विराटनगरको मुटुमा अवस्थित जनता नमुना माध्यामिक विद्यालय आफैंमा इतिहास बोकेको विद्यालय हो । वि.सं. २००९ सालमा स्थापना भएको यस विद्यालयबाट हजारौं विद्यार्थी शिक्षित बने । सयौं व्यक्ति राष्ट्रको उच्च पदमा पुगे । अधिकांश, आज पनि उच्च स्थानमा कार्यरत छन् । अर्थात्, जनताले धेरैलाई बनायो । आज जनता मावि कमजोर बनेको छ । विद्यालयमा विद्यार्थी छैनन् । भएका भवन तथा अन्य भौतिक सामग्रीहरु जीर्ण अवस्थामा छन् । शैक्षिक वातावरण खल्बलिएको छ । नढाँटि भन्दा, जनता मावि बन्द हुने अवस्थामा छ । त प्रश्न उठ्छ, कसले बनाइदिनुपर्ने हो जनता मावि ? विद्यालय विगार्ने र बन्द हुने अवस्थामा ल्याउने को हो ? अनि बनाइदिने कसले ? विद्यालय सुधार्न ठ्याक्कै भूमिका खेलिदिने कसले ?
विराटनगर २ मा अवस्थित जनता माविको इतिहास हेर्दा १५ सय बढी विद्यार्थी त्यस विद्यालयमा हुन्थे, कुनैबेला । पछिल्लो समयको विद्यार्थी संख्या सुन्दा पनि लाज लाग्छ । शिक्षक १८, विद्यार्थी २५ । वि.सं. २००९ सालमा स्थापना भएर २०३५ सालमा देशकै नमुना घोषणा भएको विद्यालय । विराटनगरको मध्यभागमा अवस्थित यस विद्यालय परिसरमा ११ कठ्ठा जमिन छ भने भवन आवश्यकता अनुसार पर्याप्त छ । कम्पाउण्डको वातावरण अत्यन्त हरियाली छ र पर्याप्त खेल मैदान पनि । कुनै बेला प्रदेश १ कै उत्कृष्ट विज्ञान प्रयोगशाला थियो । पुस्तकालय त्यस्तै, नपाइने पुस्तक थिएनन्् । आम मानिसले देख्दा सबैको हाई–हाई थियो जनता मावि ।
जनता मावि सुधार्नुपर्छ भनेर यतिबेला वृहत राष्ट्रिय शिक्षा अभियानको समुह सकृय ढंगले लागेको छ । अभियानका संयोजक अभिषेक घिमिरे र सहसंयोजक श्रीमन्त भट्टराई दुबै विराटनगरका हुन् । सामुदायिक विद्यालय सुधारको अभियान लिएर देशव्यापी कार्यक्रम सञ्चालन गरिरहेको यस समुहले आफ्नो गृहनगरको विद्यालय कमजोर भएको हेर्न कसरी सक्थ्यो ? सुधारको लागि उनीहरुको नेतृत्वले एक वर्ष अघिबाटै प्रयत्न गरेको थियो । तात्कालिन प्रअ विजय रौनियारको असहयोग र महानगरको अस्पष्ट सोचले सुधार अभियानले सार्थकता पाउन सकेन ।
प्रअ फेरिएपछि रुपान्तरणको यात्रा सहज भयो । हल्लखल्ल भयो । पत्रपत्रिकामा सुधारको सपना बाँढिएका समाचारहरु आए । बिभिन्न तालिमहरु गराइए । बाल कक्षादेखि ५ सम्म मन्टेश्वरी विधिबाट अध्यापन गराउने योजना बन्यो । अभियानको तर्फबाट शिक्षकहरुलाई मन्टेश्वरीको तालिम निःशुल्क दिइयो । कक्षा ६–१० लाई प्रविधिमैत्री बनाउने योजना बन्यो । अभियानले भएका पुराना कम्प्यूटर मर्मत गरायो । शिक्षकहरुलाई कम्प्यूटर सिकाउने योजना बन्यो । सफाईमा ध्यान दिनुपर्ने विषयहरु उठान भए । बाहिरी आवरण जसरी पनि परिवर्तन हुनुपर्छ भन्ने छलफल भयो । विद्यालयको कम्पाण्ड तथा कक्षाकोठा व्यवस्थापनमा सबै लाग्नुपर्छ भन्ने बहसहरु सुरु भए । पुरानो गाडी बनाउन सकिन्छ कि भन्ने प्रयत्न सुरु भयो । विराटनगरमा उपलब्ध भएसम्मका पूर्व शिक्षकहरुलाई बोलाएर सम्मान कार्यक्रम राखियो । विद्यालय शिक्षाको जिम्मा पाएको स्थानीय तहका जनप्रतिनिधिलाई विद्यालयमा दुईपटक बोलाएर त्यहाँको वातावरणको जानकारी गराउँदै सहयोगको प्रस्ताव राखियो । मेयरले विद्यालयलाई आफूले सकेको सबै सहयोग गर्ने प्रतिवद्धता दिए । भर्ना अभियानमा केही सक्रियता देखियो । सय बढी बालबालिकाले नाम पनि लेखाए ।
अभियानको सकृयतामा बिभिन्न संघसंस्था र पूर्व विद्यार्थीलाई विद्यालयमा जोडाउने काम भइरहेको छ । झट्ट हेर्दा धेरै काम हुँदैछ । सुधारको यात्रा सुरु भएको छ । अब जनता मावि सुध्रिन्छ भन्ने अपेक्षा धेरैमा आएको छ । चियापसलमा जनताको सुधारको विषयमा सकारात्मक अपेक्षासहितका गफ हुन्छन् । अभियानले प्रदेश र केन्द सरकारसँगसमेत सहयोगको अपिल गरिरहेका छन् । उच्च ओहदामा पुगेका पूर्व विद्यार्थीहरु आफूले सकेको सबै सहयोग गर्ने प्रतिवद्धता दिइरहेका छन् । तर, जनतामा पुरानै रोग सुरुभएको छ । केही शिक्षक कर्मचारीमा काम गर्नुपर्ने पीडाले छटपटी सुरु भएको छ । जनता बचाउन चैं बचाउने तर सुधार नगर्ने पक्षमा केही शिक्षकहरुको गुट उपगुट सुरु भएको बुझिएको छ । नेतृत्वमा दृढ इच्छाशक्ति नदेखिनु र रुपान्तरणमा पहल नगर्नुले त्यहाँ शंकाका छिद्राहरु प्रष्ट देखिएका छन् । शिक्षकहरुलाई एक ठाउँमा ल्याउन नसक्नु, एजेण्डामा हिँडाउन नसक्नु, विद्यालय सुधारको विस्तृत योजना अझै बन्न नसक्नु, पहल सुरु नहुनुले वर्तमान नेतृत्वमाथि नै आशंका उब्जाएको निश्चित छ । उक्त कमजोरीका कारण हिजो काम नगर्ने शिक्षकहरु अहिले गुट उपगुट बनाउने, आलोचना गर्ने, अवरोध सृजना गराउने गतिविधिमा व्यस्त हुन थालेका छन् ।
जनता मावि ऐतिहासिक विद्यालय हो । यो विद्यालयसँग धेरैको मन मुटु जोडिएको छ । धेरैको विगत जोडिएको छ । धेरैलाई जनताले बनाएको छ । आज जनतालाई बनाउनुपर्ने समयमा सुरुभएको दोषारोपणले अब जनता बन्द नै हुने हो कि भन्ने आशंका उब्जाएको छ । जनता मावि बन्द हुनु हुँदैन । मर्ज गर्न पनि आवश्यक छैन । यसको आफ्नै आवश्यकता, महत्व र जिम्मेवारी छ । विराटनगरमा अधिकांश विद्यालयबाट नेपाली माध्यम हाटाउने क्रम बढेको छ । यो अवस्थामा अंग्रेजी माध्यममा जान नसक्ने र शुल्क तिर्न नसक्ने बच्चा कहाँ जाने ? विराटनगरको उत्तरी र मध्य क्षेत्रका अधिकांश बालबालिका जनता मावि आउन सक्छन् । आउनुपर्छ । ‘क्याच्मेन्ट’ क्षेत्रमा सयौं बालबालिका अहिले पनि विद्यालय बाहिर छन् । उनीहरुलाई विद्यालय ल्याउने मात्र नभएर नियमित उपस्थिति गराउने वातावरणको तय गर्नुपर्छ । विद्यालयको नाममा २५ बिघा जमिन छ । त्यसको उचित सदुपयोग भएको छैन । बालबालिकालाई पुस्तकको ज्ञानसँगै सीप, उत्पादन र उद्यमशिलतामा जोडाउन सकिन्छ । यो अत्यन्त सहज छ । तर कसले गर्ने ? अनि अहिले यति तातेको बेला पनि जनता बन्न सहयोग नगर्ने हो भने कहिले गर्ने ?
विद्यालयका शिक्षकहरु अहिले पनि एक हुँदैनन् भने उनीहरुलाई सरुवा गरेर दार्चुला पठाइदिए हुन्छ । नेतृत्वले जिम्मेवार भएर सबैलाई व्यवस्थापन गरेर लैजान अझै सक्दैनन् भने उनलाई तुरुन्त कारबाही गरेर सक्षम व्यक्ति ल्याउनुपर्छ । पालिका र शिक्षा शाखाले आवश्यक सहयोग गर्नैपर्छ । व्यवस्थापन समिति थप जिम्मेवार हुनैपर्छ । वडा कार्यालयले सुधारमा अझ प्रभावकारी भूमिका खेल्नैपर्छ । अब पनि कोही जनता विगार्न चुक्लि लगाउँदैछन् भने ती सबै अपराधी हुन् । हिजो के भयो अलग विषय हो । अब जनता बनाउनुपर्छ भनेर सबै पक्ष लाग्दा त्यहाँको भित्री समुह नै गुट उपगुट बनाउँछ र सुधारको गतिविधिमा रोकावट आउँछ भने त्यो अपराध नै हो ।
राजनीति त विद्यालय सुधार्न पो गर्ने त, विद्यालय विगार्न राजनीति कहिलेसम्म ? हामी सबैको चाहना जनता मावि सुधाररिएको मात्र होइन, देशकै अब्बल भएको हेर्ने अपेक्षा विराटनगरबासीको छ । बाहिरबाट हेर्दा त्यो कामको सुरुवात भइसकेजस्तो लाग्छ । यसले निरन्तरता पाउनुपर्छ । जनता सुधार्न केही व्यक्ति, संस्था, अभियान मात्र होइन सिंगो समाज लाग्नुपर्छ । उठ्नुपर्छ अनि जाग्नुपर्छ । सबैभन्दा बढी विद्यालय परिवार लाग्नुपर्छ । असहयोग गर्नेलाई विद्यालय भित्रै मोसो दल्ने हिम्मत अब समाजले गर्नुपर्छ । गर्नैपर्छ ।