शिक्षामा आमूल परिवर्तन गर्ने गोल्डेन चान्स

 विमल लामिछाने

कोरोना महामारीका कारण शिक्षा क्षेत्र पनि सङ्कटमा छ । विद्यार्थी र शिक्षक विद्यालयमा उपस्थित हुन पाएका छैनन् । नयाँ प्रविधिको प्रयोग गरेर जसोतसो शिक्षालाई अगाडि बढाउने काम भइरहेको भएपनि गुणस्तर खस्किएको विषयमा दुईमत छैन । महामारीका कारण अनलाइन शिक्षण सिकाइ एउटा विकल्प बनेको छ । तर, यो समग्रमा प्रभावकारी बन्न सकेको छैन । अनलाइन शिक्षा एउटा आधुनिक प्रक्रिया हो । तर, अनलाइन शिक्षणको प्रभावबारे अध्ययन भएको छैन । अनलाइन कक्षामा धेरैजसो विद्यार्थी छुटेका छन् । प्रविधिमा पहुँच र तिनको प्रयोग गर्ने सीप पनि समस्याकै विषय बनेको छ । महामारीले सिर्जना गरेको सङ्कटले परम्परागत शिक्षणको विकल्पमा सूचना प्रविधिको प्रयोगलाई तीब्र बनाएको छ । कोरोना महामारीले बढाएको प्रविधि प्रयोग योजनाबद्ध र पूर्वतयारीका साथ नभई तत्कालको आवश्यकता पूरा गर्ने हिसाबले अघि बढाइएको हो । विकसित देशहरुको तुलनामा नेपालमा इन्टरनेटको पहुँच, उपकरण र प्रविधि प्रयोग क्षमता कम छ । यसले यो सिकाइ पद्दति दिगो हुने विश्वासनीयता भने पाउन सकेको छैन ।

शिक्षकका चुनौति

शिक्षकहरुलाई परम्परागत विधिबाट नयाँ प्रविधिमा आफुलाई अभ्यस्त बनाउन कठिन भएको छ । बनाईको विषयहरु पनि प्रविधियुक्त छैनन् । शिक्षकहरुलाई अनलाईबाट प्रभावकारी ढंगले कसरी कक्षा सञ्चालन गर्ने भन्ने ज्ञान पनि सबैमा छैन । बन्दाबन्दीका कारण उनीहरुले क्षमता बृद्धिका तालिमहरुमा सहभागी हुन सकेका छैनन् । कतिपय शिक्षकहरु इमेल कसरी हेर्ने, कसरी पठाउने, गुगल क्लासमा कसरी गृहकार्यहरु दिने भन्नेमा पूर्ण अनभिज्ञ छन् । इन्टरनेटबाट अनुशासन, आत्मविश्वासका कुराहरु विद्यार्थीलाई सिकाउन सहज रहला कि नरहला ? जसरी हिजो मेरो यो विद्यार्थी यो विषयमा अगाडि छ, यो खेलमा अब्बल छ, उसमा यस्तो प्रकारको कला छ भनेर हरेक शिक्षकलाई जानकारी हुन्थ्यो, त्यो भोलि होला कि नहोला ? यस्ता अनेकौं दुबिधाहरुबीच आएको अनलाइन शिक्षाले गुणस्तरीय शिक्षाको नारालाई सार्थकता दिन सक्ला ?

अनलाइन कक्षाको सबैभन्दा ठूलो समस्या शिक्षक–विद्यार्थीको प्रत्यक्ष सम्बन्ध एवं आत्मीयताको अभाब हो । शिक्षकले यसमा एकदमै ध्यान दिनुपर्छ । केही प्राविधिक विषयमा पनि ध्यान दिन जरुरी हुन्छ । शिक्षकले आफ्नो ‘आई कन्ट्याक्ट’ क्यामेराको लेन्ससँग गर्न जरुरी छ, ताकि विद्यार्थीलाई शिक्षकले हेरिरहेको महसुस होस् । शिक्षकले आफ्नो आवाज कस्तो गइरहेको छ वा कत्तिको बुझिएको छ भन्नेमा पनि ध्यान दिन जरुरी छ । आफ्नो बडील्यांग्वेज, एक्स्प्रेसन, भ्वाइस, मोडुलेसन आदिमा पनि ध्यान दिन जरुरी हुन्छ ।

