रवि खनाल
नेकपा एमाले विभाजनलाई कसरी लिनु भएको छ ?
– नेकपा एमाले विभाजनभन्दा पनि चोईटिएको मात्रै हो । यस दिनलाई नेपाली कम्युनिष्ट आन्दोलनका लागि कालो दिनका रुपमा मैले लिएको छु । चरम अवसरवाद र व्यक्तिवादी चिन्तनबाट नेताहरू गुज्रनु भयो । यो हामी नेपाली जनताको लागि पनि राम्रो भएन । फुटका असरहरु भोलीका दिनमा देखिँदै जानेनै छन् । मुलतः राजनीतिक अस्थिरताको चाहना राख्ने नेपाली काँग्र्रेस, माओवादी केन्द्रलगायतका दलको चाहनामा आएको राजनीतिक दलसम्बन्धी अध्यादेशको बाईप्रोडक्टका रुपमा यो घटनालाई लिन सकिन्छ । राजनीतिक अस्थिरता निम्त्याई कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने यो परिघटनाले मुलुकलाई पनि गलत ट्र्याकमा लान सक्छ । अहिले झट्ट हेर्दा नेकपा एमालेको आयातनलाई सङ्कुचन गर्न सकियो भन्ने अवस्था होला । केपि शर्मा ओलीको तेजोबध गरि सत्ताबाट बहिर्गमन गराउन सफल भयौं भन्ने होला । तर, यो घटनाले नेपाली कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ ।
माथिल्लो तहका नेताहरुको झगडाका कारण सो पार्टीमा संलग्न तपाईजस्ता युवा पंक्तिमा कस्तो असर पर्छ ?
– नेपाली कम्युनिष्ट आन्दोलनलाई फुट र एकता गर्दै यो अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका पूरा गर्दै ठूला नेताहरु अहिलेको परिवर्तन र क्रान्तिका नायक नै बन्नु भयो । सबै शीर्ष नेतृत्वहरूले विगतमा गर्नु भएको संघर्षा निम्ति सम्मानयोग्य र आदरणीय हुनुहुन्छ । तथापि उहाँहरुले राजनीतिक परिवर्तन र क्रान्ति पछिको चरणको नेतृत्व गर्ने कौशलता देखाउन सक्नु भएन । नेतृत्व हस्तान्तरण गर्ने आँट देखाउन सक्नु भएन । आफू केन्द्रित भएर मात्रै पदको बाँडफाँड गर्न रुची राख्नु भयो । अरुको अस्तित्व स्वीकार गर्ने प्रयास गर्नु भएन । सँधै आफू मात्रै सो पदका योग्य हुँ भन्ने भावनाबाट प्रेरित हुनुभयो । यिनै कारणले गर्दा एकीकरणको दिशामा भएको नेपाली कम्युनिष्ट आन्दोलन छिन्न भिन्न हुन पुग्यो । यसले समग्र राजनीतिप्रति नै युवाहरुलाई निराशामा बदल्न मद्दत गरेको छ । तथापि युवाहरुले चुनौतिसँगै जिम्मेवारी बोध र आन्दोलनको नेतृत्व लिन उत्प्रेरित एवम् अवसर पनि प्राप्त गरेको छ ।
अहिलेका पार्टीहरूमा देश निर्माण गर्ने र समृद्ध बनाउने ठोस योजना छ ?
– नेकपा एमालेको नवौ महाधिवेशनले २०६२/६३ को जनआन्दोलन पछि बदलिएको परिवेशमा नेपाली समाजको चरित्र चित्रण गर्दै नेपाली समाजको वस्तुअवस्थाको विश्लेषण गरेको छ । र, क्रान्ति पछाडिका कार्यभारका सम्बन्धमा जनताको बहुदलीय जनवादको आलोकमा समृद्धिको खाका तय गरेको छ । डकुमेन्टका आधारमा भन्नुहुन्छ भने नेकपा एमाले नै पहिलो दल हो जसले परिवर्तित परिस्थितिमा समृद्धिको ठोस योजना पस्कने पार्टी । केपी शर्मा ओली नेतृत्वमा नेकपा एमाले सरकारमा रहँदा यसको कार्यान्वयनका सन्दर्भमा संस्थागत रुपमा नै १५ औं आवधिक योजनामा समाविष्ट गरि अघि बढाएको पाइन्छ ।
तर, अहिले एमालेको कार्यशैली सोही योजना अनुसारको छ त ?
– योजना बनाउनु कार्यान्वयन गर्नु अलग कुराहरु हुन् । सुन्दर योजना मात्र निर्माण गर्ने अनि कार्यान्वयन नगर्ने हो भने त्यो योजना योजना रहँदैन । केवल बुद्धिविलास मात्रै ठहरिन्छ । तसर्थ सुन्दर योजना निर्माण गर्नु भनेको कुशलतापूर्वक कार्यान्वनको माग पनि हो । यसका लागि आधार निर्माण गर्न पर्ने हुन्छ । समृद्धि निमेष भरमा प्राप्त हुने होइन । यसका लागि समय आवश्यक हुन्छ । नेकपा एमाले नेतृत्वको सरकारले आधारशिला तय गर्दै गरेको थियो । दलभित्र देखिएको समस्याका कारण सरकार ढल्न पुग्यो र समृद्धिको यात्रामा पनि केही ब्रेक लागेको अवस्था रहयो । रिसाएको ब्राह्मणले वेद पढ्दैन भने झैं विवाद, फुट र विभाजनका बेला चाहिँ यसमा केही समस्या उत्पन्न अवश्य भएको हो । अन्यथा नेकपा एमाले ईमान्दारिताका साथ समृद्धि हासिल गर्ने पथ मै अघि बढीरहेको थियो र छ ।
पार्टीहरुले अबलम्बन गरेको नीतिगत व्यवस्था र कार्यशैलीले नयाँ पुस्तालाई नेतृत्व विकासमा के–कस्तो अवरोध सिर्जना गरेको छ ?
– युवाहरुले प्रतिकूलतालाई अनुकूलतामा ढाल्न जरुरी छ । त्यस्ता व्यवस्थाका कारण नेतृत्व विकासमा अवरोध उत्पन्न हुन्छन् भन्ने हुँदा महाधिवेशनबाट नीतिगत व्यवस्थामा परिवर्तन गर्दा हुन्छ । तर नेतृत्व विकासलाई कर्मचारीहरुको वृद्धिविकास जस्तो गरि बुझ्न हुन्न । क्रियाशिलताले अस्तित्व र आन्दोलनले नेतृत्व विकास गर्दछ भन्ने कुरामा हामी युवाहरु विश्वास गर्दछौं । युवा पुस्ताले नेतृत्व गर्ने हुटहुटी नहुन्जेल युवाहरु नेतृत्वमा आउन सक्दैनन् । युवा उमेर र बाहुबल देखाएर मात्रै नेतृत्वको दाबी गर्ने कुरा पनि उपर्युक्त हँुदैन । अहिले राजनीतिमा युवाहरुको आकर्षण र दलहरुमा क्रियाशिलता जनसंख्याको अनुपातमा अत्यन्तै न्यून रहेको छ । जसका कारण पनि दलहरुको नेतृत्वमा युवाको उपस्थितिमा कमि देखिएको हो कि ? दलहरुका पनि युवा नीति स्पस्ट छैनन र युवाहरुमा लगानी पनि देखिँदैन । यसले युवाहरुको नेतृत्व त स्थापित हँुदैन नै तर दलहरुको भविष्य पनि अन्धकार हुने देखिन्छ ।
अबका युवाले देश निर्माण र राजनीतिक प्रणालीको सुधारमा कस्तो भूमिका खेल्नुपर्छ ?
– राजनीतिमा सक्षम र सबल युवाहरूको उपस्थिति हुनुपर्दछ । अझ भनौं हस्तक्षेपकारी उपस्थिति । जसले नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र पृष्ठपोषण गर्ने काममा दर्बिलो उपस्थिति जनाउन सकोस् । युवाका नाममा अराजनीतिक ढङ्गबाट नेतृत्व हडप्ने र राजनीतिलाई विकृत पार्ने प्रवृत्तीबाट चाहिँ हामी जोगिनु पर्ने हुन्छ । इमान्दार र निष्ठावान युवाहरू नेतृत्वमा आउने वित्तिकै राजनीतिक प्रणाली र राजनीति सही मार्गमा हुनेछ ।