गणेश लम्साल
नगरबाट उपमहानगर हँुदै महानगर बनेको विराटनगर संघीयता कार्यान्व्यनसँगै प्रदेश १ को राजधानी बनिसकेको छ । इतिहास अनुसार विराटनगर औगोगिक– आर्थिक मात्र नभएर राजनैतिक , प्रशासनिकदेखि सामाजिक र साँस्कृतिक विकासका लागि देशकै एउटा अगुवा ‘पायोनियर सिटी’ पनि हो ।
तर, हिजो विराटनगर जति धेरै ‘पायोनियर सिटी (अगुवा शहर)’का रुपमा चर्चामा थियो त्यो अवस्था अहिले चाँही छैन । हिजो विराटनगर जो बोल्थ्यो त्यो देशभरिले कान ठाडो लगाएर सुन्ने गर्दथ्यो र त्यसैलाई पछयाउँथ्याो । तर आजकल विराटनगर आफना लागि मात्र पनि बोल्न सक्दैन । बोलिरहेको छैन । यसैले विराटनगर आजकल झन्झन् कमजोर बनिरहेको छ । लोभ र लाभमा परेर ठूलै अदृष्य शक्त्तिले मात्र हो विराटनगरलाई प्रदेशको राजधानी बनाएको । तर, अझैपनि विराटनगर सचेत भएन भने संरचनाहरु आसपासका पालिका र शहरमा विकेन्द्रित हुदैनन् भन्न सकिदैन ।
देशकै पहिलो र ठूलो उद्योग स्थापना भएको विराटनगर झन्झन् औधोगिक रुग्णता पनि भोगिरेहको छ । अवस्था यही रहेमा विराटनगर ऐतिहासिक औधोगिक नगरको पहिचान पनि छाडनुपर्ने बाध्यतामा आउने छ । अन्य नाकाहरुको विकास धेरै भएकोले र सँधैसँधै विराटनगर नाकाबाट सास्ती मात्रै पाइरहने हो भने यहाँको भन्सार नाका पनि रुग्ण अवस्थामा नपुग्ला भन्न सकिदैन । यसो भयो भने विराटनगर व्यापारिक नगरका रुपमा पनि पछि पर्नेछ । देशका चर्चित औधोगिक घरानाहरुलाई बसोवास गराएको विराटनगर बिस्तारै उनीहरुलाई पलायन गराउन अझै बाध्य हँुदै जानेछ ।
विराटनगर देशमा पहिलो पटक प्रजातान्त्रिक आन्दोलनको बिगुल बजेको नगर हो । जुन बिगुलले देशमा प्रजातन्त्र बहाली गराउन सघायो । तर आजकल त्यो विराटनगर जाँगर गुमाएर गलेको अवस्थामा छ । लाग्छ अब विराटनगर बुढो भयो । बोल्न सक्दैन । सामुहिक अभियानमा हातेमालो गर्न सक्दैन । आफ्नो बाहेक सामुहिक स्वार्थका लागि केही गर्न चाहदैन ।
विराटनगर त्यो शहर हो जहाँबाट कला साहित्य मात्र नभएर नाटक र कलाकारहरु पनि देशभरि फैलिएका थिए । उनीहरुले प्रसिद्धि मात्र कमाएनन् नेतृत्व पनि गरे । खेलाडी ,प्रशिक्षक र विज्ञहरु देशभरिका अब्बल कहलिए ।
देशमै चर्चित सचेत नागरिकहरुले स्थापना गरेको विराटनगरको एलिट क्लब आजकल औपचारिकतामा सीमित हुन पुगेको छ । झण्डै मृत अवस्थामा पुगेको त्यो क्लबलाई शुभेच्छुक उत्तराधिकारीहरुले जेनतेन जोगाएर राखिरहेका छन् । तर, जुनरुपमा त्यसको विकास हुनुपर्ने हो भएको छैन ।
हुन त उपबाट महानगर हँुदै प्रदेशको राजधानी बनेपछि विराटनगरको क्षेत्रफल पनि बिस्तार भएको छ । जनधनत्व पनि बढेको छ । भौतिक संरचनाहरु पनि धमाधम निर्माण हुनेक्रम बढ्दो छ । सडकहरु चिल्लिएका छन् । व्यपारिक महलहरु खुलेका छन् । तरपनि पहिलेको ‘पायोनियर’ विराटनगरले किन हो आफ्नो ऐतिहासिक नेतृत्व क्षमता र विकासमा साझा अग्रसरता भने गुमाउदै गइरहेको छ ।
