विराटनगर । चुस्त व्यवस्थापनमा अस्पतालहरुले रुचि नदेखाउँदा स्वास्थ्य विमामार्फत उपचार गराउन स्वास्थ्य प्रतिष्ठान पुग्ने सर्वसाधारण सास्ती सहन बाध्य बनेका छन् ।
स्वास्थ्य समस्याले पिरोलिएर अस्पताल पुग्ने विरामीलाई विमामार्फत उपचार प्रबन्ध सजिलै मिलाउन सधैं सकस पर्ने गरेको छ । अस्पतालमा भोग्नुपर्ने झन्झट, अधिक भीडका कारण ज्यादै लामो प्रतिक्षापछि मात्रै आउने पालो लगायतका समस्याले सर्वसाधारण हैरान बन्दै आएका छन् ।
‘स्वास्थ्य विमाले सुविधा भएको भन्ने कि दुःख भएको भन्ने नै टुंगो भएन’ मोरङ बुढीगंगा – ४ नेमुवाकी २७ वर्षीया निता भट्टराईले हाम्रोमतसँग भनिन् ‘पालो कुरेर डाक्टर भेट्न नै ठूलो महाभारत हुने भएपछि यसले सुविधा दिएको भन्नु कि सास्ती ?’ अचानक पेट दुखेपछि विराटनगरस्थित कोशी अस्पताल धाएको तीन दिन भइसक्यो तर यो तीन दिनमा उनले आफ्नो समस्या विशेषज्ञ चिकित्सकलाई देखाउन–सुनाउन पाएकी छैनन् ।
‘अस्पतालमा अधिक भीड छ । पहिलो दिन शुक्रबार लाइनमा बसेर चिकित्सकलाई देखाउन पूर्जा काटेँ त्यसदिन दिनभरी लाइनमा बसेँ तर पालो आएन ’, उनले भनिन् ‘आइतबार १० बजे अस्पतालको लाइनमा बसँे । १२ बजेतिर पालो आयो र चिकित्सकले स्वास्थ्य जाँच गरेपछि भिडियो एक्सरे गर्न भन्नुभयो । भीड यति थियो कि आइतबार साँझ मात्र पालो आयो ।’ उनका अनुसार त्यसदिन रिपोर्ट चिकित्सकलाई देखाउन पाइएन । सोमबार १० बजेपछि पुनः अस्पताल आएर लाइन्मा लागिन् । दिउँसोको १ बज्न लाग्दासम्म पनि उनको पालो आएको थिएन । ‘विरामी मान्छेलाई बीमाले झन विरामी बनाइसक्यो, पालो आउँदैन्’, उनले सुनाइन् ‘जहिले उपचार गर्न आयो यस्तै भीड हुन्छ । विमाले धुरूक्कै रूवायो । झन्झटिलो प्रक्रियाले गर्दा धेरै सास्ती भयो ।’
कोशी अस्पतालको ओपिडीमा भेटिएका ७५ बर्षीय नारायणप्रसाद सुवेदीको गुनासो पनि ठ्याक्कै नितासँग मिल्दोजुल्दो छ । स्वास्थ्य बीमाको सेवा ज्यादै झन्झटलाग्दो भएको उनले बताए । सोमबार उपचार गराउन अस्पताल आएका सुवेदीलाई ज्वरो, रूघा र छाती दुख्ने समस्या छ । अस्पतालमा धेरै भीड भएको र ज्येष्ठ नागरिकको छुट्टै लाइन नभएकाले तीन चार घण्टा बस्दा पनि पालो नआएको उनले गुनासो गरे । ‘वृद्ध मान्छे लाइनमा बसेको ३÷४ घण्टा भइसक्यो पालो आउँदैन । अस्पताल भित्र भद्रगोल छ’ उनले भने ‘कोभिड दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ त झन् खतरा बढेको देख्छु ।’
अर्की ज्येष्ठ नागरिक देवकुमारी पन्तको पनि उस्तै गुनासो छ । ‘यसअघि एकै दिनमा स्वास्थ्य बीमाको कार्डले स्वास्थ्य जाँच गर्न पाइन्थ्यो । अहिले २÷३ दिनपछि मात्र पालो आउँछ । भीडभाडले गर्दा त्यो पनि राम्रोसँग डाक्टर भेट्न र कुरा गर्न पाइँदैन,’ उनले भनिन् । स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी भए पनि सेवा प्रकिया भने झन्झटिलो भएको सेवाग्राहीको गुनासो छ । प्रदेश १ का स्वास्थ्य बिमा सञ्चालन भएका अधिकांश अस्पतालमा उपचार गराउन आएकाहरुले सेवा प्रक्रिया झन्झटिलो हुँदा हप्तांैसम्म अस्पताल धाउनु पर्ने बाध्यता छ ।
यसरी अस्पतालमा पाइने सास्ती खेपिरहेका विरामीले औषधि पसलमा खेप्ने समस्या अर्को छ । सामान्य रोगको औषधि पाए पनि कडा रोगको औषधि पनि स्वास्थ्य बिमा कार्डबाट नपाउने उनीहरुले बताए ।
‘एकहप्ता देखि गाइनो सम्बन्धी समस्या भएर कोशी अस्पताल आएको थिएँ,’ सेवाग्राही इन्दु देवकोटाले भनिन्, ‘पाठेघरको ओभरीको भिडियो एक्सरे गर्न अस्पतालले भन्यो । तर अस्पतालमा त्यो एक्सरे हुन नसकेपछि मलाई बाहिर भिडियो एक्सेरे गर्न भनियो । क्लिनिकमा उपचार गर्न आर्थिक अभाव थियो ।’ त्यसपछि उनले आफूलाई अन्य अस्पतालमा रेफर गर्न अस्पताल प्रशासन र चिकित्सकलाई अनुरोध गरिन् । चिकित्सकले अस्पताल प्रशासनसँग रेफर गर्न भने । अस्पताल प्रशासनले चिकित्सकसँग रेफर लेखाएर ल्याउनु भन्दाभन्दै एकहप्ता बित्यो । ‘मैले विमामार्फत भिडियो एक्सरे गर्न पाइनँ’, उनले भनिन् ‘यसरी एक हप्ता बितिसक्यो ।’
प्रदेशमा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी भए पनि सेवा प्रक्रिया झन्झटिलो भएको छ । कर्मचारीको अभाव र कागजपत्र मिलाउन समय लाग्ने भएकाले स्वास्थ्य विमाबाट उपचार गराउन सेवाग्राहीलाई झन्झटिलो भएको हो । स्वास्थ्य विमा गरेमा ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार गर्न सकिने प्रावधान छ । तर, सरकारी सहयोग नपाउँदा स्वास्थ्य विमा कार्यक्रम व्यवस्थापनमा समस्या भएको अस्पतालको भनाइ छ ।
कोशी अस्पतालका प्रमुख डा. चुमनलाल दासले विरामीको संख्या बढेका कारणले भीड भएको बताए । ‘अहिले दैनिक १ हजार देखि १२ सय विरामी आउने गरेका छन् । त्यही भएर भीडभाड भएको हो,’ उनले भने, ‘सेवाग्राहीको संख्या बढेको कारणले टिकट र पूर्जा लिने काउन्टर थप गर्ने तयारी गरिएको छ ।’ काउन्टर बिस्तार गरेपछि सेवाग्राहीले छिटो र छरितो सेवा पाउने अस्पतालको भनाइ छ । दासका अनुसार अस्पताल आउने ज्येष्ठ नागरिकको लागि छुट्टै काउन्टरको पनि व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।
नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जना विमा कार्यक्रममा समाहित छन् भने प्रदेश एकमा १३ लाख ७५ हजार ६ सय ८२ जनाले विमा गराएका छन् । प्रदेश १ मा ९८ वटा अस्पतालबाट विमितहरुले सेवा पाउँछन् । सरकारी ७२, निजी २१ र सामुदायिक पाँचवटा अस्पतालबाट उपचार सेवा पाएका छन् ।