प्राप्तिको आशक्तिभन्दा बाहिरको सुन्दर प्रेम

 कविता कार्की

उसो त हरेकको जिन्दगी आफैमा एउटा किताब बन्नसक्छ । किनभने हरेक व्यक्तिको जिवनप्रतिको दृष्टिकोण बेग्लै हुन्छ, उतारचढाव बेग्लै, अनुभवहरु पनि बिलकुलै फरक । यद्यपि कथाकारले प्रस्तुत गरेका ती हरेक कथामा भेटिएका पात्रहरुका भोगाइ किन हामीलाई हाम्रै जस्तो लागेको होला ?

आज यही बिषयमा केन्द्रित रहन मन लागेर कलम चलाउँदैछु । बहुचर्चित साहित्यकार कृष्ण धारावासीद्वारा रचित अनि २०६२ सालको मदन पुरस्कार पाउन सफल ‘राधा’ जस्तो गरिमामय पुस्तकको चर्चा गरेर साध्य छैन । यद्यपि कृष्ण जन्मोत्सवको अवसर पारेर आज कृष्णकै अभिन्न पाटो राधाको अस्तित्वको चर्चा नगरि बस्न सकिएन । ‘राधा’ उपन्यासकी शीर्ष पात्र राधा मलाई निकै मन पर्छ । राधा एक आध्यात्मिक उपन्यास हो, जो वास्तविक स्थितिसँग सुरु हुन्छ । पाठकलाई कथाको दुनियाँमा लैजान्छ ।

‘राधा’ उपन्यासले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको छ । सधैं कृष्णको तेजस्वी प्रकाशले ओझेलमा परेकी राधाको वास्तविक अस्तित्वको दर्शन हामीले त्यस पुस्तकमा पाउन सक्छौं । राधा, जो कृष्णकी प्रिय थिइन्, इतिहासमा जसको नाम रुक्मिनीभन्दा पहिले आउने गर्छ । हो, त्यही राधाको तस्बिरलाई नियालेर हेरिरहेकी छु । उपन्यासमा श्रृंखलाबद्ध रुपमा कृष्ण र राधाको बाल्यकालदेखि नै आरम्भ हुन्छ । यद्यपि कथाको सुरुवाती भागमा केवल कृष्णकै चर्चा बढी हुन्छ । उनको जन्म अनि त्यही जन्मसँग जोडिएका उनको जीवनको रहस्यहरु पनि बिस्तारै फर्किदै जान्छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारको रुपमा कृष्णको जन्म भएको मानिन्छ । यद्यपि त्यस कथामा भने कृष्णलाई भगवान नठानेर केवल एक सामान्य मानिसको स्थानमा उभ्याउने खुब राम्रो पहल भएको छ । तर, सामान्य कृष्णको जीवनको घटनाक्रम भने ठ्याक्कै भगवान कृष्णको बारेमा सुन्दै आएकै जस्तै हुन्छ ।

राधा र कृष्ण बालसखा हुँदै अनन्त प्रेमीसम्म बन्ने यात्राको सुरुवात पनि प्रकृतिको वर्णन गरेर नथाकिने सुन्दर गाउँ वृन्दावनबाटै भएको हुन्छ । मोहनी रुपले सुशोभित, निकै प्रतिभाशाली र क्षमतावान कृष्णको मुस्कानमा हर्ष छ । बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्नसक्ने उनको कला निकै प्रभावशाली छ । कृष्ण बाल्यकालदेखि नै सबैका प्रिय थिए । बाल्यवस्था हँुदै युवा अवस्थासम्म आईपुग्दा एकाअर्काको साथ पाएर राधाकृष्णका दिनहरु निकै सुन्दर र रमणीय हुँदै बितिरहेका हुन्छन् । वसन्त ऋतुसँगै प्रेमको प्रत्येक नयाँ पालुवाको आगमनमा दुबै मस्त डुबेका बेला अचानक राधा र कृष्ण दुवैलाई आ–आफ्नै कर्तव्यको पहाडले थिच्छ । बाध्यतावस वियोगको पीडा खेप्नुपर्ने हुन्छ । यता राधाका पिताको दिनदिनै स्वास्थ अवस्था नाजुक बन्दै जान्छ, राधा नै उनको परिवारको एकमात्र सन्तान भएकाले पनि उनी आफ्नो पारिवारिक बन्धनमा पर्छिन । तर, उनले कृष्णलाई भने हरेकपल आफ्नै कणहरुमा समावेश गरेर राखेकी हुन्छिन् । अर्कोतर्फ उता कृष्णको जन्म पनि आफंैमा एउटा रहस्यको पहाड थियो । साथै मामा कंशको कठोरता र आफ्नो जीवनसँग जोडिएका वास्तविकताको ज्ञात हुनपश्चात् कृष्णलाई आफ्नो कर्तव्यबोध हुन्छ । यस घटनाले उनीमाथि ठुलो हलचल हुनथाल्छ । त्यतिबेला उनको साहारा बनेर अनवरत आँशुहरु पुछिदिने भावनात्मक सहयात्री बन्छिन, राधा ।

समयसापेक्ष दुवै आ–आफ्नै जीवनको भुमरीमा पर्छन् । अनि आ–आफ्नै कर्तव्यले बाधिन्छन् । चाहाना विपरित दुवै वियोगान्तले शोकाकुल भईरहेकै हुन्छन् । जसले गर्दा उनीहरुको बाल्यकालको प्रेम मरणोप्रान्तसम्म अझै प्रगाढ बन्दै जान्छ । तर, समय पहिलेको जस्तै भएर पुनः कहिलै फर्किदैन । फेरि, एकपछि अर्को गर्दै दुबैको जिम्मेवारीहरु बढ्ने क्रम उस्तै रहन्छ । त्यसैले उनीहरुको लामो समयसम्म भेट नै हुँदैन ।

भैतिक रुपमा टाँढा भईसकेका कृष्णलाई जिन्दगीभर राधाले सदैव आफ्नो स्मृतिमा ताजा राख्छिन् । उता कृष्ण भने पापका पर्याय बनेका मामा कंशको बध गरि आफ्ना मातापिता देवकी र वासुदेवलाई जेलमुक्त गरि अन्याय र अत्याचारबाट मानव जातिलाई बचाउन सफल हुन्छन् । राधालाई जस्तै कृष्णलाई पनि राधाको आभास हरपल उसैगरी हुने गथ्र्यो । भनिन्छ, कृष्णले राधाको यादमा द्वारिकामा राधा भवनको निर्माण पनि गरेका थिए । जुन अति नै सुन्दर र बहुमुल्य वस्तुहरुले सुसज्जित थियो । त्यहाँ कृष्णको अनुमतिबिना कोही पनि जान पाउँदैन थिए । उनले त्यो भवन विशेषगरि राधाकै लागि बनाएका थिए । र यो नै उनीहरुको सम्बन्धको सबैभन्दा उत्कृष्ट पक्ष थियो ।

एकदिन वनविहार गर्ने क्रममा कृष्ण कुनै पोखरीको किनारमा पुग्छन्, जहाँ रुक्मिनी आफ्ना सखीहरुको साथमा स्नान गरिरहेकी हुन्छिन् । त्यहीबेला कृष्णको नजर सुन्दरी रुक्मिनीको अनुहारमा गएर अडिन्छ । दुबैले एक निमेष एक अर्कालाई नियाल्छन् । कृष्णको मन्त्रमुग्ध रुपले रुक्मिनीलाई पनि मोहित बनाएरै छाड्छ । उनले रुक्मिनीमा पनि राधाकै जस्तो शान्त स्वभाव लजालु मुस्कान भेट्छ्न । रुक्मिनीभित्र पनि राधालाई नै खोज्न थाल्छन् । रुक्मिनीले पनि कृष्णलाई पाउने हरसम्भव प्रयास गर्छिन् । उनी आफ्ना भाई रुकमीविरुद्ध समेत जान्छिन् । रुक्मिनीले पनि कृष्णलाई राधाले झैं प्रेम गर्छिन् । रुक्मिनीले कृष्णलाई आफुसँगै लैजान आग्रह सहित प्रेमपत्र लेख्छिन् ।

प्रेमपत्रमा रुक्मिनीले ७ वटा श्लोक लेखेकी थिईन् । उनको प्रेमपत्रले कृष्णको मन स्पर्श गर्छ । र, रुक्मिनी श्रीकृष्णकी पहिलो श्रीमती बन्छिन् । उपन्यासभित्र राधास्थिर प्रेमको बिम्ब भएर आएकी छन् । उनले विद्रोह गरेकी छन् । तर, त्यो विद्रोह सम्बन्ध तोड्ने र विध्वंश मचाउने प्रकृतिको नभई रचनात्मक छ । उनको विद्रोहले समाज, घरपरिवार र व्यक्तिलाई निराशाबाट आशातर्फ डो¥याउँदै लैजान्छ । यस अर्थमा पनि मलाई राधा अत्यन्त प्रिय र शक्तिशाली लाग्छ ।

भनिन्छ ,कृष्णका १६ हजार १ सय पत्नीहरु थिए । तर, उनीहरुलाई स्वयंम कृष्णले श्रीमती बनाएका हैनन् । ती अप्सराहरु कृष्णको व्यक्तित्वबाट मोहित भएर आफै श्रीमान कल्पिएर श्रीमतीकै रुपमा बसेका थिए । तर, वास्तवमा कृष्णका ८ जना रानीहरू थिए । उनीहरुको नाम रुक्मिनी, सत्यभामा, जामवन्ती, सत्य, कालिन्दी, लक्ष्मण, मित्रविन्द र भद्रा थिए । ती सबैसँग विवाह गर्नुको एउटै कारण कृष्णले बताएका छन् । त्यो कारण हो, ती सबै रानीहरुको कुनै न कुनै गुण राधासँग मिल्नु । कसैको स्वभाव, कसैको हेराई, कसैको हँसाई त कसैको बोली राधा जस्तै हुनुले कृष्णलाई आकर्षण गरिरहेको हुन्थ्यो ।

यसरी कृष्णले टुक्रा–टुक्रामा राधालाई खोज्ने कोशिस गरिरहे । तर, उनको खोजी समाप्त भएन । उनले पूर्ण राधालाई कतै कसैमा पनि भेटन सकेनन् । कृष्णको साथमा कहिलयै पनि उनकी पत्नीको तस्बिर वा मुर्ति भेटिदैन । हरेक स्थानमा कृष्णको साथमा राधा नै देख्न सकिन्छ । यसकारण उनका ती ८ पत्नीहरु भन्दा राधाको प्रेम धेरै थियो । यो कुरा कृष्णले आफै रुक्मिनीलाई बताएका थिए ।

राधाकृष्णको प्रेमबारे सबैभन्दा धेरै चर्चा हुन्छ । राधाकृष्णको प्रेमलाई जिवात्मा र परमात्माको मिलन भनिन्छ । कृष्ण र राधा एक अर्कासँग आत्मिय रुपमा जोडिएका थिए । त्यसकारण सधैं उनीहरुलाई राधा–कृष्ण भनिन्छ । रुक्मिनी–कृष्ण होइन । यद्यपि राधाले आफु धर्ती झैं बनेर सहनशीलताको चरम प्रतिनिधित्व गरेकी छन् । उनीले कृष्णप्रति कुनै प्राप्तिको आशा नराखी प्रेम, प्राप्तिमा नभई अनुभुतिमा मिल्छ भन्ने सन्देश दिएकी छन् । साथै प्रेम र विवाह दुई भिन्नभिन्न कुरा हो भनेर पुष्टि समेत गर्ने प्रयास गरेकी छन् । प्रेम एक निःस्वार्थ भावना हो जबकी विवाह एउटा सम्झौता र अनुबन्ध हो, जहाँ प्रेम हुन पनि सक्छ नहुन पनि सक्छ ।

राधाले कथामार्फत् एक असल प्रेमिका मात्रै नभएर उनले पुरै मानव जातिलाई नै निःस्वार्थ र आन्तरिक प्रेम सिकाईरहेकी हुन्छिन् । राधाकृष्णको सम्बन्ध कहिले पनि भौतिक रुपमा रहेन । यो निकै आध्यात्मिक प्रकृतिको हो । पौराणिक कथामा प्रचलित अन्य कथाको तुलना, राधाकृष्णसँग गर्न सकिन्न । यसरी राधाको कृष्णप्रतिको प्रेमले, ‘प्राप्तिको आशक्ति भन्दा बाहिरको प्रेम नै निकै सुन्दर र निःस्वार्थ हुन्छ’ भन्ने स्पष्ट सन्देश दिएको देखिन्छ ।

सोमबार, १४ भदौ, २०७८

प्रतिक्रिया

  1. बिषयबस्तु एक्दमै वर्णनयोग्य छ यसका साथै प्रस्तुतिकरण, शब्दवलीको छनोट लेखन सैली अनी पवित्र मायाको धार्मिक दृष्‍टिकोण बाट प्रस्तुत गर्दा पढ्नुको मजा बेग्लै छ |

प्रतिक्रिया:

सम्बन्धित खवर