कहिले इन्टरनेट जान्छ, कहिले ह्याङ हुन्छ, कहिले विद्यार्थी कराउँछन्, कहिले कसैले स्क्रिनमा कोरिदिन्छन्, कहिले विद्यार्थीले आवाज र भिडियो बन्द गरेर अन्यत्रै ध्यान दिएको छ । नयाँ माध्यम, नयाँ परिस्थिति, नयाँ उपकरण, धेरै च्याट ग्रुप, ई–हाजिरी, राइटिङ प्याड, विभिन्न भिडियो आदि शिक्षकहरूका लागि सजिलो विषय हुँदै होइन । तर, शिक्षकहरूसँग यी सबैसँग अभ्यस्त हुनुको विकल्प पनि छैन । यी यावत् विषय चुनौतिका विषय हुन् ।

फेरिपनि अनलाईन कक्षाको बिकल्प त अनलाईन कक्षा नै हो । बरु, यो कक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय सबै शिक्षा सम्बद्ध जिम्मेवारहरुको बहस र छलफलसँगै निर्णय गर्नुपर्ने हुन्छ । संकटकै कारण शिक्षालाई निरन्तरता दिन विद्यालय, शिक्षक, अभिभावक सबै पक्षमा समस्याका पोकाहरु थुप्रा छन् । संकट लामो समयसम्म रहिरहन सक्ने भएकाले अनलाईन र अफलाइनको प्रविधियुक्त शिक्षाको विकास गराइनु अनिवार्य आवश्यकता भएको छ । तर, सरकारसँग प्रष्ट नीति र रणनीति छैन । कति दिनसम्म विद्यालय बन्द गरिरहने ? त्यसले अन्तिम विकल्प भनेको अनलाईन कक्षा हो । त्यसको लागि सरकार, स्थानीय निकाय, संघ संस्था, अन्तराष्ट्रिय निकायको ध्यान जानुपर्ने छ । इन्टरनेट पहुँच, अनलाईन शिक्षाको अभाव, प्रविधिसँग मिल्दो दक्ष जनशक्तिको अभाव मुख्य समस्याहरु हुन् ।

अनलाईन कक्षाका फाइदाहरु

अनलाइन कक्षाका फाइदाहरु पनि प्रशस्त छन् । स्कूल, क्याम्पस धाइरहनुपर्ने झन्झट भएन, अरुबाट पढाईप्रतिको ध्यान भंग हुने डर भएन, लकडाउन भएपनि पढ्न पाइने, घरमै बसेर पढ्न पाइने, बसको यात्रा गर्नु नपर्ने र जाममा फस्नु नपर्ने, आमाबुबाको सहयोग लिएर पढ्न पाइने, शान्तिपूर्ण वातावरणमा पढ्न पाइने, हतारहतार तयार भएर विद्यालय हिँड्नुपर्ने कार्यबाट मुक्ति पाइने, आनन्द र पारिवारिक वातावरणमा कक्षा लिन पाइने, पर्याप्त समय पाइएकाले आनन्दले कक्षाकार्य र गृहकार्य गर्न पाइनेलगायत आफूले सोचेजस्तो वातावरणमा रहेर क्लास लिन र दिन पाइने, कोरोना र अन्य यस्ता महामारीको डर र त्रासबाट टाढा रहन सकियो । यस्ता विभिन्न प्रकारका फाइदाहरु ई–शिक्षासँग जोडिएका छन् ।

विभेदी पर्खाल भत्काउने अवसर

डिजिटल प्रविधिको विकास र प्रयोगसँगै सिकाइ पद्दति परिर्वतनको गोल्डेन चान्स पनि दिएको छ, समयले । सिकाई पद्दतिलाई नयाँ ढंगबाट विकास गर्ने यो अवसर पनि हो । भौतिक उपस्थितिमा शिक्षण हुने पाठ्यक्रमलाई अन्य विकल्प नहुँदा अरूमाध्यममै प्रयोग गर्नुपर्ने बाध्यता छ । अनलाइन सिकाइकै लागि न सिकाइ पाठ्यक्रम बनेको छ, न परीक्षा प्रणाली नै बनेको छ । त्यसैले यो अवस्था राज्यका लागि शिक्षामा आमूल परिवर्तन गर्ने अवसर पनि हो । डिजिटल प्रविधि सफल वा असफल भनेर निष्कर्ष निकालिहाल्ने समय त भएको छैन । तर, यो दुई वर्षको अवधिलाई अध्यायन गर्ने हो भने शिक्षा प्रणालीमाथि चुनौति भने अवस्य थपिएको छ । अब खुलेर भन्न सक्नुपर्छ कि तोकिएको पुस्तक पढेर शिक्षकले भने अनुसार घोक्ने अनि तीन घण्टाको आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने पद्दति अब बिस्तारै परिवर्तन गर्नुपर्छ ।

भरपर्दो र उच्चगतिको इन्टरनेट पहुँच, प्रविधिको प्रयोग गरेर सिकाइलाई प्रभावकारी बनाउने जिम्मा सरकारको हो । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मेवारीमा परिसकेकाले स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तहले स्थानीय परिवेश र आवश्यकता अनुकूलका रणनीति तयार गर्न ढिला गर्नुहुँदैन । स्थानीय तहले शिक्षकको उत्प्रेरणा, शिक्षक परिचालन र क्षमता विकासलाई पनि प्राथमिकता दिएर वैकल्पिक सिकाइका रणनीति तय गर्नेतर्फ आवश्यक तयारी गर्नु आवश्यक छ । अनलाइन शिक्षा समयको माग हो । शिक्षालाई रोकेर र शिक्षाबाट बालबालिका या कोही पनि वञ्चित हुनुहँुदैन । आजको गुणस्तरीय शिक्षा नै भोलिको देशको गुणस्तरीय भविष्य हो । तसर्थ, नेपाल सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्दछ ।

अहिले बजारमा निजी र सरकारी भनी शिक्षामा जुन विभेद छ, वा हुनेखानेहरू निजी विद्यालयमा, गरिबका निम्ति सरकारी विद्यालय भनेर कित्ताकाट भएको छ । त्यसलाई सरकारले नीतिमार्फत कम गर्नुपर्छ र सबैखाले मानिसका लागि एकै खालको र एउटै गुणस्तरको शिक्षा हुनुपर्छ । शिक्षामा हुँदा खाने र हुने खानेबीचको विभेद रहनुहुँदैन । निजी विद्यालयमा पढाइ राम्रो हुन्छ तर, सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने गलत बुझाइ हटाउन सक्नुपर्छ ।

व्यावसायिक कृषि शिक्षा नेपालको सन्दर्भमा सान्दर्भिक भएको र यस्तो व्यावसायिक कृषि शिक्षाको अभियानलाई प्रविधिसँग जोडेर स्थानीय र केन्द्रीय सरकारले लागू गर्नुपर्छ । समाज र विश्वमा हुने परिवर्तनअनुसार पाठ्यक्रम परिमार्जन गर्न सक्यो भने त्यो पाठ्यक्रमले मात्र समाजलाई सही दिशा दिनसक्छ र समाजका आवश्यकता पूरा गर्न सक्छ । निर्वाहमुखी अर्थव्यवस्थालाई विस्थापित गरी सामाजिक तथा आर्थिक समृद्धिलाई स्थापित गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्छ ।

प्राकृतिक स्रोतको उपयोग गर्ने

नेपालमा पाइने प्राकृतिक स्रोतमध्ये सबैभन्दा बढी उपलब्ध हुने स्रोत माटो र पानी भएकाले हामीमा माटो, पानी र भूगोलको ज्ञान नहुँदाबाँच्नकालागियुवा पुस्ता बिदेसिएका छन् । तसर्थ अबको शिक्षा हाम्रो माटो, पानी र भूगोलको राम्रोसँग ज्ञान र यसको सदुपयोग गर्ने खालको बनाउन सक्नुपर्छ । देशमा पुस्तकभन्दा पासपोर्ट बढी छापिने अवस्था अन्त्य गर्ने उपलब्धीमूलक शिक्षा नीति अहिलेको आवश्यकता हो । शिक्षामा भएको विभेदविरुद्ध विभिन्न विद्यार्थी संघ संगठनहरुले भन्दै आएको बैज्ञानिक शिक्षा प्रणालीको विकास गर्ने सुनौलो अवसर पनि यतिबेलै हो । परिवर्तनका पक्षधरहरुले अहिलेको महामारीले सिर्जना गरेको असहजतालाई शिक्षामा आमूल परिवर्तन गर्ने गोल्डेन चान्सको रुपमा लिएर योजना बनाउन सक्नु पर्दछ । अबको शिक्षा प्रणालीलाई प्राविधिक शिक्षा प्रणालीमा परिर्वतन गर्न जरुरी छ ।

bmllamichhane@gmail.com

मङ्गलबार, ०१ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर