विराटनगर । मेहनत र लगनशीलता नै प्रगतिको मुख्य स्रोत हो भन्ने उदाहरण बाँसको व्यापार गर्दै आएका सुनसरीको दुई दाजुभाई बनेका छन् ।
सुनसरीको दुहबी नगरपालिका बस्ने देवकृष्ण मण्डल र उनका २८ वर्षीय भाई दशरथ मण्डलले यसको पुष्टि गरेका हुन् । कामप्रतिको मोह र लगनशीलता भए कुनैपनि काम छोटो नहुने र छिटै प्रगति गर्न सकिने उनीहरु बताउँछन् ।
बाँसको आवश्यकता जन्मदेखि मृत्युसम्म हुने गर्दछ । घरायसी कार्यका लागि बाँस नभई नहुने भएकाले यसको बजार विस्तृत छ । घर निर्र्माण, पूजापाठ, मरिमराउ र घरायसी कार्यमा समेत बाँसबाट बनेका विभिन्न प्रकारका सामग्रीहरुको प्रयोग हुन्छ । त्यसैले यसको व्यापार र बजार राम्रो छ ।
नाङ्लो, घरेलु सामान राख्ने ढकी, जुत्ता राख्ने ¥याक र तराईको ठूलो पर्व छठमा समेत आवश्यक पर्ने कुनिया लगायतका सामग्रीहरु पनि बाँसबाटै निर्माण गरिन्छ । झन् अहिले आएर विभिन्न होटेल तथा रेष्टुरेन्टहरुमा बाँसलाई सजावटको रुपमा समेत प्रयोग गर्न थालिएको छ ।
यही बाँसको व्यापारमा जुटेका छन, दुहबीका देवकृष्ण र दशरथ । देवानगञ्जबाट बाँस किनेर विराटनगर र दुहबी बजारमा बिक्री गर्दै आएका यी दुई दाजुभाईको मुख्य आयस्रोत नै बाँसको व्यापार बनेको छ । झण्डै आधा दशकदेखि बाँस व्यापारमा संलग्न भएका यी दुई दाजुभाईले यसबाटै मनग्य आम्दानी गर्दै आएका छन् । यसमा उनीहरूको सहयात्री बनेको छ, एकजोडी राँगा । ती राँगा पनि देवकृष्णले ४ वर्षअघि डेढ लाख रुपैयाँ हालेर खरिद गरेका हुन् । स्याहार गरेर नै उनले राँगालाई बलियो बनाएका छन् । अहिले पनि उक्त राँगा करिब ३ लाखमा रुँपैयामा बिक्री हुने देवकृष्ण बताउँछन् ।
एक जोडी राँगाले देवकृष्ण र दशरथलाई खेतमा तथा सडकको काममा सघाउँछन् । खेत जोत्नुपरेमा वा सयौं बाँस लोड गरेको गोरुगाडा तान्नु परेमा, तिनै राँगा काम आउँछन् । खेती गर्ने समय दुवैलाई नारेर देवकृष्ण जोत्छन्, बाली ओसार्न पनि ती राँगाकै सहयोग लिन्छन् । अनि दाउनी गर्नुपरेमा तिनै राँगा काममा आउँछन् ।
खेतबाट फुर्सद मिलेपछि दुई दिनको समय खर्चिएर गोरुगाडा चढेर देवकृष्ण र दशरथ बाँस खरिद गर्न गाउँतिर निस्कन्छन् । उनीहरू नेपाल–भारत सीमा नजिक पर्ने देवानगञ्ज गाउँपालिकाबाट प्रति घना १ सयदेखि १५० रुपैयाँसम्ममा बाँस खरिद गर्छन् । काट्छन्, झिक्रा केलाउँछन् र गोरु गाडामा लोड गर्छन् । त्यहाँबाट उनीहरू पुनः विराटनगर हुँदै दुहबी फर्किन्छन् ।
देवानगञ्जबाट दुहबी करिब ३६ किलोमिटर पर्छ । त्यो यात्रा उनीहरूका लागि एक दिनको नै हुन्छ । राँगाले बिसाउनुपर्ने भएका कारण रोक्दै, राँगालाई खुवाउँदै र आराम गर्दै उनीहरू दुहबी पुग्छन् । कहिलेकाहीँ दुहबी नपुग्दै बाँस बिक्री भईसक्छ । कहिलेकाँही एउटा पनि बिक्री नभई दुहबी पुगिन्छ । केही बाँस घरमा थन्क्याइएको देवकृष्ण बताउँछन् । उनी भन्छन, ‘प्रायः एक सय वटा बाँस लोड हुन्छ, कहिलेकाँही एकै जनाले ठूलो मात्रामा खरिद गरिदिँदा घरसम्म बाँस पु¥याउन सकिँदैन । कहिलेकाहीँ बिक्री नभएर घरै पुगिन्छ ।’
प्रति घना २५० रुपैयाँसम्ममा बिक्री गर्दा एक गाडा बाँसबाट कम्तीमा पनि २० हजार फाइदा हुने गरेको उनी बताउँछन् । बाँसबाट १५ हजार र झिक्राबाट करिब ५ हजार जति आम्दानी हुने गरेको उनको भनाइ छ ।
देवानगञ्जकै बाँस व्यापारी देवनारायण मेहता र बब्लु मेहता देवानगञ्जका विभिन्न स्थानबाट बाँस किनेर विराटनगर पु¥याउँछन् । देवनारायण र बब्लु बाबु–छोरा हुन् । ६ वर्ष अघिदेखि बाँस व्यापार गर्दै आएका उनीहरू प्रायः गोरु गाडामै २ सय घना बाँस लिएर विराटनगर पु¥याउँछन् । प्रतिघना १६० रुपैयाँमा किनेको बाँस उनीहरूले २४५ रुपैयाँसम्म विराटनगरमा बिक्री गर्छन् । एक गाडीबाट कम्तीमा १४ हजार फाइदा हुने उनीहरुको भनाइ छ ।
लामो समयदेखि बाँस बिक्री गर्दै आएका देवानगञ्ज–२ का ५४ वर्षीय धनराज मेहता पनि बाँस व्यापार मनग्य आम्दानीको स्रोत रहेको अनुभव सुनाउँछन् । ‘मेरो फरक–फरक स्थानमा कुल आठवटा बाँसको झयाङ् छ,’ उनी भन्छन, ‘विगत २५ वर्षदेखि बाँसको व्यापार गर्दै आईरहेको छु । एकपटक बेच्दा करिब १ लाख ४४ हजार आम्दानी हुन्छ ।’
बाँस पृथ्वीमा रहेका सम्पूर्ण वनस्पतिहरूमध्ये सबैभन्दा तीव्र गतिले बढ्ने क्षमता भएको एक सदावहार काष्ठिय बिरुवा हो । यसका केही प्रजातिहरू २४ घण्टामा ९१० मिलिमिटर (३६ इन्च) सम्म बढ्ने गर्दछ । केही समयको लागि भएपनि केही प्रजातिका बाँसहरूको बढ्ने गति ४० मिलिमिटर (१.५ इन्च) प्रति घण्टासम्म पुग्ने गर्दछ । तीव्र गतिमा हुर्किने भएर पनि प्रत्येक ३ वर्षको अवधिमा बाँस एकपटक बिक्री गर्न लायक हुन्छ ।