ज्ञानु घिमिरे
मानिसका आधाभूत आवश्यकता शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, रोजगारी र विकासबाट सहरभन्दा ज्यादै कम बर्चस्व भएको ग्रामीण क्षेत्र हो ।
यहाँका मानिसका आफ्नै किसिमको चलनहरु हुन्छन् । सहरमा जस्तो बाक्लो बस्ती नभएकाले कोलाहल कम हुन्छ । सूचना प्रविधि र इन्टरनेटको पहँुच न्यून हुने भएकाले यहाँका मानिसहरू छरछिमेकीसँग आत्मियता साटासाट गरेर फुर्सदको समय बिताउँछन् ।
जनताको आधारभूत आवश्यकताको परिपूर्ति हुन अनेकौं अप्ठ्यारो स्थिति आएको क्षेत्र ग्रामीण क्षेत्र भएकाले यहाँ सरकार र पत्रकारहरू भौगोलिक कारणले पुग्न नसक्दा ग्रामीण परिवेशमा रहेका आममानिसको समस्या माथि उठ्न सकेको छैन । नेपालका केही विकट गाउँहरूमा अझै पनि स्वास्थ्य, शिक्षा, सडक, सञ्चारको पहुँच नपुग्नाले यहाँका समस्याहरूसमेत मिडियामा कमै मात्र सुनिने गरिएको छ । इन्टरनेटले गर्दा विश्व अहिले साँघुरिएको अवस्था छ तर ग्रामीण भेगका लागि यो अप्ठ्यारो विषय हो ।
देशको चौथो अङ्गको रुपमा पत्रकारलाई लिइन्छ तर विभित्र कारणले स्थानीय र मोफसलमा रहेका सञ्चार माध्यमका रिपोर्टर पनि गाउँको जनजीवन रहन सहन लबज आदिको बारेमा रिपोर्टिङमा पुग्न मुस्किलमा छन् । समस्याको जालोमा घेरिएका पत्रकारलाई ग्रामीण परिवेषको चित्रण गरेर समाचार संकलन गर्ने चुनौती बन्न पुगेको छ । ग्रामीण भेगका समस्या दुरुस्त उतार्नुपर्ने खाँचो आज पनि उत्तिकै छ । इन्टरनेटको पहुँच भए मानिस आफैंले राम्रा, नराम्रा लुकेका समस्या उतार्ने सक्ने अवस्थामा रहे पनि इन्टरनेटको पहुँच नभएका कारण वास्तविक गाउँका समस्या दुरुस्त देखाउन सक्ने अवस्था छैन । ग्रामीण भेगका कतिपय बाहिरिएका समाचार पनि घटनाको वस्तुनिष्टतासँग टाढा र वास्तविकताभन्दा अर्कै बनेर आइरहेको अवस्था छ ।
पत्रकारिता समाजक एउटा ऐना हो । तर आमसञ्चार र सुचनाको पहुँच बिरलै मात्र पुग्ने गाउँमा ग्रामीण पत्रकारिता गर्ने पत्रकारलाईसमेत इन्टरनेटको समस्याले त्यहाँको वास्तविक आकृति देखाउन समस्या आइलागेको अवस्था छ ।
नवीन सूचना प्रविधि र इन्टरनेटसँग गाउँका मानिस अनविज्ञ र दूर रहेका कारण यसमा खासै चासो दिएको पाइँदैन । गाउँको आफ्नै रहनसहन, बाध्यता र सामाजिक मूल्यमान्यताका कारण कतिपय स्थानमा यहाँका मानिसहरू धार्मिक मूल्य मान्यतालाई मात्र चासो दिएको पाइन्छ । खासै सूचना प्रविधिको वास्ता गरिँदैन । सहरनजिक रहेका गाउँमा इन्टरनेटको पहुँच केही मात्रामा रहेपनि दूरदराजका गाउँमा इन्टरनेट एकादेशको कथाजस्तो हुन पुगेको छ ।
कोभिड–१९ को महामारीपछिको समयमा इन्टरनेट र प्रविधिले हामीलाई पछ्याउँदै आएर विश्वभर राम्रो स्थान राखेपनि यसको प्रयोग गाउँका लागि ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखानजस्तो बन्न पुगेको छ ।
