सप्तकोशी नदी चीनको हृवाङहो नदीपछि तीव्र गतिमा बग्ने विश्वको दोस्रो ठूलो नदी हो। कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन्।
‘नेपालका हिमालबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ,’ विकिपीडियामा उल्लेख छ, ‘नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्दछ। वर्यषायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई ‘विहारको दुःख’ पनि भन्ने गरिन्छ।’
प्राकृतिक रूपमा कोशी नदी भारतीय भूमि बिहारका लागि दुःखको विषय भए पनि कृत्रिम रूपमा यसको सम्पूर्ण दुःख नेपालले मात्रै बेहोर्दै आएको छ। हरेक वर्ष तराईमा बाढी आउँदा कोशीले बिहारलाई नभएर नेपाललाई डुबाउँछ।
किनकि कोशी नदीमा बनेको ब्यारेज (बाँध) को सम्पूर्ण ताला चाबी भारतको हातमा छ। २०६५ भदौ २ गते सुनसरीको पश्चिम कुशाहानजिक कोशी तटबन्ध फुटेको थियो। नेपाल र भारतले सन् १९५४ मा कोशी सन्धि गरेपछि, सन् १९५९ मा नदीको दुवै किनारामा तटबन्ध बनाइयो। तटबन्ध फुटेको स्थलबाट कोशी नदीको एउटा भँगालो दक्षिण–पूर्व लाग्यो, आफ्नो पुरानो धार पछ्याउँदै।
त्यसले जनधनको ठूलो नाश गरायो। त्यस दिन कोशीमा ठूलो बाढी नआए पनि नेपालमा अनुमानित ५० हजार र बिहारमा ३०–३५ लाख मानिस प्रभावित भएका थिए।
वर्षालागेसँगै मिडियामा छाउने सप्तकोशीसम्बन्धी समाचारले यहाँको मात्र होइन विश्वभर छरिएका नेपाल तथा भारतीयको ध्यान तान्ने गरेको छ। बाढीले मडारिएको सप्तकोशी र सप्तकोसीमा मिसिएका त्रियुगा र दूधकोशीको तस्बिर आकाशबाट हेर्दा यस्तो देखिन्छ ।

















