विराटनगर । सामान्य समय हुँदो त भीम आचार्य बिहीबार बिहान विराटनगर विमानस्थल उत्रने बित्तिकै सुनसरीको इनरुवातिर दौडिन्थे । सुतेकै ठाउँमा मृत फेला परेका कान्छो भाइको वियोगले विक्षिप्त बनेका परिवारजनलाई अभिभावकीय उपस्थिति दर्शाएर सान्त्वना दिने थिए ।
कठोरताका जुनसुकै हद पनि पार गर्नुपर्ने कर्म न हो राजनीति, जसले न दुःख पर्दा डाँको छाडेर रुन दिन्छ न सफलतामा खुलेर रमाउने अनुमति नै दिन्छ ।
एकातिर चार वर्षअघिदेखि प्रदेशको मुख्यमन्त्री बन्न गरिरहेको प्रयासले सफलता पाउने क्षण नजिकै आउँदै थियो, अर्कातिर घरबाट कान्छो भाइले संसार त्यागेको खबर पनि आएको थियो ।
मुख्यमन्त्री आचार्यकी पत्नी मिरा खनालका अनुसार सुरुमा भाइ रामको मृत्युको खबर पत्याउनै सकस भयो । तर, फोनमा खबर सुनिरहँदा घरमा रुवाबासी थियो । पत्याउन करै लाग्यो । आचार्यलाई कुरेर बसिरहेका एमाले सांसदहरुको भीडभाड भएकै ठाउँमा यो कुरा सार्वजनिक भएपछि सबैले मिरालाई घर जान सुझाए । आचार्य सपथ र पदभार सकेर मात्रै घर जाने सल्लाह भयो ।
‘हामी विराटनगर विमानस्थलमा ओर्लेर होटलमा पुगेका मात्रै थियौं यस्तो खबर आयो,’ मिराले भनिन् ‘राजनीतिक मान्छेका लागि कार्यकारी जिम्मेवारी प्राप्ति खुसीको क्षण हुन्थ्यो । तर, परिवारले त्यो खुसी मनाउन पाएनौं । उहाँ पनि खुसी हुन सक्ने कुरै भएन ।’
मुख्यमन्त्री बन्दै गरेको खुसी खोसिदिने भाइको मृत्युको खबरले आचार्य स्वयम्लाई पनि नराम्ररी बिथोलेको प्रष्टै हुन्थ्यो । संसदीय दलको नेता चुनिँदा होस् वा मुख्यमन्त्रीको सपथ लिँदा आचार्यको अनुहारमा भ्रातृ वियोगको दुखाइ थियो । न हाँस्न सकेका थिए न रुन ।
आचार्य पत्नी मिराका अनुसार उनका देवर राम भीमका भाइ मात्रै थिएनन्, लामो राजनीतिक यात्राका अटुट सहयात्रीसमेत थिए । २०४६ को जनान्दोलनपछि पार्टीको भीम आचार्य सुनसरी जिल्ला कमिटी सचिव बनेका थिए भाइ राम इनरुवा नगरका सचिव बनेका थिए । ‘उहाँहरुबीच दाजुभाइका रुपमा मात्रै होइन राजनीतिक सहयात्रीका रुपमा पनि एकदमै राम्रो सहकार्य थियो,’, आचार्यका छिमेकी राजेश दाहालले भने ‘जम्मा पाँच दाजुभाइमध्ये भीम र राम लामो समय एकै ठाउँ बसेको पनि हो ।’
सुनसरी इनरुवामा प्रशस्त जग्गाजमिन र सम्पत्ति भएको आचार्य परिवारमा पाँच दाजुभाई मध्ये दुई जनाको यसअघि नै निधन भइसकेको छ । कान्छा रामको पनि मृत्यु भएपछि अब साहिँला भीम र माहिला गोविन्द छन् । अर्का छिमेकी राजेन्द्र पोखरेलका अनुसार आचार्य परिवारका पाँचै जना दाजुभाइबीच हार्दिक सम्बन्ध थियो । ‘राजनीतिमै भएका कारण भीम र रामको अझ बढी ट्युन मिल्थ्यो,’ उनले भने ‘राजनीतिमा भीमले एउटा ठूलो उपलब्धि हासिल गरेकै दिन राम भने सदाका लागि बिते । यसले भीमलाई विक्षिप्त पारेको छ । तर, राजनीतिक दायित्वका कारण उनले समयमै घर आउन पनि पाएनन् ।’
मुख्यमन्त्रीको पदभार ग्रहण गरेर, काठमाडौबाट आएका रामका छोराछोरीलाई साथ लिएर मात्रै मुख्यमन्त्री आचार्य घरतिर लागेका थिए ।
आचार्य पत्नी मिराका अनुसार दाइसँग लामो राजनीतिक सहयात्रासमेत गरेका राम पछिल्लो समय मानसिक समस्यासँग जुधिरहेका थिए । भीमको परिवार मधेशामा बस्ने र रामको परिवार महेन्द्र चोकमा बस्ने भएकाले भेटघाट केही पातलो थियो । तर, फोनमा, परेका बेला एकैसाथ जुट्ने गर्थे । ‘दाजुको राजनीतिक सफलता उहाँको चाहना थियो एउटा सफलता हात लागेको दिन उहाँ नै रहनुभएन’ मिराले भनिन् ।
‘हामीले ४७ सालमा बिहे गरेका हौं, तीन वर्षपछि मात्रै बाबु (राम) बिहे गरेर अलग हुनुभएको थियो,’ मिराले थपिन् ‘पारिवारिक बसाई अलग भए पनि हाम्रो सम्बन्ध नङ र मासुको जस्तो थियो ।’