सौताका रिसले पोइको नाक काटेझैं मात्र नहोस्

 लीलाबल्लभ घिमिरे

आज मैले नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष बन्नुभएका माधवकुमार नेपालका बारे गुगलमा सर्च गरे । गुगलमा पाइने धेरै सूचनामध्ये मैले धेरै विश्वास गरेको विकिपिडियाले अहिलेसम्म नेपाल एकीकृत समाजवादी पार्टीको अध्यक्ष भएको थाहा पाएको रहेनछ ।

विकिपिडियाका अनुसार माधवकुमार नेपालको जन्म जन्म वि.सं २००९ फागुन २६ गते रौतहट जिल्लाको गौरमा एक उच्च ब्राम्हण कुलमा भएको हो । उहाँका पिताको नाम मंगलकुमार उपाध्याय र आमाको नाम दुर्गादेवी उपाध्याय हो । उहाँ तीन दाजुभाइमध्ये जेठो हुनुहुन्छ । गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गर्नुभएको थियो । राजनीतिमा आउनुअघि उहाँ बैँकमा जागिरे हुनुहुन्थ्यो । नेपालले वि.सं २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । २०२८ सालमा सङ्गठन विस्तारका लागि काठमाडौं जानुभएका नेपाल सन् २०५० देखि नेकपा एमालेको महासचिव बन्नुभएको थियो । सुरुमा राष्ट्रियसभामा प्रतिपक्षी दलको नेता बन्नुभएका उहाँ त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यमा स्नातक हुनुहुन्छ । नेपाली, हिन्दी मैथिली र अङ्ग्रेजी भाषाको उहाँमा राम्रो ज्ञान छ ।

संविधान सुधार सुझाव आयोगका सदस्य, राष्ट्रिय विकास परिषद् र राष्ट्रिय जलस्रोत विकास परिषद्को पदेन सदस्य, नेकपा एमालेको विदेश मामिला विभागका प्रमुख, एमालेले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक बनिसक्नु भएका नेपाल १९९० मा संयुक्त वाम मोर्चाको सदस्य र १९९१ मा नेकपा एमालेको केन्द्रीय सङ्गठन समितिका पोलिटब्यूरो सदस्य बन्नुभएको थियो । सन् १९७८ मा नेकपा मालेका संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य हनुभएका उहाँले १९७६ मा राजनीतिक अभियोग (राजकाज अपराध ऐनअन्तर्गत) दुई वर्ष कारावास जीवनसमेत विताउनु भयो । १९७५ मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१ मा नेपाल क्रान्तिकारी सङ्गठन माले मोरङको जिल्ला सदस्य र १९७० मा वीरगञ्ज एसटीआर कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य बन्नुभएका उहाँले भारत, चीन, फिलिपिन्स, अमेरिका, बङ्गलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलङ्का, माल्दिभ्स, स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्ट्रिया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तानलगायतका मुलुकहरूको भ्रमण गर्नुभएको छ ।

माधवकुमार नेपालका बारेमा यति धेरै सविस्तार गर्नुको एउटा कारण छ । त्यो हो केपी शर्मा ओलीको वुहार्तन खप्न नसकेर नयाँ घर सरेका माधवकुमारको अबको यात्रा कस्तो हुन्छ ? के नेकपा एकीकृत समाजवादी पार्टीले गति लिनसक्ला ? यस्तै यस्तै धेरै प्रश्नहरु म र हाम्रो समाजमा छन् । नेपाल जाने नानीको खुट्टीले थाहा हुन्छ भन्ने नेपाली उखान छ । माधव नेपालका खुट्टी साचीकै नेपाल जाने खालका छन् त ? कि सौताका रिसले पोइको नाक काटे झैं भन्ने उखानको चरितार्थ मात्र गरेका हुन् ? धेरै प्रश्नहरुका विचबाट नेपालको अबको राजनीतिक यात्रा अघि बढ्नेछ । माधव नेपालले अहिलेसम्म जति गरेर जहाँसम्म पुग्नुभएको छ, जीवनको यो उत्तरार्धमा आएर फेरि एउटा अग्नी परीक्षामा आफूलाई उभ्याउनु भएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा केपी शर्मा ओली र उहाँको मान्छेहरुले जति धारे हात लगाए पनि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा लाग्नेहरुको राजनीतिक चरित्र एमालेमा रहेकाको भन्दा माथि नै देखिन्छ । माधकुमार नेपालले कुनै विदेशी शक्तिको इसारामा वा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्र यति गरेका हुन् भने इतिहासले उहाँलाई मुल्याङ्कन गर्नेछ । यदि त्यति मात्र अनिष्ट हैन र ओलीको तापलाई न्युनकरण गर्न नसकेर त्यहाँबाट बाहिरनुभएको हो भने नेकपा एकीकृत समाजवादी पार्टी यो देशको एउटा राम्रो हैसियत राख्ने दल बन्नसक्ला । आज नेकपा एमालेमा आएको विभाजनसँग ओलीले बालुवाटारबाट बालकोट मात्र पुग्नुपरेको छैन, सबै प्रदेशहरुबाट एमालेको नेतृत्व हट्दैछ ।

प्रदेश १ कै कुरा गर्ने हो भने एमालेका १० जना प्रदेशसभा सदस्यहरुले एकीकृत समाजवादी पार्टी रोजिसकेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नुभएको छ । भुतको खाजा खाने बेलामा माधवकुमार नेपाललाई धोका दिँदै मुख्यमन्त्री बन्न ओलीतिर ढल्किएका आचार्य आफै त्यो भुङ्ग्रोमा हामफाल्नु भएको हो । आर्चायको यो कच्चा खेलले उहाँलाई राजनीतिक रुपमा कति घाटा लगाउँछ त्यो भने हेर्न बाँकी छ ।

अबको नेकपा एकीकृत समाजवादी पार्टीको यात्रा कसरी अघि बढ्छ भन्ने कुराले माधवकुमार नेपालको क्षमतालाई मापन गर्नेछ । एमालेमा रहँदा ओलीले मात्र खाए र हामीले खान पाएनौं भन्ने सोचले मात्र माधवकुमारले नयाँ पार्टी बनाउनु भएको हो भने यसले समाज परिर्वतन र जनताको मुक्तिका लागि योगदान हैन नेकपा एमालेलाई आउने स्थानीय, प्रदेश र संघको निर्वाचनमा राम्रैसँग हराउने काम चाही पक्का गर्नेछ । त्यति मात्र ग¥यो भने त्यो बेला थाहा हुनेछ, माधवकुमार नेपाल पनि कसैको गोटी बनेका रहेछन् ।

आइतबार, २० भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर