सुन्दरहरैंचा नगरपालिकामा शासकीय बेथिति

ठेकेदारसँग मिलेमतो गरी खोला ठेक्का, अढाई करोड नोक्सानी, १० वटा बोका गायव

महिला समाजलाई बाख्रापालनमा सहयोग गर्न ६० वटा बाख्रा वितरण गर्नुपर्नेमा १० वटा बोका नगरपालिकाले गायव बनाएको महालेखाको ठहर

विराटनगर । सुन्दरहरैंचा नगरपालिकाले दुई ठेकेदार कम्पनीसँग मिलेमतो गरेर कम दरमा बोलकबोल गर्नेलाई खोला ठेक्का दिएर अनियमितता गरेको पाइएको छ ।

सुन्दरहरैंचा अन्तरगत भएका खदम खोला, गछिया खोला र बुढीखोलाबाट ढुंगा गिटी, ग्राभेल माटो आदि उत्खनन् गर्न आव्हान गरेको बोलपत्रमा मिलेमतो देखिएको हो । दुई ठेकेदार कम्पनीले मिलेमतो गरेर थोरै कबोल गर्ने कम्पनीले ठेक्का लिने गरी बनाएको वातावरणलाई नगरपालिकाले पनि स्वीकार गर्दा नगरपालिकालाई २ करोड ५७ लाख भन्दा बढी नोक्सानी भएको थियो ।

खोला ठेक्काम भएको अनियमितताको विषयमा महालेखा परीक्षण प्रतिवेदनले नै नियम विपरीत कम बोलकबोल गर्नेलाई ठेक्का दिइएको र बढी बोलकबोल गर्नेले ठेक्का स्वीकार नगरेपछि नगरपालिकाले त्यस कम्पनीलाई कालो सूचिमा नराखेको भन्दै मिलेमतो भएको जनाएको हो ।

प्रतिवेदन अनुसार ई बिडिङ समेतबाट बोलपत्र आव्हान गर्दा ११ कम्पनीले आवेदन दर्ता गरेको स्वामिनारायण निर्माण सेवाले ८ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँमा ठेक्का प्रस्ताव गरेको थियो । सबैभन्दा बढी कबोल गर्ने स्वामिनारायणलाई नै नगरपालिकाले ठेक्का दिने निर्णय गरेको भएपनि उसले सम्झौता गर्न अस्वीकार ग¥यो । त्यसपछि नगरपालिकाले दोस्रो ठूलो अंकमा प्रस्ताव गर्ने बिसार वेल्ही रियलस्टेट प्रा.ली.सँग ६ करोड ३१ लाख ५० हजार रुपैयाँमा ठेक्का लगाउने सम्झौता भयो । सबैभन्दा धेरै कबोल गर्ने स्वामिनारयणलाई नगरपालिकाले धरौटी रकमको ५ प्रतिशत जफत गर्ने काम मात्र गरेको थियो । महालेखाले बोलपत्र प्रस्ताव गरेपछि खरिद सम्झौता गर्न नआए ३ वर्षसम्म उक्त कम्पनीलाई कालोसूचीमा राख्न सक्ने व्यवस्था भएपनि नगरपालिकाले कुनै कारवाही नगरेको जनाएको छ ।

त्यतिमात्र होइन त्यस ठेक्कामा वातावरणीय प्रतिवेदनले उल्लेख गरेको परिमाणभन्दा बढी नदीजन्य सामग्री निकालेको आशंका पनि महालेखाले गरेको छ । उसले तोकिएको परिमाण अनुसार नै निकाल्यो वा बढी निकाल्यो भन्ने कुनै अभिलेख नपाएको जनाएको छ ।

महालेखा परीक्षकको २०७७ सालको प्रतिवेदनले सुन्दरहरैंचा नगरपालिकामा ५ करोड ४८ लाख ९३ हजार रुपैयाँ बेरुजु भएको उल्लेख गरेको छ । अघिल्लो वर्षको एक करोडभन्दा बढी बेरुजु अझै फस्र्यौट नभएको बताइएको छ । गत वर्षको २७ लाख ६ हजार बेरुजु भने असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

पूर्ण साक्षर पालिकामा पौढ शिक्षा

पूर्ण साक्षर घोषणा भइसकेको सुन्दरहरैंचा नगरपालिकाले पौढ शिक्षाको नाममा बजेट दुरुपयोग गरेको भेटिएको छ । वैकल्पिक शिक्षाका नाममा सुन्दरहरैंचा नगरपालिकामा आर्थिक अनियमितता भएको पाइएको हो । महालेखा परीक्षकको प्रतिवेदनले त्यस्तो अनियमितता भएको भन्दै यसरी खर्च भएको रकम असुल गर्न निर्देशन दिएको छ ।

नगरपालिकाले अनौपचारिक प्रौढ विद्यालयका लागि वैकल्पिक कक्षा सञ्चालन गर्न स्थानीय तहलाई ५ लाख ५४ हजार रुपैयाँ श्री मावि सुन्दरहरैंचालाई निकासा दिएको थियो । पहिले नै पूर्ण साक्षर घोषणा भइसकेको नगरपालिकाले प्रौढ कक्षा सञ्चालन गर्न भनि दिइएको रकमको औचित्यपूर्ण नदेखिएको भन्दै महालेखाले सो रकमसमेत अनुसल गर्न नगरपालिकालाई भनेको छ ।

महालेखाले तत्काल प्रौढ विद्यालयको अनुगमन गरी विद्यार्थी अध्ययनरत भए नभएकोसमेत एकिन गर्नसमेत भनेको छ । उसले प्रौढ विद्यार्थीको हाजिरीसमेत फेला नपरेको जनाएको छ ।

लगबुक बिनै ३५ लाखको इन्धन, १० बोका पनि गायब

सुन्दरहरैंचा नगरपालिकाले डोजर चलाउँदा ३५ लाख रुपैयाँभन्दा बढीको इन्धन खर्च गरेको छ । कुन प्रयोजनमा डोचर चलाउँदा सो इन्धन खर्च भएको हो भन्ने विषय नखुलेको महालेखाले जनाएको छ । डोजरको लगबुक नराखिएको र डोजर सञ्चालनबाट नगरपालिकाले कुनै आम्दानीसमेत नगरेको जनाउँदै महालेखाले स्पष्ट अभिलेख राख्न सचेत गराएको छ ।

यसैगरी नगरपालिकाले स्थानीय एक महिला समाजलाई बाख्रापालनमा सहयोग गर्न बाख्रा बितरण गर्दा १० वटा बोका गायब भएको पाइएको छ । स्थानीय एकता महिला समाजलाई बाख्रा पालन तालिम दिएपछि उनीहरुलाई नगरपालिकाले बोका उपहार दिने कार्यक्रम थियो त्यसका लागि नगरपालिकाले ६० वटा बोका किनेको थियो । तर, महिलाहरुलाई भने ५० वटा बोका मात्र वितरण गरेको भन्दै महालेखाले १० वटा बोका कसलाई वितरण गरिएको हो भन्ने विषयमा कुनै भर्पाइ फेला नपरेकोले ४९ हजार ९८० असुल गर्नुपर्ने जनाएको छ ।

प्रमुखले नै लिए नियमविपरीत भत्ता

सुन्दरहरंैचा नगरपालिकाले नियमविपरीत बैठक भत्ता लिने गरेको भन्दै बढी भएको बैठक भत्ता बापतको रकम एकमुष्ठ फिर्ता गर्न पनि महालेखाले निर्देशन दिएको छ । महालेखाले नगरसभा सञ्चालन गर्दा नियमविपरीत यातायात खर्च भुक्तानी गरेको पाइएको भन्दै नगरप्रमुख, उपप्रमुख र अन्य पदाधिकारीले बुझेको १ लाख २८ हजार रुपैयाँ भन्दा बढी रकम अनियमितता भएकोले असुल गर्न भनेको छ । त्यस्तै नियममा नगरपालिका प्रमुखले १५००, उपप्रमुखले १२०० र सदस्यले १००० का दरले भत्ता लिन पाउने व्यवस्थाविपरीत नगरसभामा भाग लिँदा भत्ता लिएको पाइएको थियो ।

