‘यहाँ गुटको छ चिन्ता, तिमी कांग्रेस कांग्रेस भन्छौ’

 लीलावल्लभ घिमिरे

कुनै बहाना र सनकले काम गरेन भने अब कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन हुने पक्का छ । कांग्रेसको १४ औं महाधिवेशनले वडादेखि राष्ट्रियसम्मको नेतृत्व चयन गर्ने छ । यो देशको सवैभन्दा पुरानो र प्रजातन्त्रवादी भनिएको कांग्रेस महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ भन्ने चियो र चासो सबै तह र तप्कामा छ ।

के साँचै नै कांग्रेस १४ औं राष्ट्रिय महाधिवेशनपछि एउटा जुझारु र सशक्त दल बनेर आउला त ? यो प्रश्नको उत्तर सहज छैन । यो पार्टी जति पुरानो छ यसको विधि र पद्दतिपनि त्यतिकै पुराना र पुरातन सोचबाट ग्रसित छन् । जसका कारण महाधिवेशन पछि आउने नेतृत्वको छाया अहिले नै देख्न सकिन्छ । यसको विधि र विधानले कहिल्यै पनि असक्षम र अनुशासनहीनहरुलाई रोक्न सकेन । हरेक पार्टीको विधान राज्यको कानुन जस्तै हो । जसरी राज्यको कानुनले अपराधिलाई कारवाही गर्छ त्यसै गरी पार्टीको विधानले नालायकहरुलाई पाखा लगाउनु पर्ने हो । तर कांग्रेसमा अहिलेसम्म त्यस्तो देखिएको छैन । हुन त यो रोग कांग्रेस मात्र हैन सबै दलहरुमा छ ।

कांग्रेस महाधिवेशनको कुरा गर्नासाथ पहिलो विवाद सुरु हुन्छ कृयाशील सदस्यताबाट । कांग्रेसका कृयाशील सदस्य भनेको नेतृत्व चयन गर्ने पहिलो पात्र हुन् । त्यसैले कांग्रेसलाई जकटेर राख्ने नेताहरु जहिलेपनि यही कृयाशीलमा झ्याली गर्छन् र आफ्नो समूह र गुटलाई यहंीबाट प्रवेश गराउँछ । परिणाम नेतृत्वमा सवल र सक्षम र क्षमताका आधारले हैन चाकडी, चाप्लुसी, मनी र मसलको भरमा पुग्ने गर्छन् । कांग्रेसको सबैभन्दा ठूलो रोग भनौं या समस्या यहीनेर हो । नपत्याए तपार्इँहरुले जिल्लातिर हेरे हुन्छ । यतिबेला जिल्लाका मात्र हैन कांग्रेसका टोले नेतासमेत काठमाण्डौंमा डेरा जमाएर बसेका छन् ।

कांग्रेसका हरेक वडामा कृयाशील सदस्यको बखेडा निकालिएको छ । नेताको चाकडी गर्ने र गुटमा लाग्नेले मात्र पाउँछ यो कृयाशील । कृयाशील वितरणको प्रकृया हेर्दा कांग्रेस कसैका बाउको बिर्ता जस्तो लाग्छ । केही सीमित व्यक्तिले कांग्रेसलाई लिजमा लिएका छन् र उनीहरुले मनमौजी चलाउने छन् । कांग्रेसको कृयाशील सदस्यता वितरण वैज्ञानिक छैन । र नेताहरुले हुन पनि दिदैनन् । कारण यहीँबाट गुटको बिजारोपण हुने गर्छ । यो आरोप अहिले देखिएका एक वा दुइ समूह हैन सक्नेले टोलसम्म गरेका छन् । ‘पानी माथिको ओभानो’ स्थान अनुसार फरक व्यक्ति बन्न खोज्लान् तर, त्यो मिथ्या मात्र हो ।

कहिलेपनि जनतालाई सारोगारो पर्दा घर दैलोमा नपुग्ने नेताको ढोका ढोकामा चहारेर आफूलाई ठूलो कांग्रेस सम्झनेहरुको जमात नै आज कांग्रेसका लागि सबैभन्दा बढी घातक हुने गरेको छ । यिनीहरु कुमारको जस्तो विश्व परिक्रमा गर्ने हैन गणेशको जस्तो नेताको घर तीन पटक घुमेर मेरो विश्व भनेको हजुर नै हो भन्नेहरु हाबी हुँदा कांग्रेसको यस्तो अवस्था आएको हो । वीपीको शब्दमा भन्ने हो भने, सुकिलामुकिलाहरुवाट कांग्रेसलाई जोगाउनु पर्छ ।

‘प्रजातन्त्र स्थापनापछि पार्टीभित्र सुकिलामुकिलाहरुको हाबी हुने छ त्यस बेला वास्तविक कार्यकर्ताहरुले संघर्ष गर्नु पर्छ,’ महामानव वीपी कोइरालाले त्यस बेला भन्नुभएको यो कुरा अहिले कांग्रेसमा मात्र हैन सबै पार्टीमा लागू भएको छ । के अब १४ औं महाधिवेशनले कांग्रेसमा सुकिलामुकिलाहरुको हाबी कम हुन्छ त ? यो प्रश्नको उत्तर सहज छ । कुनैपनि हालतमा हुँदैन । त्यसो भए अब के हुन्छ त ? यसको उत्तरपनि सहज छ । फेरीपनि वडादेखि क्षेत्र हुदै जिल्ला, प्रदेश हँुदै केन्द्रसम्म गुटगत उम्मेदवारहरुको विजयी हुन्छन् । चुनाव जित्नका लागि पहिले गुटको टिकट पाउनु पर्छ अनि मात्र उम्मेदवार भइन्छ । त्यसपनि व्यक्ति हैन सबैले गुट हेर्ने छन् । राम्रा मान्छेहरु पाखा लाग्ने छन् । हाम्रा मान्छेहरुको वाहुल्यता हुने छ । मनि र मसलको खेल हुने छ । उनीहरुको स्वर ठूला हुने छन् । पार्टीमा काम गरेका इमान्दार नेता कार्यकर्ताहरु पाखा लगाइने छ । यसैमा सबैले आफ्नो जित देख्नेछन् तर, बिचराहरुलाई आपूmले जितिराख्दा कांग्रेसजन र कांग्रेसको इतिहास मरेको पत्तै हुने छैन । जीतमा मदिरा पार्टी चल्ने छ । समीक्षामा फलोनोलाई देखाइयो । फलानोले धोका दियो भन्ने मात्र सुनिने छ । फेरीपनि वीपीले देखेको कांग्रेस खोज्न बत्ती नै बाल्नु पर्छ ।

यदी तपाईहरुलाई विश्वास लाग्दैन भने बिहान चिया पसलमा निस्कनुहोस् । विराटनगरकै कुरा गर्ने हो भने महानगरमा कांग्रेस आधा दर्जन भन्दाबढी उम्मेदवारहरुको नाम चिया चर्चामा सुनिन्छ । चिया खानेहरु भन्छन् राम त्यो गुटको, श्याम त्यो गुटको तर, कृष्ण राम्रो थियो उसलाई कुनै गुटले पत्याएन छ बिचरा के गर्नु ? त्यसबाट प्रष्ट हुन्छ अबको कांग्रेसको नेतृत्व कस्तो र कसको आउँछ भन्ने । यो एउटा उदाहरण मात्र हो । के सहर के गाउँ सबैतिर यस्तै यस्तै कुरा हुन्छन् । त्यसैले नेताहरु यतिबेला भनि रहेका छन्, ‘यहाँ गुटको छ चिन्ता तिमी कांग्रेस कांग्रेस भन्छौ ।’

आइतबार, ०६ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर