विराटनगर । कृषि पेशामा आश्रित सुनसरीको देवानगञ्ज गाउँपालिकाका स्थानीय पछिल्लो समयको बाँदर आतङ्कका कारण चिन्तित बनेका छन् ।
चार वर्षयता गाउँमा विध्वंश मच्याउँदै आएका बाँदरहरु हाल स्थानीय बासिन्दाको घर र खेतमै पस्न थालेपछि स्थानीय कृषक चिन्तित बनेका हुन् । बिशेषगरि देवानगञ्ज गाउँपालिकास्थित वडा नं. २, ३ र ४ का स्थानीयलाई बाँदर आतङ्कले आजित बनाएको छ । खेतमा लगाएको मकै, बोडी, पर्वल, लौका र करेला लगायतका तरकारी तथा अन्य अन्नबालीहरु समेत बाँदरहरुले नष्ट गरिदिने गरेको स्थानीयले बताएका छन् । बाँदरहरुले घरभित्र भएको भाँडाबर्तन, लुगाफाटा र पकाएको खाना समेत लगिदिने गरेको देवानगञ्ज ४ का सुरेश कुमार मेहताले बताए । ‘यी बाँदरहरु जसको खेतमा जान्छन, उनीहरुको केही बच्दैन । सबै सखाप पारिदिन्छन,’ उनले भने, ‘हामी व्यावसायिक कृषिकर्म गर्दै आएका किसान हौं । तर बाँदर आतङ्कका कारण हामीले आफ्नो लागत समेत उठाउन सकेका छैनौं ।’
केही वर्ष अघिसम्म देवानगञ्जमा थोरै संख्यामा बाँदरहरु थिए । तर कृषिक्षेत्र र सामुदायिक तथा निजी वन विस्तारको क्रम बढेसँगै करिब ४ वर्षयता बाँदरहरुको संख्यामा अत्याधिक वृद्धि भएको हो । हाल देवानगञ्ज–४ स्थित शंकरपुर टोलमा मात्रै करिब २ सय बढी बाँदरहरु छन् । यी बाँदरहरु दक्षिण पश्चिमको जङ्गलबाट बसाई सर्दै गाउँ पसेको हुनसक्ने स्थानीयको आशङ्का छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाईने जनावरको रुपमा सुचीकृत गरेको छ । तर उचित संरक्षण र व्यवस्थापनको अभावमा यी बाँदरहरु स्थानीय कृषकका लागि उल्टै टाउको दुखाईको बिषय बनेका छन् ।
बाँदरहरुको उचित व्यवस्थापन गरि समस्याको दीर्घकालीन समाधान गरिपाउँ भनी स्थानीयले देवानगञ्ज गाउँपालिका र सुनसरी प्रशासनको समेत ध्यानकर्षण गराईसकेका छन् । तर सम्बन्धित निकायको अग्रसरताको अभावमा स्थानीयले हालसम्म समस्या निराकरणको संकेत पाउन सकेका छैनन् । बाँदरको समस्या समाधानमा दुवै निकायको चासो नदेखिदा विगत झैं यसपटक पनि बाँदरले अन्न, तरकारी तथा फलफुल बाली सखाप बनाईदिएको स्थानीय गोपाल प्रसाद मेहताले बताए । ‘गाउँपालिकादेखि जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराईसकेका छौं । तर कतै सुनुवाई भएको छैन,’ उनले भने, ‘विगत झैं यसपटक पनि आँप, लिची, कटहर र केरा लगायतका फलफुल बालीहरु सखाप भएको छ । न खान पाएका छौं, न बेच्न ।’
विगतमा स्थानीयले बाँदर धपाएर बाली संरक्षण गर्दै आएका थिए । त्यतिखेर बाँदरहरुको संख्या पनि थोरै थियो । तर बाँदरहरुको संख्या बढ्दै गएपछि हाल स्थानीयहरु उल्टै बाँदर आक्रमणको सिकार हुुन थालेका छन् । बाँदर धपाउन जाँदा पछिल्लो महिना दिनको अवधिमा मात्रै देवानगञ्ज–४ स्थित शंकरपुरका १० जना स्थानीय घाईते भएका छन् । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य भईसकेको छ । तर देवानगञ्जमा रहेको बाँदर आतङ्क र बाँदरहरुको संरक्षण तथा व्यवस्थापनको सवालमा भने स्थानीय बासिन्दा वा गाउँपालिकाबाट कुनै प्रकारको लिखित निवेदन प्राप्त नभएकाले हालसम्म कुनै ठोस कदम नचालिएको हरिनगरा सब डिभिजन वन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए । उनले भने, ‘यी जनावरहरु जङ्गलबाट भागेर आएका हुन् । बाँदर आतङ्क बारे हामीलाई खबर छ । यसको व्यवस्थापनका लागि कोशी टप्पु वन्यजन्तु आरक्षसँगको समन्वयमा हामीले छिट्टै ठोस पहल गर्नेछौं ।’
तराई क्षेत्रमा निजी तथा सामुदायिक वन विकासको सुरुवातसँगै जङ्गली जनावरहरु यतातर्फ आर्कषित हुन थालेको जिल्ला वन कार्यालयको अध्ययन छ । झन पछिल्लोे समय सुनसरीमा व्यावसायिक उखु खेती हुन थालेपछि जङ्गली जनावरहरुले बासस्थान परिवर्तन गर्ने क्रम बढेको कार्यालयले जनाएको छ ।