सम्पादकीय
तीन वटै तहका सरकारको उच्च प्राथमिकतामा परेको कुनै क्षेत्र छ भने त्यो भौतिक पूर्वाधारकै क्षेत्र हो । विकास भन्नेवित्तिकै यस्तो भाष्य निर्माण गरिएको छ कि, पुल, सडक, भ्यूटावर वा अरु कुनै संरचना ठड्याउनु भन्ने बुझाई स्थापित गरिँदै लगिएको छ । यसरी चारैतिरबाट उच्च प्राथमिकता दिइएको भौतिक निर्माणकै काम पनि जताततै अलपत्र परेर जनताले दुःख पाएका खबर बाक्लै आउँछन् । कतै बजेट अभावले, कतै ठेकेदारको लापरबाहीले, कतै विवादले त्यस्ता संरचना अलपत्र परेका घटना बग्रेल्ती छन् । जसले सर्वसाधारणलाई सास्ती मात्रै दिएका छैनन्, उनीहरुको जीवनकै सपनामाथि पनि खेलवाड गरिरहेका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका – ५ धानखेतीस्थित सोल्टी खोलाको पुल साढे तीन वर्षदेखि अलपत्र परेको घटना त प्रतिनिधि उदाहरण मात्रै हो । उपभोक्ता समिति गठन भएर १ करोड ८३ लाख रुपैयाँ लागतमा निर्माणको इस्टिमेट तयार गरेर सुरू गरिएको उक्त पुल अलपत्र हुँदा स्थानीयबासीले भोगेको सास्ती कसरी मापन गर्ने ? सम्भवतः कुनै पनि तहका सरकारसँग यसको जवाफ छैन । मोरङको उत्तरी बजार लेटाङ्ग हुदै जाँते र मधुमल्ला बजार जोड्ने सोल्टी खोला हुँदै आवतजावत गर्ने सवारीसाधन हिउँद याममा जसोतसो खोलाबाट तर्छन् । तर, वर्षायाममा वारिबाट पारि जानसक्ने अवस्था हुँदैन । त्यहाँका सर्वसाधारणले कहिलेसम्म भोग्ने यो सास्ती ? यसको उत्तर न संघ, न प्रदेश न स्थानीय सरकारसँग नै छ ।
मोरङ जिल्लामै यति धेरै सडक, पुल र कल्भर्टहरु अलपत्र छन्, जसले हाम्रो विकास मोडललाई गिज्याइरहेका छन् । हुलाकी राजमार्गमा पर्ने संरचनाहरु हुन् अथवा विराटनगर महानगरभित्रैका सडक, रतुवामावा नदीका अलपत्र पुल हुन् वा उत्तरी मोरङका क्षतविक्षत सडक । यी सबैले सरकारी नालायकी बोलिरहेका हुन्छन् । अहिले बर्खायाममा पहाडी क्षेत्रका सडकमा देखिने विजोग दृश्यको हिसाबकिताब त सहरमा केन्द्रीत हुने सरकारको प्राथमिकतामै पर्दैन । बर्खामा हिलाम्ये बन्ने र हिउँदमा धुलाम्ये हुने सडककै कारण हजारौं नागरिकले भोगेको असहज अवस्था सरकारले बुझ्ने चेष्टा नै गरेको छैन ।
जतिबेलासम्म हाम्रा जनप्रतिनिधि र सरकारी संयन्त्रहरु व्यवस्थित योजनामा आधारित विकासको पक्षमा उभिन्नन्, त्यसबेलासम्म यस्तो सास्ती रोकिने छैन । आवश्यकतामा आधारित आयोजना छनौट गर्ने, त्यसको प्रष्ट खाका कोर्ने काममा भन्दा कुनै नेताको सनकका भरमा आयोजना बन्ने, जुनसुकै विकास आयोजना पनि भोटका लागि देखाउने भाँडो बन्ने चलन कायम ह्ुँदासम्म यो बेथिति चलिरहन्छ । जनताले दुःख पाउने श्रृंखला पनि जारी नै हुनेछ ।