विराटनगरका फार्मेसी नै विचौलियाको धन्दामा, प्रतिबिरामी २० हजारसम्म कमिसन

२० हजारको बिल भयो भने विचौलियालाई ३ देखि ५ हजार तथा आइसियू र भन्टिलेरमा विरामी भर्ना भए २० हजार रुपैयाँ कमिसन

विराटनगर । ‘हस्पिटल जानुहुन्छ । यो क्लिनिक र यो अस्पतालमा राम्रो उपचार हुन्छ । राम्रो चिकित्सक छन् । यहाँ जानुभयो भने धेरै राम्रो उपचार हुन्छ,’ शनिमन्दिर चोक, रंगेली जाने बसपार्क हाटखोला, कन्चनबारी चोकमा बसेका अस्पतालका विचौलियाले सर्वसाधरणलाई आग्रह गर्ने भनाइ हो यो । विचौलियाहरु तराईका गाउँ तथा पहाडबाट उपचारका लागि झरेका सर्वसाधरणलाई भुलभुलैयामा पारेर आफूलाई कमिसन दिने अस्पतालमा लैजाने गरी काममा खटाइएका अघोषित फार्मेसीका कर्मचारी पनि हुन् ।

सबैभन्दा बढी विचौलिया विराटनगरको हस्पिटल चोक, गोल्डेन अस्पताल अगाडि, नोबेल अगाडि र न्यूरो चोकमा बस्ने गरेका छन् । हस्पिटल चोकमा च्याउसरी खुलेको निजी क्लिनिकहरुले ३ देखि ५ जनासम्म दैनिक विचौलिया खटाउने गरेका छन् । विचौलियाहरु शनिमन्दिर चोक, रंगेलीको जाने बसपार्क हाटखोला, कन्चनबारीमा समेत बस्ने गर्दछन् । तराईको विभिन्न क्षेत्र र पहाडि जिल्लाबाट आएका गरिव तथा सोझा बिरामी र आफन्तलाई शनिमन्दिरमा सार्वजनिक यातायातबाट उत्रिएपछि विचौलियाले खोजिरहन्छन् । तर, उनीहरुको उद्देश्य बिरामीको राम्रो उपचार होस् भनेर भन्दा पनि बढी कमिसन कसले दिन्छ र उनीहरुलाई बढी कसरी लुट्ने भन्ने नै हुने गरेको छ ।

प्रदेश १ को राजधानी विराटनगरभित्र रहेका ठूला अस्पताल बाहिरका केही फार्मेसी संचालकहरूले कमिसन दिएरै विचौलिया राख्ने गरेको पाइएको छ । विराटनगरको हस्पिटल चोकमा रहेको केही क्लिनिकहरुले धेरै विचौलिया राखेको स्रोतको दाबी छ ।

विचौलिया राखेका फार्मेसीले विरामीलाई भ्रमित पारेर आफू अनुकुलको निजी अस्पताल, क्लिनिक र आफ्नै औषधी पसलमा ल्याउन उनीहरुलाई जिम्मा दिन्छन् ।

१ नंं. प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरी कार्यालयले एक सातामा विराटनगरभित्र रहेका ठूला अस्पताल बाहिर स्ट्रिङ अप्रेसन गरेर १२ जना स्वास्थ्य क्षेत्रका विचौलियालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार राती नोबेल मेडिकल कलेज बाहिर ७ जना, कोशी अस्पताल अगाडिदेखि तीन जना र केही दिनअगाडि गत बिहीबार न्यूरो अस्पताल अगाडिदेखि २ जना गरि १२ जना विचौलियालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरु सबै फार्मेसीका कामदारहरु हुन् ।

एक जना बिरामी बराबर १ हजारदेखि २० हजारसम्म कमिसन !

पक्राउ परेका विचौलियाले विभिन्न अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल र क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न पनि बाध्य गराउने गरेको प्रारम्भीक चरणको अनुसन्धानबाट खुलेको छ ।

‘विराटनगरको विभिन्न अस्पताल अगाडि बसेका विचौलियाले बिरामी र सर्वसाधारण नागरिकलाई दुःख दिएर हैरानी दिने गरेको उजुरी आएपछि हामीले पक्राउ गरेका हौ,’ मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने । पछिल्लो समय सरकारी अस्पताल कोशी र मेडिकल कलेजमा विरामी धेरै आउने भएकोले विचौलियाहरु अस्पतालको गेट अगाडि बस्ने गर्दछन् ।

गेटअगाडि र भित्र पसेर विचौलियाले विभिन्न अफवाह फैलाएर बिरामीलाई कमिसन आउने निजी अस्पताल र क्लिनिकमा लैजाने गरेका छन् । विचौलियाले सम्र्पकमा आएका बिरामी उनले सम्पर्क गरेको अस्पताल र क्लिनिकमा पु¥याउँदा निश्चित रकम तोकिदिएको हुन्छ । स्रोतले दिएको जानकारी अनुसार एक जना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक र अस्पताल पु¥याउँदा विचौलियाले हजार रुपैयाँसम्म दिने गर्दछन् । जति बढी बिरामीले औषधी, ल्याबमा परीक्षण गरे । त्यहीअनुसार बिरामीबाट असुल भएको रकम हेरेर पनि विचौलियालाई पैसा दिने गरेको स्वास्थ्य क्षेत्रमै काम गरिरहेका एक जनाले नाम नबताउने सर्तमा बताए ।

‘विचौलियाले हस्पिटल चोक र रंगेली लाइनमा रहेका निजी क्लिनिकहरुसँग कतिसम्म सम्झौता गरेका हुन्छन् भने एक जना बिरामीबाट २० हजारभन्दा बढीको बिल भयो भने निश्चित रकम लिनुपर्ने शर्त राखेका हुन्छन्,’ उनले भने, ‘बिरामीको २० हजारको बिल भयो भने विचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनुपर्दछ ।’

यस्तै विचौलियाले सम्र्पकमा गरेको निजी अस्पतालको भेन्टिलेर र आइसियमा विरामी भर्ना भएपनि अस्पतालले निश्चित रकम छुट्याइदिने गरेको छ । विरामी आइसियू र भन्टिलेरमा भर्ना भए विचौलियालाई २० हजार रुपैयाँसम्म दिने गरेको स्वास्थ्य क्षेत्रका एक जानकारले बताए ।

‘विचौलियाले ल्याएको एक जना विरामी निजी हस्पिटलको आइसियूमा र भेन्टिलेटरमा भर्ना भए । त्यो विरामीको लाखभन्दा बढी रकम अस्पताललाई बुझाउनुपर्ने हुन्छ । त्यही भएर पनि अस्पतालले विचौलियालाई खुसी पार्न निश्चित रकम छुटयाइदिएको हुन्छ,’ अस्पताल स्रोतले भन्यो ।

यता नोवेल अगाडिका फार्मेसीहरूले औषधी पसलमा काम गर्नेहरूलाई के आरोपमा पक्राउ परेको प्रहरीले जानकारी नदिएको भन्दै विरोध जनाएका छन् । उनीहरू नोवेल बाहिर फार्मेसी र मोरङ प्रहरी कार्यालय बाहिर भेला भएर फार्मेसीमा काम गर्नेहरूलाई के कारणले पक्राउ गरेको प्रष्ट पार्न माग राखेका छन् । नोबल अगाडिको आरके क्यापिटल फार्मेसीका संचालक शम्भु मेहताले के कारणले पक्राउ गरेको अहिलेसम्म हामीलाई प्रहरीले कुनै जानकारी नदिएको बताए ।

प्रहरीले भने अस्पताल आएका बिरामी, आफन्त र सर्वसाधरण विचौलियादेखि हैरानीमा परेको भए जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधरणलाई आग्रह गरेको छ ।

बुधबार, ०९ भदौ, २०७८, साँझको ०७:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर