गणेश लम्साल
१ जेठ २०७८ मा मोवाइलको सिम चोरी आरोपमा छिमेकी महिलाहरुको कुटपिटबाट मोरङ कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीकी २५ वर्षीया शोभा दर्जीले मानसिक सन्तुलन गुमाइन् । उनी गाउँमा बवबराउदै ‘नाङ्गै भुतुङ्गै’ हिँड्न थालिन् । खोलामा गिट्टी कुटेर गुजारा चलाउने शोभाका आफन्तहरुले न त समयमै उपचार गराउनसके न त अन्यायविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएर न्याय खोज्न नै सके । बरु छोरीलाई सम्हालेर राख्न नसकेको भन्दै कुटपिट गर्नेहरुकै उक्साहटमा ‘छोरीलाई सम्हालेर राख, नत्र ल्याएर थुनिदिन्छु’ भन्ने प्रहरीको मौखिक धम्की खेप्न बाध्य भए । प्रहरीले चेतावनी दिएपछि आमाबाबु र श्रीमान्ले शोभालाई घरमै बाँधेर राख्नथाले । तर, जातीय विभेदयुक्त गालीगलौज सहेकी र मरणासन्न कुटपिटबाट घाइते भएकी शोभा मानसिक रुपले बिक्षिप्त मात्र भएकी थिइनन् । समयमा उपचार हुन नसक्दा उनी समान्य मानसिक समस्याबाट कडा खाले मनोरोगी (पागल) बन्न पुगिसकेकी थिइन् ।
‘एक कान दो कान मैदान’ हुँदै घटना सार्वजनिक भएरै छाड्यो । त्यसपछि अधिकारकर्मीहरुले पीडित परिवारलाई प्रहरीमा किटानी जाहेरी दिन लगाए । चन्दा संकलन गरेर शोभालाई उपचारका लागि अस्पताल पठाए । मानसिक सन्तुलन गुमाएकी र तीन महिनाको गर्भसमेत धारण गरेकी शोभाको एक महिना ढिलो गरि असार पाहिलो हप्ता मात्र बल्ल उपचार सुरु भयो । तर, गर्भवती भएकोले उनको उपचार सहज भएन । धरानस्थित विपी प्रतिष्ठानको मानसिक विभागमा उनको उपचार सुरु भएसँगै जटिलता पनि थपिदैगयो । उनलाई आइसिुयुमा भर्ना गरेर उपचार गर्नुपर्ने बाध्यता आयो । अधिकारकर्मीहरुको हारगुहारमा अस्पतालले शोभाको उपचारमा सकेको सहयोग गरिरहेको छ । तर, बाहिर विभिन्न ‘टेष्ट’ गराउनुपर्ने र औषधी खरिद गर्नुपर्ने बाध्यताले गर्दा दर्जी परिवार ‘ईन्तु न चिन्तु ’को अवस्था झेल्न बाध्य भैरहेको छ ।
शुन्य सहनशिलताभित्रको कसुर भएकोले प्रहरी किटानी जाहेरी दर्ता गर्न बाध्य भयो । तर, तुरुन्तै आरोपीहरु पक्राउ गरेन । फेरि चर्को खबरदारीपछि प्रहरीले दुई जना मात्र आरोपीलाई पक्राउ ग¥यो । दुई जना फरार भए । घटनाबारे थोरै र कम पहुँच भएका अधिकारकर्मीहरुले मात्र चासो राखे । मानव अधिकार आयोग, महिला आयोग र अन्य न्यायसँग सम्बन्धित सरोकारवालाहरुले निर्धामाथि भएको चरम अन्याय पनि मानव अधिकार उल्लंघन हो भन्ने बुझ्न चाहेनन् । यसैले कोही पनि घटना अनुगमनमा गएन । सञ्चार माध्यममा घटना सार्वजनिक भएपछि ढिलो गरि दलित आयोगको टोली सुटुक्क अनुगमनमा आयो र गयो । तर, पीडित र उनको परिवारको संरक्षण र सम्बद्र्धन गर्न र कानूनी सहायता दिलाउन कुनै पहल गरेन ।
प्रहरीले कसरी अनुसन्धान ग¥यो र के प्रमाणहरु संकलन भए र के बाँकी छन् भनेर बुझ्ने तथा सहयोग गर्ने कोही भएन । प्रहरीले ३० असारमा हदम्याद अनुसार अनुसन्धान सकेर मुद्दा अदालतमा बुझायो । ३१ असारमा अदालतबाट आरोपीहरु २६ वर्षीया पुष्पा र २५ वर्षीया निरमाया मगर जनही २५ हजार धरौटीमा छाडिए । फरार रहेका ५४ वर्षीया बिन्दा, ३० वर्षीया बबिता मगर अदालतमा हाजिर भएकै छैनन् । उनीहरु पनि धरौटीमा छाडिनेछन् ।
शोभा विपी प्रतिष्ठानमा अचेत अवस्थामा छन् । उनको तीन महिनाको गर्भ ३० असारमा खेर गयो । उनको जीवन बच्ने हो कि होइन अझै निश्चित भइसकेको छैन । आमा विष्ण्ुामाया, बाबु हर्कबहादुर र श्रीमान उमेश घरिघरि आँखा उघारेर हेर्न थालेकोले शोभाको जीवन बाच्नेछ भन्ने आशामा अस्पतालमा कुरिरहेका छन् । कुटपिटबाट मानसिक रोगी बनेकी शोभा निको भएर घर फर्किन् भनेपनि उनले जिवनभरि औषधी सेवन गरिरहनुपर्ने छ । कम्तीमा पनि उनलाई औषधी सेवनमा मात्र ३ देखि ५ हजार मासिक खर्च लाग्नेछ । अझै केही वर्ष उनी काम गर्न सक्षम हुने छैनन् । परिवारको राम्रो माया स्नेह र पोषणयुक्त खाना अनि ‘डोज’ अनुसारको औषधी नियमित पाउन सकिनन् भने शोभाको रोग फेरि बल्झिनेछ । र, उनी फेरि बर्बराउदै ‘नाङ्गै भुतुङ्गै’ भौतारिनेछिन् । र अभावको दबाबले गर्दा आफन्तले फेरि उनलाई बाँधेर राख्न बाध्य हुनेछ ।
शोभाले न्यायको अनुभुति गर्न पाइन् त ? के अदालतले प्रतिवादाीलाई धरौटीमा छाडेको आदेश उच्चमा पुनरावेदन गर्न आवश्यक छैन ? गर्भ खेर जाने गरि भएको कुटपिटको छुट्टै मुद्दा लाग्दैन ? शोभाको मुद्दा पुनरावेदन गर्न निःशुल्क कानुनी सहायता कस्ले गरिदिने ? उनको उपचारमा लागेको लाखौं रुपैयाँको खर्च बेहोर्ने जिम्मेवारी कसको हो ? उनको जिवनभरि खानुपर्ने औषधीको व्यावस्था कस्ले गरिदिने ? धरौटीमा छाडिएका पीडकहरुबाट उनको थप सुरक्षा कसरी गर्ने ? यसका लागि सचेत सहयोगी बन्ने जिम्मेवारी कस्को ? शोभा र उनको परिवारले भोगेको जातीय विभेदको असर र प्रभावबारे गहिरिएर सोचौं त ।