अब शिक्षा क्षेत्रको चर्चा गरौं । हाल विद्यालयले सञ्चालन गरिरहेका अनलाइन कक्षाहरूमासमेत गाउँबाट सहर पढ्न गएका कतिपय विद्यार्थीहरू घर बसाइको कारण सामेल हुन सकेका छैनन् । समुदाययिक विद्यालयको अवस्था त झनै दयानीय छ । सामुदायिक विद्यालयका करिब ३० प्रतिशत छात्रछात्रा मात्र अनलाइन कक्षामा जोडिएका छन् । निजी विद्यालयमा अनलाइन शिक्षा प्रभावकारी देखिए पनि सय प्रतिशत भने यहाँ पनि उपस्थित रहेको देखिँदैन । इन्टरनेटको पहुँचबाहिर रहेका सामुदायिक विद्यालयका विद्यार्थीले यतिबेला तनावको सामना गरिरहनु परेको छ । यसले गर्दा उनीहरूको भविष्यमाथि प्रश्न चिह्न खडा भएको छ ।
यता इन्टरनेटको सहरमुखी विकास र बिस्तारले गाउँका मानिसको जीवनस्थरमा अति नै सकस देखिएको छ । पत्रकारलाई पनि आफ्ना मिडियामार्फत सोही स्थानमा गएर यस्ता कुरा प्राथमिकतामा ल्याउन भौतिक रूपमा अप्ठेरो रहेकाले ग्रामीण जनजीवनको वास्तविक अवस्था छाया परेको छ ।
केहीवर्षको एउटा अध्ययनअनुसार नेपालमाको कुल जनसंख्यामध्ये करिब १ करोड ४० लाखको हाराहारीमा मात्र मान्छे इन्टरनेटको पहुँचमा छन् । हालको अवस्था हेर्ने हो भने नेपालको ९० प्रतिशत जनसंख्यालाई नै इन्टरनेटको खाँचो रहेको छ । हाल सरकारले नेपाल टेलिकमको फोर जी सेवा देशभर विस्तार गरिहहेको जानकारी आए पनि काममा ढिलासुस्ति हुनाले अवस्थामा सुधार हुन निकै समय लाग्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा ७ सय ५३ वटा स्थानीय तह छन् । कतिपय जिल्लाका स्थानीय तहमा हालसम्म पनि इन्टरनेटको पहुँच रहन सकेको छैन । पुगेका स्थानीय तहमा पनि प्रयोगमा समस्या आएपछि ‘चुच्चे ढंगोे उही टुंगो’ भनेझैं देखिन्छ ।
प्रत्येक घरैपिच्छे इन्टरनेट आजको अनिवार्य आवश्यकता हो । तर ग्रामीण भेगका मानिसहरू हातमा महङ्गा महङ्गा बिनाइन्टरनेटका मोबाइल फोन बोक्न बाध्य छन् । यसले गर्दा गाउँका मानिसले कुनै पनि सूचनालाई तत्कालीन रुपमा प्रतिक्रिया दिन सकिरहेको अवस्था देखिँदैन ।
सन् १९९० को दशकमा विकास भएको इन्टरनेटले सामाजिक सञ्जालमा सर्वसाधारणको पहुँचमात्र पु¥याएन न्यू मिडियाको विकास पनि गर्याे । पत्रकारिता क्षेत्रमा पनि इन्टरनेटले नयाँ प्रयोगको विकास गरिदियो । पत्रकारितामा अत्याधुनिकता बढेर आयो ।
यसपछि इन्टरनेटको माध्यमबाट सूचना सम्प्रेषण हुन थालेको पाइन्छ तर यो अवसरलाई हालसम्म पनि ग्रामीण भेगका मानिसले उपयोग गर्ने सकेका छैनन् । यस्तो बाध्यात्मक अवस्थाले सूचनामा ग्रामीण भेगका नागरिकको पहुँच पुग्न नसकेको देखिन्छ ।
अबको सरकारको रणनीति देशभरका सबै जनतालाई सूचनाको पहुँचमा ल्याउन गाउँ गाउँमा इन्टरनेट र नयाँ प्रविधिको विकास गर्नतिर अग्रसर हुनुपर्छ । सबैभन्दा पहिलो सूचना प्राप्त गर्ने लोकप्रिय साधन इन्टरनेट हो । हरेक मानिस इन्टरनेटको पहुँचमा पुगे सामाजिक सञ्जालबाट तत्काल नै आफ्नो समाज, देश र अन्तर्राष्ट्रिय घटनाक्रमबारे जानकारी लिन सक्छन् ।