माक्र्सवादी क्रान्तिको अपरिहार्यताबारे

 नारायण निरौला

माक्र्सवाद के हो ?

पदार्थमा हुने ऋणात्मक र धनात्मक विद्युतीय तरङ्गको गहिरो विश्लेषणसहित द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको जगमा खडा भएको माक्र्सवाद भौतिक विज्ञान हो । त्यतिमात्र होइन यसले डार्विनको विकासवादी सिद्धान्तलाई पनि अंगिकार गरेको हुनाले यसमा जीव विज्ञान पनि समावेश छ । साथै पदार्थमा हुने रसायिनिक परिवर्तनलाई पनि आत्मसाथ गर्ने हुँदा यसमा रसायनशास्त्र पनि समावेश छ । त्यसैगरि उत्पादन पद्दति र उत्पादन सम्बन्धका विषयमा पनि गहिरो विश्लेषणात्मक संश्लेषण रहेको हुँदा यसमा अर्थशास्त्र पनि समावेश छ । त्यसैगरी माक्र्सवादले ब्रम्हाण्डको समेत अध्ययन गर्ने हुँदा यसमा खगोलशास्त्र पनि समावेश भएको छ ।

समग्रमा माक्र्सवाद एउटा वैज्ञानिक दर्शनशास्त्र हो । माक्र्सवादी दृष्टिकोणले कुनैपनि वस्तु, घटना र अभिलेख एवम् दस्तावेजको अध्ययन गर्दा ठोस निष्कर्षमा पुग्न सकिन्छ । माक्र्सवादले जहिले पनि विश्वास र शंकाको द्वन्द्वबाट निष्कर्ष निकाल्ने हुँदा तथ्य र सत्यको विश्लेषणात्मक संश्लेषण गर्दै ठोस नतिजा प्राप्त गर्न सकिन्छ । दुनियाँमा प्रत्येक वैज्ञानिक आविष्कारहरु चाहे माक्र्सवादको उत्पत्ति भन्दा अघि भएको होस् वा पछि सबैमा माक्र्सवादले अंगिकार गरेको द्वन्द्वको सिद्धान्त प्रयोगमा आएका छन् । यसैको जगमा मानव समाजको राजनैतिक, आर्थिक र साँस्कृतिक परिवर्तनका संस्थागत पहलहरु हुँदै आएको पनि जगजाहेर छ ।

लेनिनवादलाई कतिपय अल्पज्ञानीहरुले माक्र्सवाद विपरित भनी ब्याख्या गरेको पनि पाइयो । तर, यस्तो कदापि होइन । बरु लेनिनवादले माक्र्सवादको सार्थकतालाई पुष्टि गरेको छ । समाजवादी क्रान्ति र त्यसको निम्ति आवश्यक संगठनात्मक अनुशासन र नेतृत्वको विषयमा ठोस विचार लेनिनवादले नै दिएको छ । कतिपय आन्दोलनहरुमा माक्र्सवादको प्रयोग नगरिएको भनिएता पनि त्यहाँ माक्र्सवादले अंगिकार गरेको द्वन्द्वको सिद्धान्तलाई प्रयोगमा अवस्य ल्याइएको हुन्छ ।

उत्पादनका साधन कस्को अधीन छन् र उत्पादन सम्बन्ध ब्यक्तिमा छ कि समाजमा ? भन्ने कुराले शोषणको अवस्था निर्धारण गर्दछ । अर्थात उद्योगका लागि चाहिने भवन, मसिन, कच्चापदार्थ कस्को अधीन छ ? त्यसैगरि उद्योगबाट उत्पादन गरेर बजारमा बेचिएको तयारी वस्तुको मुनाफा कस्को अधीन र खटनपटनमा छ ? ब्यक्तिको मातहतमा छ कि राज्यको अथवा समाजको मातहत छ ? भन्ने कुराको अवस्थाले नै शोषणको स्थिति निर्धारण गर्दछ । अठारौंदेखि बिसौं शताब्दीमा विज्ञान र प्रविधिले धेरै फड्को मार्यो । मान्छेको स्थान मसिनले लियो । धेरै उत्पादन गरी धेरै मुनाफा कमाउने होडबाजीमा अमेरिका र युरोपका मुलुकहरु पुगे । जसले साम्राज्यवादको रुप लियो । पहिलो र दोश्रो विश्वयुद्ध पनि साम्राज्यवादकै टकरावबाट भएको हो । अतः यो वर्ग संघर्षकै उच्चतम रुप हो ।

विज्ञान र प्रविधिले क्रान्तिलाई रोक्यो, अब वर्गीय संघर्ष समाप्त भयो, माक्र्सवादको प्रासंगिकता समाप्त भो, शोषक र शोषित रहेनन् भन्ने केही साम्राज्यवादी स्याल हुइयाँमा रमाउने बुर्जुवा बुद्धिजीवी र पाखण्डी जवजवादी तथाकथित कम्युनिष्टको भनाईमा कुनै पनि तुक छैन । विज्ञान र प्रविधिले क्रान्तिलाई छेकेको होइन, झन् अपरिहार्यता र सहजता थपिदिएको छ । किनकि जनशक्तिको स्थान यन्त्रले लिँदा बेरोजगारी समस्या बढ्न थालेको छ । खुला बजार अर्थतन्त्रले पनि हावा खायो । यसबाट चिनलगायत केही एसियाली देशलाई मात्रै फाइदा भयो । हाल कोभिड–१९ को असरकै विश्लेषण गर्दा सबैभन्दा बढी पुँजीवादी देशहरुमा नराम्रो असर परेको छ ।

यसलाई पनि खोप उत्पादन गरी व्यापार गर्ने र अर्थतन्त्र उकास्ने होडमा पुँजीवादी देशहरु लागेका छन् । तर, यस्तो नीतिको फाइदा पनि चिन, भियतनाम, क्युवा जस्ता समाजवादी देशलाई नै हुनेछ । त्यहि भएर अमेरिकी साम्राज्यवाद तिलमिलाएको छ । त्यसैले जी ७ बैठक बसेको हो, जसले खुलेआम चिनलाई निस्तेज गर्ने घोषणा गर्यो । डब्लुटिओको हालत पनि त्यस्तै छ । यो खुला बजार अर्थतन्त्रको मेहरोले क्रान्तिलाई नै फाइदा गर्दैछ । यसले नजानिदो तरिकाले क्रान्तिलाई विश्वब्यापी बनाउँदैछ । यहि कुरो बुझेर साम्राज्यवादले तेश्रो विश्वका मुलुकमा बित्तीय पुँजिवाद प्रवेश गराएर दलालहरु तयार गरिरहेको छ । एमसीसी पनि त्यही रणनीतिक अस्त्र हो । दलाल पुँजीवादको विकासले गर्दा वस्तुको मूल्य दिनदिनै आकासिदो छ । जनताको क्रयशक्तिमा ह्रास आएको छ । त्यसैगरी पुँजीवादी देशले उत्पादन बढाउने होडमा अत्यधिक कार्वन उत्सर्जन गर्दा वातावरण र पर्यावरण समस्या बढिरहेको छ ।

उत्पादन प्रणाली फेरिएता पनि उत्पादन पद्दति नफेरिँदा शोषणका झन् नयाँ स्वरुप देखिदैछन् । जसले गर्दा समाजमा अमानवीयता, निर्दयिता, अराजकताले सीमा नाघेको छ । देशका नेतृत्व तह पनि साम्राज्यवादको यस्तो कुटिल रणनीतिमा र नोकरशाही दलाल पुँजीपतिहरुको चङ्गुलमा फसेका छन् । त्यसैले संसारभरि नै संस्थागत भ्रष्टाचार तथा अन्याय र अत्याचारले जरा गाडेको छ । यही भ्रष्टाचारको सेटिङमा आफ्नो गिरोह नपर्दा सरकार गिराउने र बनाउने खेलमा दलका गिरोहहरु लागिरहेका छन् । यो शकुनी खेलको मारमा जनता पिल्सिएका छन् । यस्तो विकराल स्थितिबाट मुक्ति पाउन विश्वका उत्पीडित मानव समुदायका निम्ति क्रान्तिको विकल्प छैन । त्यस्का निम्ति वर्गसंघर्ष नै एक मात्र उपाय हो । जसको दार्शनिक, राजनीतिक र सांगठानिक नेतृत्व गर्ने संस्था नै माक्र्सवाद हो । सबैमा चेतना भया !

शुक्रबार, २९ साउन, २०७८

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर