघि बढ्दो छ । चुनौती र जोखिम भने उत्तिकै बढी छ । यो पाराले मुलुक र आम नागरिक ढुक्क हुने अवस्था पटक्कै छैन । राजनीतिप्रति विश्वास र आशा एक किसिमले शिथिल छ । आमनागरिक ढुक्क हुनसकेको अवस्था छैन । राजनीति वास्तवमा अहिले निकै पेचिलो बनेर देखापरेको छ ।
एमसिसीबारे तपाईंको धारणा के हो ?
– राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वार्थमा कुनै असर पर्नुभएन । हाम्रो मुलुक अरु मुलुकविरुद्धको चलखेल हुने मैदान पनि बन्नुभएन । विशुद्ध विकाससम्बन्धि उद्देश्यले जोडिएर आउने सबै खालको प्रोजेक्टलाई स्वागत गर्नु हाम्रो आवश्यकता र चाहना हुनुपर्छ । एमसीसी विकास रिलेटेड हो या अरु नै भेस्टे«ड इन्ट्रेस्टसँग जोडिएको छ ? गम्भीर बहस आवश्यक देख्छु ।
संघीय शासन व्यवस्थाले मुलुकमा खर्च बढाएको र बेकामे भएको कुरा छ । यसबारे तपाईंको धारणा के हो ?
– संघीयताको विरोध कसले अर्थात् कस्तो आर्थिक, सामाजिक र राजनीतिक पृष्ठभूमि भएकाहरुबाट भइरहेकोे छ ? त्यो विश्लेषण गर्न जरुरी छ । संघीयताविरोधी तिनैहरू छन् जो उच्च सामाजिक, राजनीतिक र आर्थिक हैसियत राख्दछन् । यिनीहरू लोकतान्त्रिक व्यवस्थाको पनि विरोधी हुन् । तिनीहरू एकतन्त्रीय सर्वसत्तावादी एक जाति, एक वर्ग, एक धर्मका पक्षपाती हुन् । ‘मै लाउ मै खाउ सुखसयल मै गरुँ’ भन्ने अतिवादी अभिजात्य सोच र वर्गले संघीयताको विरोध गरिरहेका छन् । एउटा घतलाग्दो पक्ष के छ भने उच्च नश्लीय सोच (जो नेपाली समाजमा सयौं वर्षदेखि जबर्जस्त स्थापित भएको छ त्यो सोच) वर्तमानमा चाहे जुनसुकै राजनीतिक विचारसँग जोडिएका हुन् तिनीहरू पनि बनिबनाउ विरोधमा राम्रैसँग उत्रिएका छन् । यसरी हेर्दा संघीयताको विरोधी तिनीहरू छन् जो नेपाललाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपले अग्रगमनतर्फ जान दिन चाहँदैनन् । संघीयताको विरोध एउटा जबर्जस्त बनिबनाउ मानसिकता मात्रै हो । संघीयताको विकल्प फेरि पनि संघीयता नै हो । तसर्थ मुलुकले संघीयतालाई समृद्ध बनाउनेतर्फ फोकस भएर स्वयं मुलुक समृद्ध र सफल बन्नु आजको पहिलो शर्त हो ।
संघीयताको सही ढंगले कार्यान्वयन भएको छ ?
– केपी ओली स्वयं र उसको सरकार संघीयता विरोधी थियो । एककिसिमले ओलीलाई अनिच्छित सन्तानजस्तो थियो संघीयता । वास्तवमा भन्ने हो भने ओलीकै कारण संघीयतामाथि अनेकन टिप्पणी उठ्ने परिस्थिति पनि बन्यो । शक्ति बाँडफाँड र संविधानतः प्राप्त अधिकार स्थापित गर्ने कुरामा ओली निकै अनुदार रहे । जसकारण प्रदेश निकै निरिह बन्यो । संघीय सरकारको एउटा इकाई मात्रै हो भन्ने ओलीको दुरासयपूर्ण अभिव्यक्तिले संघीयतालाई निकै नकारात्मक परिस्थितिमा उभ्यायो । अरु थुप्रै फ्याक्टरहरु छन् जसले संघीयता कार्यान्वयनमा सहि दिशा र अध्ययन गर्न सम्भव भएन । यसरी हेर्दा संघीयता अपरिहार्य आवश्यकता हो । तर कार्यान्वयनको पाटो निकै फितलो र कमजोर देखिएको छ ।
संविधानमा समावेशीता, समानुपातिकता र आरक्षणको कुरालाई व्यवस्थित गरिएको छ । पछिल्लो पटक आरक्षणको विषय भने आलोचित बनिरहेको छ । तपाई यसलाई कसरी लिनुहुन्छ ?
– समावेशीता, समानुपातिक र आरक्षणको आवश्यकता किन भयो ? सयौं वर्षको नेपाली राजनीतिक इतिहासमा राज्यको नीति निर्माण र संचालनको तहमा कसले, कुन वर्ग र जातिले हालीमुहाली ग¥यो ? अनि त्यो अवस्थाबाट मुलुकले अग्रगति लिन सक्यो कि सकेन त ? विद्यमान विभेद, बहिष्करण र एकल अवसरवादले के साँच्चै मुलुकलाई सकारात्मक गन्तव्यतर्फ डो¥याएको छ त ? जोजो वा जुनजुन वर्ग, विचार र समुदाय र सम्प्रदायले यो समावेशीता, समानुपातिक र आरक्षणको विरोध गरिरहेका छन् उनीहरुले भन्नुप¥यो साँचो–सत्य । मैले उठाएका यी सवालको इमान्दार जवाफ दिनुप¥यो । हचुवामा विरोध गरिदिने ?