त्यस्तै न्यायिक समितिले नियम विपरित ३८ वटा बैठकको भत्ता लिएको पनि महालेखाले औंल्याएको छ । न्यायिक समितिका संयोजक धनमाया तामाङ, सदस्यहरु चैतन्य सिटौला, भक्तकिरण राई, युवराज ढुंगानासमेतबाट बढी लिएको १ लाख ३१ हजार ३२५ रुपैयाँ असुल गराउन महालेखाले निर्देशन गरेको छ । न्यायिक समितिले नियम अनुसार बढीमा २४ वटा बैठकको मात्र भत्ता लिन पाउने व्यवस्था छ ।

औद्योगिक मेला लगाउन नगद अनुदान

सुन्दरहरैंचा नगरपालिकाले निजी क्षेत्रले लगाउने औद्योगिक मेलाका लागि नगद अनुदान दिएको र त्यस्तो कार्य गलत भएको भन्दै महालेखाले सचेत गराएको छ । निजी क्षेत्रको प्रवद्र्धनका लागि सुन्दरदुलारी उद्योग वाणिज्य संघले औद्योगिक मेला लगाउँदा नगरपालिकाले १० लाख नगद अनुदान उपलब्ध गराएको थियो । नगरपालिकाले विनियोजत बजेट र कार्यक्रम बेगर रकम उपलब्ध गराउनु अनुचित भएको महालेखाले जनाएको छ ।

यस्तै नगरपालिकाले विशेष अनुदानमार्फत आएको २ करोड ४४ लाख ६७ हजार रुपैयाँ कामै नगरी फिर्ता गरेको छ । संघबाट प्राप्त भएको ४ करोड ५७ लाख ४४ हजारमध्ये २ करोड १२ लाख ७६ हजारमात्र खर्च कालीखोला मुहान संरक्षण, हसिना सिमसार पार्क निर्माण र मिलिजुली परिवार बाटो, गौशाला सडक कालोपत्रेमा खर्च गरी बाँकी रकम संघीय संचित कोषमै फिर्ता गरेको थियो ।

उपभोक्ताबाट कालोपत्र सडक, उपभोक्ताबाटै खरिद

सुन्दरहरैंचा नगरपालिकाले झण्डै एक दर्जन बाटो कालोपत्रे गराउने काम उपभोक्ता समिति मार्फत गरेको पाइएको छ । उपभोक्ताले गर्ने काममा मेसिन, औजार तथा ठूला उपकरण प्रयोग गर्न नपाउने सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत सुन्दरहरैंचा नगरपालिकाले २ करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको कालोपत्रे गर्ने काम उपभोक्ता मार्फत गराएको थियो ।

महालेखाले त्यस विषयमा पनि नगरपालिकाको ध्यानाकर्षण गराएको छ । प्राविधिकरुपमा जटिल मानिने यस्ता काम उपभोक्ताबाट गराउँदा गुणस्तर र दिगोपनाको समस्या हुने भन्दै त्यस्तो गर्न नहुने सुझाव दिएको छ ।

त्यतिमात्र होइन निर्माण कार्य र सेवामा उपभोक्ता समितिबाट नगरपालिकाले खरिद गर्न पाउनेमा उपभोक्ता समिति मार्फत निर्माण सामग्रीनै खरिद गर्ने गरेकोसमेत पाइएको छ । महालेखाले उपभोक्तामार्फत नियमविपरीत ७ लाख २५ हजार बढीको सामग्री खरिद गरी भुक्तानी गरेको जनाएको छ ।

सोमबार, ०७ भदौ, २०७८, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर