राम कार्की 'पार्थ'
हामी समाजवादको लक्ष्य लिएर अघि बढेका छौं । तर, त्यो समाजवाद ल्याउने मुख्य हतियार पार्टी र त्यसको संगठन कस्तो छ त ? के त्यो समाजवाद प्राप्त गर्ने ढंगको धारिलो छ ? यसमा देशैभरीका साथीहरु सबै असन्तुष्ट नै छन् । खासगरी नेपाली कम्युनिष्ट आन्दोलनमा संलग्न पुराना पिँढीका कार्यकर्ताहरुबीच आजभोली पार्टी, संगठन र संगठनात्मक सम्बन्ध २०३०, २०४० को दशकतिर जस्तो जुझारु, आत्मबलिदानी, आत्मीय र सहयोगी नरहेको भन्ने गुनासो जताततै गर्छन् । यो गुनासो जहिँतहिँ सुन्न पाइन्छ ।
अर्कातिर एउटा तप्काले २०५० को दशकतिरको जस्तो चुस्त दुरुस्त संगठन र त्यतिबेला पार्टी सदस्यहरुबीच रहने न्यानो र प्रेमपूर्ण सम्बन्धको सम्झना गरेर विरक्तिका गीत गाएको सुनिन्छ । पार्टी नेतृत्वको ठूलो अंश संसद्वादको हिलोको पिँंधसम्मै पुगेर समाजवादी कमलको फूल फुलाउने भगिरथ प्रयत्नमा जुटिरहेको यथार्थको ठूलो पाटो र त्यहि आन्दोलनका कार्यकर्ताको एउटा हिस्साले जुझारु संगठन र वर्गीय प्रेमयुक्त वातावरण खोजिरहेको सानो यथार्थबीच हामी संगठन र पार्टी संगठनबारे चर्चा गर्न जुटेका छौँ । संसद्वाद उदार पूँजीवाद हो । यसबाट समाजवाद आउँदैन । पूँजीपति राज्यसत्ताबाट काम चल्दैन । यो कुरा प्रष्ट छ ।
अब , माक्र्सवादको तागत यसको भौतिकवाद तथा अनुभव तथा संघर्षहरुबाट सिक्ने कुराहरुमा छ । त्यसैले यो कुनै पनि कुराको पूर्वघोषणाबाट बच्दछ । माक्र्सवादकै आलोकमा लेनिन पूँजीवादलाई भत्काउने ‘मुभमेन्ट’मा थिए । तर, एउटा सत्य के हो भने माक्र्स र लेनिनका सम्पूर्ण गतिविधिहरु प्रश्नरहीत बन्न सकेनन् । प्रश्नयोग्य धेरै सन्दर्भहरु भेटिन्छ । अहिले हामीले लेनिन र माक्र्समाथि अनेक कोणबाट धेरै प्रश्न गर्न सकिन्छ । त्यो बल हामीलाई माक्र्सवादले नै दिएको हो, सिकाएको हो ।
हुन त अहिले ‘क्रान्तिकारी कर्मबाट बँच्न’ वा जोगिन लेनिनलाई गाली गर्नेहरु पनि प्रशस्त निस्केका छन् । त्यो लेनिनलाई दोष लगाएर क्रान्तिबाट भाग्नेहरुको दुष्प्रयत्न मात्रै हो । किनभने, लेनिनको जीवनबाट सिक्न सकिने सन्दर्भ धेरै छन् । १९२१ को १० औं कंग्रेसमा अरु दलहरुमाथि प्रतिबन्ध लगाउनु लेनिनको सबैभन्दा ठूलो भूल थियो । बीसौं शताब्दीका प्रारम्भिक वर्षहरुमा जर्मनीमा जे जति आन्दोलनहरु भएका थिए, त्यसको तुलनामा रुसमा झण्डै दोब्बर संख्यामा आर्थिक तथा राजनीतिक हड्तालहरु सम्पन्न भएका थिए । यो अवस्थामा लेनिन तथा रुसी सामाजिक जनवादी आन्दोलनका नेताहरु समक्ष क्रान्तिकै क्रममा क्रान्तिकारी पार्टी निर्माण गर्ने चुनौती देखा प¥यो ।
१९ औं शताब्दीको अन्तिम वर्षहरु विश्व कम्युनिष्ट आन्दोलनका निम्ति रक्षात्मक अवधि रह्यो । सुधारवाद हुँदै संसदवादमा भासिने कार्ल काउत्स्कीहरुका दक्षिणपन्थी संसोधनवादका बीजहरु यही अवधिमा रोपिँदै थियो । पुँजीवादको स्वाभाविक परिणिती समाजवाद हुनेछ भन्ने स्वतःस्फूर्ततावाद जताततै हावी थियो । रुसमा भने षड्यन्त्रमा आधारित निम्न पूँजीवादी संगठनका वीरहरुद्वारा जारशाहीकाविरुद्ध आतंकवादी कारवाहीहरु गर्ने रोमान्टिक प्रवृत्ति हावी थियो । यही प्रवृत्तिकाविरुद्ध लड्ने क्रममा लेनिनका सैदान्तिक दाँतहरु तिखारिएका थिए । संगठन निर्माण, परिचालनका सन्दर्भमा लेनिन बराबरको वैज्ञानिक विधि अहिले पनि अर्को छैन ।
त्यही लेनिनवादी संगठन शैली अपनाएको भनेको नेपालको कम्युनिष्ट संगठन कस्तो छ त ? यो ज्यादै गहन सोचनीय विषय भएको छ । हामीले हिजोदेखि नै भन्दै आयौं, जनताको सेवा गर, जनतासँगै खाउ, उठ, बस भनेर । तर, अभ्यासले प्रमाणित गर्यो कि जनतासँगै धेरै उठबस गरेर जब नेता त्यस्तै बन्छ, अनि पार्टी सकियो । किनभने, नेता त्यो हो , जसले जनतालाई एकताबद्ध तुल्याउँछ , सँगै हिँडाउँछ । उनीहरुलाई बाटो पनि देखाउँछ । लक्ष्य किटान गर्छ । त्यसको प्राप्तिको बाटो पहिल्याउँछ । तर, हाम्रोमा को नेता , को जनता प्रष्ट भएन । कार्यकर्ता, नेता सबै आकृतिविहीन मतदातामा परिणत भए । फलस्वरुप, चुनाव उठ्ने, जित्ने भन्दा पर कुनै लक्ष्य नै भएन । त्यसैले यसभन्दा पर्तिर लक्ष्य राखेर मतदाता र नेताबीचको भिन्नता प्रष्ट छुट्टिने गरी संगठन निर्माण गर्नुपर्छ । हामी नेता र मन्त्रीहरुलाई अंकुश लगाउने पार्टी संगठन बन्नुपर्छ , त्यो सर्वहारामा आधारित पनि हुनुपर्छ । त्यो सम्भव छ । यसो गर्नुको विकल्प पनि छैन । किनभने, हाम्रो समाजवादको लक्ष्य अहिलेकै संगठन शैली र कार्यशैलीबाट सम्भव छैन ।
(माओवादी केन्द्रका नेता एवम् झापा १ का सांसद कार्कीसँगको कुराकानीमा आधारित)