युवाहरु नेतृत्व तहमा पुग्न कस्ता समस्या छन् ?
– युवाहरूलाई आजको दिनमा सबैभन्दा ठूलो चुनौती आत्मविश्वासको कमि हो । आफूले आफूलाई विश्वास गर्ने र भर गर्ने सवालमा युवाहरू निकै कमजोर देख्छु म । युवाहरूलाई के लाग्दछ भने आफूमा क्षमता अभिवृद्धि गर्ने भन्दा सिनियरलाई खुसी पारे सबैथोक ठिक हुन्छ भन्ने एक खालको मिसकन्सेप्ट देख्छु । पहिलो क्षमता अभिवृद्धि नै हो अनि मात्रै सिनियरको साथ र हौसला । अर्काे चाहिँ दक्षिण एशियाको राजनीतिक ट्रेन्ड जो छ त्यो चाहिँ अलिक परम्परावादी र युवामाथि कम भरोसा राख्ने मान्यता बढी हाबी पनि छ । यसले पनि युवाहरूलाई अगाडि बढ्न सन्तोषजनक सहयोग पुगिराखेको छैन ।
पार्टी नेतृत्वको सिर्जनात्मक आलोचना गर्नेभन्दा पनि चाकडी गर्ने युवाको जमात बढिरहेको छ । तपाई ती युवाहरूभन्दा के फरक हुनुहुन्छ ?
– मैले माथि नै भनिसकें युवाहरूमा आत्मविश्वासको कमी छ । आत्मविश्वास कम भएको मानिसको चरित्र भनेको अरूलाई खुसी पार्ने र आफ्नो काम लिने हो । सायद यसैलाई अर्को भाषामा चाकरी भन्लान् । तर तपाईं हामीले अलिकति पनि हाम्रा सफलता र चुचुरोमा पुगेका अग्रज नेताको इतिहास हेरौं त ? ती सबै क्रान्तिकारी युवाहरू नै थिए । क्षमता र योग्यताले पूर्ण थिए । आत्मविश्वासले भरिएका र जोखिम लिन हरदम तयारहरु नै थिए । अहिले पनि तिनै चरित्र र विचारले भरिएकाहरु नै अगाडि देखिन्छन् जो जति युवाहरू अगाडि देखिएका छन् । जहाँसम्म मेरो सवाल छ त्यो त म आफैंले मेरो मूल्यांकन गर्नु कति के जायज होला र ? तर इमान्दारीताका साथ भन्छु, म आफूमा प्रशस्त आत्मविश्वास भएको, एउटा वैचारिक र सैद्धान्तिक धरातलमा उभिएको युवा हँु ।
तर, तपाईको पार्टी नेपाली कांग्रेसमा युवा नेता हुनलाई नै ७० वर्ष पुग्नुपर्ने बाध्यता छ होइन र ?
– जहाँसम्म मेरो पार्टीको हकमा युवा नेतृत्वको सवाल छ यो चाँही एउटा पेचिलो विषय छ । युवालाई अलिक किनारामा राखेर पार्टीको नेतृत्व अघि बढेको तितो अनुभव सबैले गरेका छन् । यो अनुभव कांग्रेसभित्र मात्रै होइन बाहिरबाट समेत छ । तर चौधौं महाधिवेशनले एउटा ब्रेक डाउन पक्का गर्छ । गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल र कल्याण गुरुङहरुले त्यसको शंखघोष पनि गर्दैछन् । पन्ध्रौंसम्म पुग्दा त सिंगो नेतृत्व नै यो पुस्तामा आउने कुरामा दुईमत नरहला । तर नेतृत्व मागेर होइन लडेर लिनुपर्छ भन्ने शाश्वत सत्यलाई भुल्नुचाहीं हुन्न कि ?
तपाईको पार्टी नेपाली कांग्रेसले नै देशको नेतृत्व गर्छ र तपाईजस्ता युवालाई अवसर दिन्छ भन्ने के आधार छ ?
– मेरो पार्टीको इतिहास निकै गौरवशाली र अनुकरणयोग्य छ । आजको नागरिक स्वतन्त्रता होस्, चाहे समृद्धिको कुरामा हो । अझ भनौ समृद्धिको आधार नै नेपाली कांग्रेस हो । त्यो कोणले हेर्दा त मेरो पार्टी त हर विचार र विमर्श अनि अग्रदिशाको जननी नै हो । अहिलेको संकटमा पनि अन्ततः नेपाली कांग्रेसले नै नेतृत्व गर्नुप¥यो यो हकिकत छ । शान्ति प्रक्रियादेखि संविधान निर्माण अनि संघीय राज्यव्यवस्थाको पहिलो निर्वाचन पनि कांग्रेसले नै ग¥यो । अहिलेको संकटको सारथी पनि कांग्रेस नै बन्यो । अब संघीयताको कार्यान्वयनको पिता पनि कांग्रेस नै बन्छ, ढुक्क हुनुस् ।