विराटनगर । अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुसँग स्वास्थ्यकर्मीबाहेक अरुलाई भेट्न नदिने अस्पतालहरुको शैलीबारे प्रदेश १ संसद्मा निरन्तर विरोध भइरहेको छ ।
कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेका बिरामीलाई हेरचाह र रेखदेख गर्न परिवारका सदस्यलाई किन नदिइएको भन्ने प्रश्न अघि सार्दै सांसदहरुले सुरक्षा मापदण्ड अपनाएर आफन्तलाई सँगै बस्ने अनुमति दिनुपर्ने माग गरेका छन् । उनीहरुले यसमा प्रदेश र संघीय सरकारले पहल गर्नुपर्ने बताएका छन् ।
‘कोरोनाले गलाएको बेला परिवारका कुनै सदस्यको हेरचाह र रेखदेख विरामीका लागि आत्मबल बढाउने बलियो माध्यम हुनेरहेछ यो मेरै अनुभवले भन्दैछु,’ केही दिन अघि यो विषय संसद्मा पहिलोपटक उठाएकी सांसद कृष्णकुमारी राईले भनिन् ‘अस्पतालमा चिकित्सक पनि छेउ नपर्ने, नर्सहरु पनि छेउ पर्न डराउने अनि परिवारका मान्छेलाई बस्नै नदिने भएपछि विरामी बसरी बाँच्छ ?’ कोरोनाले मृत्युदर बढाउन अस्पतालहरुको यो ‘नचाहिँदो नियम’ ले पनि सघाएको आरोप उनको छ ।
सोमबारको प्रदेशसभा बैठकमा सत्तारुढ एमाले सांसद उपेन्द्रप्रसाद घिमिरेले सांसद राईकै भनाइ दोहोर्याउँदै थपे, ‘सुरक्षा मापदण्ड पूरा गरेर कोरोना संक्रमितसँग आफन्त बस्न पाउने व्यवस्था गर्न अस्पतालहरु किन मान्दैनन ?’ तत्कालै प्रदेश सरकारले अस्पताल सञ्चालकहरुलाई बोलाएर सतर्कतासहित कुरुवा राख्न दिने व्यवस्था गर्नुपर्ने उनको माग थियो ।
साता अघि मात्रै कोरोनामुक्त भएका अर्का सांसद मोहन खड्काले पनि संक्रमितहरुसँग आफन्त साथमा रहन पाउनुपर्ने माग संसद्मै गरेका थिए । कोरोना संक्रमित विरामीको रेखदेखमा परिवारको सदस्य खटिँदा विरामीको मनोबल बढ्ने, हेरचाह राम्रो हुने उनको भनाइ थियो ।
सोमबारको शुन्य समयमा बोल्दै सांसद उमिता विश्वकर्माले कोरोना परीक्षणसँगै फोक्सोको एक्स रे पनि अनिवार्य तुल्याउन सरकारसँग माग गरेकी छन् । ‘ज्यान गुमाउने धेरै संक्रमितको फोक्सोमा संक्रमण भएको पाइएको छ,’ उनले भनिन्, ‘पिसिआर गरेकै ठाउँमा यदि एक्सरेको व्यवस्था पनि हुने हो भने विरामीको वास्तविक अवस्था तत्कालै थाहा हुन्छ । चारतिर भौतिारिएर गम्भीर हुने क्रम घट्छ ।’