प्रदेश १ मा भोलिदेखि भारी वर्षाको सम्भावना, सुरक्षित रहनुहोस्

विराटनगर । केही दिनयता कमजोर बनेको मनसुनी वायु फेरि बलियो बनेर प्रदेश १ मा भारी वर्षा हुने सम्भावना बढेको छ । वर्षा गराउने न्यून चापीय रेखा नेपालतर्फ नजिक भएका कारण भारी वर्षाको सम्भावना बढेको हो ।

मौसम पूर्वानुमान महाशाखका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो ।

‘न्यून चापीय रेखा नेपालतर्फ नजिक हुँदैछ,’ मौसमविद् प्रधानांगले भने, ‘बिहीबारदेखि वर्षाको मात्रा बढ्ने र केही दिन जारी रहने देखिएको छ ।’ यस विषयमा महाशाखाले सोमबार राति ८ बजे विशेष मनसुन बुलेटिन–७ जारी गरेको छ । जसमा भनिएको छः ‘सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।’

बुलेटिनअनुसार बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षा तथा शुक्रबार र शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन पनि भनेको छ ।

के हो न्यून चापीय रेखा ?

मौसम सम्बन्धि जानकारी आउँदा सधैँ चर्चा भइरहने न्यून चापीय रेखा के हो त ? मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनमा माथिल्लो वायुमण्डलमा बन्ने एउटा मौसमी रेखा नै न्यून चापीय रेखा हो ।

यो रेखा पृथ्वीको भूमध्यरेखा, अक्षांश र देशान्तर रेखाजस्तो तटस्थ रेखा हैन । यसले भौगोलिक विवरण हैन मौसमी विवरण बताउँछ । मानन्धरका अनुसार जमिनबाट करिब १२ देखि १८ किलोमिटरमाथिको वायुमण्डलमा बन्ने यही रेखाका कारण मनसुनी गतिविधि चल्छ । जुन ठाउँमा तातो हावा हुन्छ, त्यो ठाउँमा चाप कम हुन्छ । मनसुनको समयमा प्रायःजसो यस्तोे ठाउँ बन्छन् । त्यहाँको चापलाई सन्तुलित गर्न चारैतिरबाट वायुहरू आउने गर्छ ।

गर्मीको मौसममा समुद्रबाट बाफ आउँछ र त्यो पछि बादल बन्छ । त्यसरी आएको जलवाष्प न्यून चापीय रेखामा बसेपछि त्यहाँ पानी पार्ने बादलको सिर्जना हुन्छ । ‘बादलमा पानीको चाप बढेपछि त्यहाँ बस्न सक्दैन र पानी पर्छ,’ मानन्धरले भनिन् ।

पृथ्वीको उत्तरी गोलाद्र्धमा गर्मीको समयमा जुनदेखि सेप्टेम्बरसम्म मनसुनको समय हो । सूर्यको ताप बढी परेपछि न्यून चापको सिर्जना भई नै रहन्छ । यस्तोमा समुद्र र जमिनबीचमा मनसुनी पुलको अवधारणा अनुसार वर्षाको चक्र चल्छ । जमिन तातो हुँदा समुद्र चिसो हुन्छ । त्यसैले समुद्रबाट जमिनतर्फ हावा बहन्छ । मौसमविद्का अनुसार जाडोे मौसममा भने ठीक उल्टो जमिन चिसो र समुद्र तातो हुन्छ । जसअनुसार जमिनबाट समुद्रतिर हावा जान्छ । गर्मीमा बन्ने न्यून चापीय रेखा एकै स्थानमा स्थिर रहँदैन । सूर्यको ताप रहेको स्थानमा उच्च चाप हुन्छ ।

उच्च र न्यून चापको बीचको सन्तुलन कायम गर्न अन्यत्रबाट जलवाष्प र हावा न्यून चापतर्फ सोहोरिएर सन्तुलित वातावरण बनाउँछ । पानी परिसकेपछिको अवस्था तटस्थ हो । त्यसपछि फेरि अन्यत्र जहाँ न्यून चाप बन्छ, त्यहाँ यही प्रक्रिया दोहोरिन्छ ।

न्यून चापीय रेखामा बादल बनिसकेपछि पानी पर्नका लागि बादलको छुट्टै संयन्त्रले काम गर्छ । बादलमा हुने र जमिनमा हुने पोजिटिभ आयोन र नेगेटिभ आयोनबीच संघर्ष चल्छ । त्यसबेला करेन्ट निस्केर चट्याङ पर्छ । बादलमा हुने पानीको अणु यस्तो संघर्षका क्रममा एकआपसमा मिल्ने र बिलाउने क्रम चल्छ ।

नेपालमा चल्ने मनसुनी प्रक्रियामा दिल्ली, गङ्गा नदी, बङ्गालको खाडीसम्म र नेपालको आसपास बढी न्यून चापीय रेखा बन्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । ‘न्यून चापीय रेखा नेपालको नजिक बन्दा बढी वर्षा हुने सम्भावना बलियो हुन्छ । ठ्याक्कै नेपालमाथि रहेका बेला अत्यधिक वर्षा हुन्छ । तल, दायाँ, बायाँ सर्दा भने कम वर्षा हुन्छ,’ उनले स्पष्ट पारे ।

मङ्गलबार, २६ साउन, २०७८, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर