आचार्य मुख्यमन्त्री नियुक्त हुँदा कसैले ‘क्रान्ति हापे’, कसैले सुइँकै पाएनन्

विराटनगर । नेकपा एमालेका सचिव भीम आचार्य मुख्यमन्त्री नियुक्त भएको दिन प्रदेश १ मा केही रोचक घटनाक्रम भए । पार्टीको संसदीय दलको बैठकदेखि मुख्यमन्त्री नियुक्तिसम्मको तीब्र घटनाक्रम यति हतारमा भायो कि संसदीय दलको बैठकमा मन्त्रीहरु र प्रमुख सचेतक नै सहभागी हुन भ्याएनन् ।

बुधबार अपरान्ह काठमाडौंमा एमाले अध्यक्ष केपी ओलीसँगको बैठकपछि प्रदेश १ को संसदीय दलको बैठक बिहीबार बिहानका लागि बोलाइएको थियो । यसअघि बाग्मती प्रदेशकै शैलीमा मुख्यमन्त्री बन्ने प्रस्ताव गर्दा अस्वीकार गरेका आचार्यले मुख्यमन्त्री बन्ने भन्दै ओलीसँग आग्रह गरेपछि त्यसलाई औपचारिकता दिन बैठक बोलाइएको थियो ।

दलको बैठक आह्वान गरिएपनि मुख्यमन्त्री शेरधन राई र आचार्य नै काठमाडौंमा थिए । उनीहरू पनि बिहीबार बिहानमात्रै विराटनगर आइपुगेका थिए ।
बैठकमा सहभागी हुन सोलुखुम्बुमा रहेका दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी रातारात तराई झरेका थिए । यस्तै इलाममा रहेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम राना मगर पनि फर्किए । तर, उनीहरु बैठकमा सहभागी हुन पाएनन् ।

मन्त्री राना उर्लाबारीमा आइपुगेको बेला निवर्तमान भइसकेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राजकुमार ओझाले फोन गरे । ‘मन्त्रीज्यू कहाँ हुनुहुन्छ ?’ राम रानाले बैठकमा सहभागी हुन आफू उर्लाबारी आइपुगेको बताए । ‘के को बैठक यहाँ नयाँ मुख्यमन्त्रीको सपथ भइसक्यो । अब गाडीको झण्डा छोपेर आउनुस्’ ओझाले सुझाव दिए । नभन्दै मन्त्री राना झण्डा छोपेरै विराटनगर आइपुगेका थिए ।

होटल एशियाटिकमा करिब ५ मिनेटमै सकिएको एमाले संसदीय दलको बैठक औपचारिकताको लागि मात्र थियो । बैठकमा यसअघि आफैंसँग दलको नेतामा पराजित भएका आचार्यलाई मुख्यमन्त्री राईले दलको नेता बनाउने प्रस्ताव गरे र पारित भयो । बैठकका निर्णयहरु काठमाडौंमै तयार भइसकेका थिए । त्यसैले ५१ सदस्यीय प्रदेशसभाका सदस्य रहेको एमाले संसदीय दलको बैठक २४ जनाकै उपस्थितिमा सकियो । थप केही सांसदले प्रदेश प्रमुखकै कार्यालयमा पुगेर माईन्युटमा हस्ताक्षर गरेका थिए ।

एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई १० बजे सञ्चारकर्मीले बैठकबारे जानकारी लिन फोन गर्दा उनी इटहरीमा थिए । बैठकको समय र स्थानबारे बुझ्दा उनले आपूm इटहरीमा रहेको भन्दै एक घण्टामा आइपुग्ने र त्यसपछि बैठक सुरु हुने बताए । ‘प्रदेशसभामै बस्ने भनिएको बैठक एसियाटिक होटलमा सरेको बारे प्रश्न गर्दा उनले भने ‘म यहाँ इटहरीमा छु, म नभई कसरी सकिन्छ बैठक ? म आएपछि सुरु हुन्छ ।’ तर, उनी विराटनगर आईपुग्दा दलको बैठक मात्र नभएर मुख्यमन्त्रीको सपथ पनि सकिएको थियो ।

प्रदेशसभामा रहेको दलको बैठक कक्षमै बस्ने भनिएको होटल पनि हतायरमा होटल एशियाटिकमा सारिएको थियो । बैठक होटलमा बस्नलागेको बुझेपछि पुगेका सञ्चारकर्मीहरुसामु पुगे, प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी । यसअघि माधबकुमार नेपालको समूहमा रहेका उनले भने ‘क्रान्ति हापियो है, क्रान्ति भनेको गफ मात्र रहेछ ।’ उनको संकेत गुट परिवर्तन गरेर एमालेमै बस्ने जानकारी थियो ।

अधिकारीले त्यहाँ थपे ‘सबैको काम देखिसकियो । सबैको उस्तै रै छ । आफूले पनि अब क्रान्ति हापियो ।’ सञ्चारकर्मीले उनलाई झण्डावाल गाडीमा देख्न पाईयोस् भन्ने शुभकामना दिए । यसअघि नेपाल समूहमा रहेका १८ सांसदमध्ये ८ सांसद बैठकमा सहभागी भए ।

बैठकमा मुख्यमन्त्री राई र उनीनिकट सांसदको भन्दा हतारो माधकुमार नेपाल समूह छाडेर ओली नेतृत्वको एमालेमा रहने निर्णय गरेका सांसदहरू जीवन घिमिरे, लिलाबल्लभ अधिकारी र लक्षुमन तिवारीमा देखिन्थ्यो । उनीहरु दलको बैठकको निर्णयको माईन्युट र प्रदेश प्रमुखकोमा बुझाउने पत्र तयार गर्न दौडधुप गरिरहेका थिए ।

नेपाल समूहका घिमिरे तिनै व्यक्ति हुन्, जसले यसअघि एमाले संसदीय दलको नेताको निर्वाचनमा समूहका उम्मेदवार आचार्यलाई छाडेर शेरधन राईलाई मतदान गरि मन्त्रि बनेका थिए । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भने उनले मन्त्रीबाट राजिनमा दिएर माधबकुमार नेपाल नेतृत्वमा आन्दोलनमा होमिएका थिए । अहिले उनी फेरि आचार्यलाई मुख्यमन्त्री बनाउन ओली नेतृत्वको एमालेमै फर्किए ।

मुख्यमन्त्री, एमाले दलको बैठक र नयाँ मुख्यमन्त्रीको मात्र नभएर प्रदेश प्रमुखको कार्यालयका हतारो पनि उस्तै थियो । यसअघि मन्त्रीहरुको सपथ हुँदा पनि टेन्ट हालेर भब्य कार्यक्रम गर्ने प्रदेश प्रमुखको कार्यालयले साँघुरो कोठामा मुख्यमन्त्रीको सपथ राखेको थियो । सपथको लागि कार्यालयमा रहेको पुरानै ब्यानरले साथ दिएको देखिन्थ्यो ।

नेकपा एमाले औपचारिक रुपमा विभाजन भइसकेको । राजनीतिक दल सम्बन्धि अध्यादेश अनुसार २१ दिनभित्र प्रदेशसभमा सदस्यहरुले नयाँ दल रोज्न पाउने व्यवस्था छ । त्यसलाई रोक्न विगतमा माधबकुमार नेपालसँग निकट रहेका आचार्यलाई हतारमा मुख्यमन्त्री बनाइएको हो ।

संघीय सरकारले प्रदेश प्रमुख परिवर्तन गर्न लागेको सूचना पाएपछि पनि सत्तारुढ दलले मुख्यमन्त्री परिवर्तन गर्ने हतारो गरेको थियो । नयाँ प्रदेश प्रमुख आएपछि मुख्यमन्त्री परिवर्तन गर्न समस्या हुने उनीहरको बुझाई थियो ।

बिहिबार, १० भदौ, २०७८, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर