विराटनगर । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएपछि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्नका लागि दिएको समय सकिन दुई दिन मात्र बाँकी हुँदा मोरङमा नयाँ पार्टी रोज्ने जनप्रतिनिधि न्यून देखिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय मोरङमा अहिलेसम्म स्थानीय तहका पाँच जना जनप्रतिनिधिहरुले मात्र नयाँ पार्टी रोजेर सनाखत गरेका छन् । नयाँ दल रोज्दै सनाखत गराउनेमा पाँचै जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु हुन् । जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अहिलेसम्म विभाजन पछि बनेको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छैनन् । प्रदेश १ मा भदौ १७ गते बुधबारबाट प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरुमा जनप्रतिनिधिहरुलाई दल रोज्ने सुविधा दिइएको थियो ।
अहिलेसम्म बुढीगंगा गाउँपालिकाका दुई जना वडाध्यक्ष र एकजना वडा सदस्यले नेकपा समाजवादीको पक्षमा सनाखत गरेका छन् भने विराटनगर महानगरपालिकाका एक जना वडा सदस्यले सनाखत गरेको बताइएको छ । बुढीगंगा वडा नम्बर ४ का वडाध्यक्ष कासिम मियाँ र वडा नम्बर ५ का वडाध्यक्ष रमेशकुमार खनालले एमालेबाट समाजवादी रोजेका छन् ।
स्थानीय तहको निर्वाचनमा मोरङका दुई नगरपालिकामा प्रमुख र तीन गाउँपालिकामा अध्यक्ष, ९ पालिकामा उपप्रमुख तथा उपाध्यक्ष जितेको नेकपा एमालेबाट अहिलेसम्म प्रमुख र उपप्रमुखहरु कसैले पनि बिभाजन भएर बनेको दल रोजेका छैनन् ।
मोरङमा नेकपा एमालेको ५६ जना वडाध्यक्ष र २९६ जना वडा सदस्यहरु निर्वाचित छन् । अहिलेसम्म दुई वडाध्यक्ष र तीन वडा सदस्यले मात्र नयाँ पार्टी रोजेका छन् । जिल्ला समन्वय समिति बाहेक स्थानीय तहहरुमा ३३९ जना जनप्रतिनिधि भएको नेकपा एमालेबाट आइतबार अपरान्ह ५ बजेसम्म अत्यन्तै न्यून संख्याले मात्र नयाँ पार्टी रोजेका छन् ।
नेकपा एमालेभित्र आन्तरिक संघर्ष हुँदा माधवकुमार नेपालको पक्षमा लागेका मोरङका थुप्रै जनप्रतिनिधिहरु अहिले पनि पर्ख र हेरकै अवस्थामा देखिएका छन् । मोरङको बेलबारी नगरपालिका र पथरी नगरपालिकाका प्रमुखहरु पछिल्लो समयसम्म नेपाल समूहमै देखिएका थिए ।
पछिल्लो समयमा पनि उनीहरु नेकपा एमालेको भेला र बैठकमा सहभागी भएका छैनन् तर विभाजन पछि बनेको दल पनि रोजेका छैनन् । अन्तिमसम्म पनि उनीहरुले निर्णय नलिएको खण्डमा मोरङमा नेकपा (एकीकृत समाजवादी)को उपस्थिति अत्यन्त कमजोर हुने देखिएको छ ।
पार्टी विभाजन भएपनि जिल्ला र स्थानीय तहका संगठनहरु गठन र पुनर्गठनमा व्यस्त भएको एकीकृत समाजवादीका नेताहरुले जनप्रतिनिधिहरुलाई दल रोज्न लगाउने विषयमा आवश्यक ध्यान दिएका छैनन् । जसले गर्दा नयाँ पार्टी रोज्ने तयारीमा रहेका जनप्रतिनिधिहरुले पनि अन्तिम निर्णय गर्न सकेका छैनन् ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले भने ‘अहिलेसम्म कति जनप्रतिनिधिहरुले सनाखत गर्नुभयो बुझ्न पाएका छैनौं, हामीसँग रहनुहुने कमरेडहरुलाई पार्टीले समयभित्रै सनाखत गराउन भनिएको छ र त्यसमा ध्यान केन्द्रीत गर्न पाएका छैनौं ।’ नेता रेग्मीले दुई दिन समय बाँकी रहेकोले अब त्यसमा केन्द्रीत हुने बताए ।
अहिले न्यून देखिएपनि २२ गतेसम्ममा उल्लेख्य संख्यामा स्थानीय तहका जनप्रतिनिधिहरुले जनता समाजवादी रोज्ने अपेक्षा नेताहरुको छ । उनीहरुका अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु गरी एक सय बढी जनप्रतिनिधिहरुले नयाँ पार्टी रोज्ने तयारी गरिरहेका छन् ।
केही दिन अघि नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय संसदमा १९ प्रतिशत जनप्रतिनिधि विभाजनको पक्षमा उभिएको भएपनि स्थानीय तहमा ५ प्रतिशतभन्दा कमले मात्र विभाजन रोज्ने दाबी गरेका थिए । उनले प्रदेशमा भने ३० देखि ४० प्रतिशतले विभाजनको पक्ष लिने बताएका थिए । मोरङको अहिलेसम्मको अवस्था हेर्दा उनको दाबीभन्दा पनि कम जनप्रतिनिधिहरु विभाजनको पक्षमा लागेको देखिएको छ ।