विराटनगर आज आफूलाई प्रदेशको राजधानी र महानगर हुँ भनेर मख्ख परेर बसेको छ । महानगरलाई कसरी नमूना बनाउन सकिन्छ भनेर कहिल्यै सामुहिक रुपमा सोचेको छैन । कहिल्यै पायोनियरको उपाधि कसरी जोगाइराख्ने र अझै नमुना बन्ने भनेर विकासका लागि साझा एजेण्डा तय गर्न चाहिरहेको छ । हातेमलो गर्दै नमूना विराटनगरको अभियान चालालउन मानिरहेको छैन । खै किन हो विराटनगर आजकल बोल्दैन वा बोल्न सक्दैन । विराटनगरबासीहरु कथित बुद्धिजीवी र पढेलेखेका र पहुँचवाला भएपनि उनीहरुमा जागरण छैन । सामुहिकतामा विश्वास गर्दैैनन् ।
विराटनगरमा अरबौंको निर्माण परियोजना सम्पन्न भैसकेको छ । तर वर्षौ लगाएर निर्माण सम्पन्न गरिसक्दा अझै विराटनगरमा डुबानको समस्या हटेको छैन किन होला ? झलक्क हेर्दा चोकहरुमा सिमेन्टका गाछी बनाएको, सडकमा ढुङगामाथि झार उमारेको र फलामे रेलिङमा गमलामा फुल रोपेको देखेपछि आहा ! विराटनगर त नयाँ बनेछ भन्ने लाग्न पनि सक्छ । तर, यहाँका ‘स्लम’( शहरी गरीब) एरियाहरुको अवस्था अझै दयनीय छ । कतिपय एरियामा खानेपानी र शौचालयको प्रबन्ध समेत हुनसकेको छैन । शिक्षा र स्वास्थ्यको अवस्था पनि नाजुक छ । मातृ, शिशु सुरक्षा र कुपोषणको अवस्था कायमै छ । फोहोरमैला व्यववस्थापन अझै प्रभावकारी हुन सकेको छैन । वर्षौ पहिले जारी भएको फोहोरमैला निर्देशिका कार्यान्वयन नहुँदा बेथिति उस्तै छ । अझै विराटनगर महिला हिंसा र बालश्रम शोषणमुक्त नगर व्यवहारमा देखापर्न सकेको छैन । यहाँको समग्र खानेपानीको अवस्था अझै स्वच्छ र शुद्ध हुन सकेको छैन ।
शान्तिसुरक्षाको अवस्थामा सुधार आएपनि अझै ढुक्क पर्ने अवस्था भैसकेको छैन । यहाँको ट्राफिक व्यवस्थापन अझै भद्रगोल अवस्थामै छ । ट्राफिक नियम पालना गर्ने गराउने जिम्मा प्रहरीको मात्र हो भन्ने पुरानो बुझाइ उस्तै छ । अझै यहाँ सडक पेटीमा हिडेर अनुशासित नागरिक बन्नुको साटो सडक ढाकेर पङ्तिमा हिडेर शहरीयाको फुर्ति लगाउने ढर्रा हावी नै छ । यहाँ विकासमा मात्र नभएर प्रशासनिक सेवा र न्याय अनि राजनैतिक क्षेत्रमा अझै पहुँचवालाहरुको मात्र बोलवाला कायमै छ । अथक प्रयास भैरहेपनि अझै विराटनगर शिक्षा र स्वास्थ्यको क्षेत्रमा ‘पायोनियर’ बन्न सकिरहेको छैन । यहाँ नदीनाला, र पुरातात्विक संरचनाहरुको सौन्दर्यीकरण हुन सकेको छैन । संकटमा रहेको ऐतिहासिक विराटनगर जुटमिललाई संग्राहलय बनाउन चासो देखिएको छैन । ठूल्ठूला टावर बनाएर पैसा कमाउने योजना ल्याउनमा जनप्रनिधिहरुको धेरै चासो छ तर विराटनगरलाई बाहिरी रुपमा मात्र हैन भित्रीरुपमा पनि सौन्दर्यकरण गराउन सकेमात्र नमूना बन्न सक्छ भन्ने बुझाइ अझै प्रस्ट भैसकेको छैन । देखावटी भौतिक विकासले मात्रै पुग्दैन , भौतिक समाजिक , साँस्कृतिक आर्थिकसँगै मानवीय विकास पनि समान रुपले हुनुपर्छ भन्ने अवधारणको अझै विकास हुन बाँकी नै छ ।
साँच्चै विराटनगरलाई ‘पायोनियर सिटी’ बनाइराख्ने हो भने अब विकासका साझेदारहरुले एक ठाउँमा आएर साझा एजेण्डा तय गरेर हातेमालो अभियान चलाउन आवश्यक छ । उक्त अभियानमा उद्योगी व्यापारी, सञ्चार जगत , नागरिक समाज , विज्ञ अनि राजनैतिक नेता कार्यकर्ताहरु सबै सहभागी हुन जरुरी छ । अब सँधै उद्योगी व्यापारीहरुले मात्र डेलिगेसन गैदिएको भरमा मात्र विकासका साझा एजेण्डा उठ्न सक्दैनन् ।