विराटनगर । डा.स्वस्तिक कोइराला (३०) मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजको कोरोना अस्पतालमा डेढ वर्षदेखि सक्रिय छन् । अस्पतालमा संक्रमितको उपचार गर्दा उनले सुरुवाती २० दिन मात्र पीपीई लगाए । पीपीई लगाएर उपचारमा जाँदा विरामीहरुले डाक्टर नै असुरक्षित हुँदोरहेछ भनेर भय पाल्ने देखेपछि उनले पीपीई लगाउन छाडे । सतर्कता अपनाउने भएपनि पीपीई नलगाउने उनको निर्णय थियो । त्यसो गर्दा विरामीले कोरोना सामान्य रहेछ भन्ने ठानेको र उनीहरुको आत्मबल बढेको अनुभब कोइरालाको छ । अझैपनि ओपीडी होस् वा वार्डमा होस्, बिरामी उपचार गर्दा पीपीई लगाउँदैनन् ।
मैले नगर कस्ले गर्ने ?
विराटनगरवासी डा.स्वास्तिक भर्खर फिलिपिन्सबाट विएस एमडी पढाई सकाएर आएका थिए । अफर आएपछि उनले विराटनगरकै विराट नर्सिङ होमको आइसियु विभागमा सेवा दिनथाले । केही महिना मात्र भएको थियो, कोभिड संक्रमण सुरु भयो । त्रासदीपूर्ण अवस्था थियो । विरामी भर्ना गर्ने अस्पताल, उपचार गर्ने चिकित्सक र सेवा गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरु त्रसित थिए । संक्रमितहरु धमाधम बढिरहेको बेला उनलाई लाग्यो यो बेला ‘मैले नगरे कसले गर्ने ?’ उनले हिम्मत जुटाए र संक्रमितको उपचार गर्नथाले । घरपरिवारमा कसैले पनि उपचारमा जानु ठिक हो भनेनन् । तर, बुबाले यो बेला नगरे कहिले गर्ने ? तिमीहरुले नगरे कसले गर्ने ? भनेर हौसला दिएपछि उनले हिम्मत बढाए । तर, केही दिनमै उनी आफैं संक्रमित भए । घरमै आइसोलेसमा बस्दा समाजले उनी र घरपरिवारलाई गरेको तीतो व्यवहार उनले बिर्सेका छैनन् ।
उपचारसँगै काउन्सिलिङ
डा.स्वास्तिक विरामी जाँच्ने र औषधी लेख्ने काम मात्र गर्दैनन् । उनी विरामीलाई काउन्सिलिङ (मनोविमर्श) सेवा पनि दिन्छन् । त्यसले औषधीले भन्दा राम्रो काम गर्ने उनको अनुभब छ । सुरुमा बाँच्दिन भनेर भर्ना भएका कोभिडका बिरामीहरु नियमित उपचारसँगै कान्सिसिलङपछि घर जान हतारिन्थे । विराट मेडिकल कलेजले नीजि स्तरमा पहिलो पल्ट प्रदेश १ मा कोभिड अस्पताल सुरु गरको थियो । तर, उपचार गर्ने डाक्टरको टिम तयार गर्न धेरै गाह्रो थियो । विभागीय प्रमुख हुन डा.स्वस्तिक आफैं तयार भएपछि अरु स्वास्थ्यकर्मी पनि तयार भएका थिए ।
आफन्त भेट्ने अनुमति
कोभिड अस्पतालमा अझै कति ठाउँमा डाक्टरहरु वार्डमा जाँदैनन् । विरामी छुदैनन् । मोवाइल चलाउन दिदैनन् । कुरुवाहरुले भेट्न पाउदैनन् । तर, डा.स्वस्तिक सुरुदेखि नै बिरामीसँग नजिक भए । मोवाइल चलाउन दिए । दिनमा एकपल्ट वार्डमा गएर आफन्तलाई भेट्न दिए । जसले गर्दा विरामीलाई हौसला र आत्मविश्वास मिलेको उनको भनाइ छ ।
‘प्लाज्मा’ थेरापीबारे गलत बुझाइ
विराटनगरमा पहिलो पटक ‘प्लाज्मा’ थेरापीबाट उपचार थाल्ने डाक्टर स्वस्तिक नै हुन् । तर, हाल सरकारले प्रतिबन्ध लगाएकोले थेरापी उपचार बन्द छ । ‘प्लाज्मा’ थेरापीबारे मानिसहरुको बुझाई गलत हुँदा समस्या आएको उनको बुझाई छ । ‘प्लाज्मा’ कोरोना निको पार्ने अचुक अस्त्र नभएर एण्टिबडी उत्पादनका लागि समयको अवसर सृजना गरिदिने तत्व मात्र थियो । तर, मानिसहरुले ‘प्लाज्मा’ लिएपछि पुरै शरिर एन्डिबडी हुन्छ भन्ने भ्रम पालिदिएको समस्या भयो ।
ओपीडीमा संक्रमितको उपचार
कोरोना संक्रमितको ओपीडीमै परीक्षण र उपचारको काम पनि प्रदेश १ मा डा.स्वस्तिकले नै सुरु गरेका हुन् । अहिलेसम्म उनले २ हजार संक्रमितलाई ओपीडीमा हेरिसकेका छन् । आफूले ओपीडीमा आएर फर्किएका विरामी कसैको पनि निधन नभएको उनले बताए । अस्पतालको जनरल वार्डमा रहेका विरामी करिब सबै निको भए । आइसियुमा गएका बिरामी भने ७० प्रतिशत मात्र निको भएको उनको भनाइ छ । भेन्टिलेटरमा गएका विरामी भने भने विरलै मात्र बाँचेका छन् । डा.स्वस्तिक भन्छन्, ‘किनभने फोक्सोले काम गर्न छाडेपछि विरामीलाई बचाउन निक्कै गाह्रो हुन्छ, मैले भेन्टिलेटरमा पुगेका दुई जनालाई मात्र बचाउन सके ।’
संघर्ष गरेर अघि बढ्नुपर्छ
कोरोनाबाट डराउनु हुदैन । तर, हेलचेक्र्याई पनि गर्नुहुदैन । धेरै बिरामीहरुले सहजै पचाईहालिन्छ भनेर घरमा बस्दा समस्या हुने गरेको छ । विरामीको अवस्था ख्याल गरेर बेलैमा अस्पताल आउनुपर्ने उनी बताउँछन् । सुरक्षा सर्तकता अपनाएर र खोप लगाएर कोरोनासँग संघर्ष गर्दै जीवनलाई चलायमान बनाउन भने अब सक्नुपर्ने उनको भनाइ छ । खोप लगाएपछि संक्रमित भएपनि अस्पताल भर्ना भएका बिरामीहरु कसैको पनि मत्यु नभएको उनले बताए । नियमित हात धुने, मास्क लगाउने, सेनिटाइजर दल्ने र भौतिक दुरी कायम राख्दै भीडभाडमा नजाँदा कोरोनासँगै जोगिन सकिने उनको राय छ ।
कोरोना अहिलै नै निर्मुल भएर पूर्ण नियन्त्रण हुने अवस्था छैन । धेरै वर्षसम्म रहनसक्छ । यसैले सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई निरन्तर प्राथमिकता दिनुपर्ने उनी बताउँछन । सरकारले प्रत्येक प्रदेशहरुमा विशेष अस्पताल बनाएर दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने र सञ्चालनमा रहेका सरकारी अस्पतालको क्षमता पनि बढाउनु पर्ने उनले बताए । भन्छन्, ‘सरकारी अस्पतालहरुलाई सक्षम बनाउनुपर्छ । रिफरल सेन्टर हैन । किनभने सबैले नीजिमा उपचार गराउन सक्दैनन ।’