विराटनगर । के नेपाली कांग्रेसको आगामि महाधिवेशनबाट शेखर कोइराला सभापति हुन्छन् ? कोइराला परिवार एक भएर उनलाई नै समर्थन गर्नसक्ने सम्भावना कति छ ? यदि सभापति भएभने कांग्रेसको भविश्य कस्तो हुनेछ ? लगायतका दर्जनौं प्रश्नका उत्तरको खोजीमा छन् मोरङबासी ।
कोइराला परिवार र कांग्रेस पार्टीसँग विराटनगरको नाता लामो छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन हुनुभन्दा अगाडिसम्म विराटनगरले जे बोल्छ देशमा त्यही हुन्छ भन्ने सन्देश थियो । तर, अहिले त्यो सन्देश खण्डित भइरहेको छ ।
नेपाली कांग्रेस, कोइराला परिवार र मोरङ जिल्ला वा विराटनगरलाई कतिपयले एकअर्काका पूरकका रुपमा हेर्ने गरेका छन् । कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो ।
२०४६ सालपछिका संसदीय चुनाव र त्यसयताका अधिकांश चुनावमा मोरङमा कांग्रेसको प्रभाव सधैँ बलियो हुने गरेको थियो । २०७० सालको संविधानसभा चुनावमा ९ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटामा कांग्रेस विजयी भएको थियो ।
दोस्रो जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा चाहिँ सात मध्ये एक मात्र क्षेत्रमा कांग्रेस विजयी भएको थियो । बाँकी क्षेत्रमा माओवादी र तराई केन्द्रित दलहरुले जितेका थिए ।
०७४ सालको निर्वाचनमा मोरङमा प्रतिनिधिसभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेस १ सिटमा खुम्चिन बाध्य भयो । १२ मध्ये ४ वटामा मात्रै प्रदेशसभा सदस्यको निर्वाचनमा जितेको थियो । देशव्यापी हार व्यहोरिरहँदा कांग्रेसले मोरङमा पनि सोही प्रकृतिको हार व्यहोरेको थियो । यद्यपि अहिले कांग्रेसको अवस्था सुधारोन्मुख छ ।
पार्टीको साख वाम गठबन्धनले भत्काइ दिएपछि कांग्रेसभित्र एक किसिमको अप्ठ्यारो महसुस त भइनै रहेको त त्यसमाथि पनि कोइराला परिवारको बिरासत चुनौतिपूर्ण बनेको छ । यसले सबैभन्दा बढी दबाबमा राखेको छ भने उनै शेखर कोइरालालाई राखेको छ ।
जसका कारण पनि शेखर कोइराला यस पटक कांग्रेसको सभापति भएको हेर्न चाहन्छन् यहाँका कांग्रेसीहरू । प्रष्ट बोल्ने स्वभावका कोइराला बौद्धिक र कुटनीतिक ढंगले आफूलाई अब्बल ठान्छन् । उनले बोलेका र विश्लेषण गरेका कतिपय कुराहरु पुरा पनि हुँदै गएका छन् । शान्ति प्रक्रियामा पार्टी नेतृत्व गरिरहेका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई गरेको सहयोग वा संविधान जारी गर्दा भएको उनको सक्रियताप्रति यहाँका कांग्रेसीहरु सन्तुष्ट छन् । यद्यपि कोइराला गुटगत क्रियाकलापले कतिपय कांग्रेसीहरु भने अन्यायमा परेको र त्यो शेखर कोइराला नै रहेको भन्दै कतिपय कांग्रेस कार्यकर्ताले गुनासो गर्ने गरेका छन् ।
मोरङ र विराटनगरमा कोइराला विराशत धान्न सक्ने नेता उनै हुन् । देखिएका सभापतिका आकांक्षी विपी पुत्र सशांक कोइरालाको विराटनगरसँग कुनै बेला भावनात्मक सम्बन्ध भएपनि अहिले टुट्दै गएको छ । किनकी उनी काठमाडौं छोड्दैनन् । विराटनगरमा निर्वाचन लड्ने त कुरै छोडौं, विराटनगरका कार्यकर्ताको रक्षाकवच पनि खासै बनेका छैनन् । यस्तै गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाबाट पनि त्यो बिरासत धानिन सक्ने अवस्था नरहेको स्वयं कांग्रेस कार्यकर्ता बताउँछन् । यसर्थ पनि विराटनगर र मोरङबासीले रुचाएका नेता शेखर कोइराला बन्नेमा शंका छैन । तर, उनी सभापति हुनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय चलखेलले निर्धारण गर्नेछ । त्यतिकै मात्रामा कोइराला गुटमा हुने राजनीतिक खिचतानीको उपर्युक्त व्यवस्थापनले मात्रै उनलाई सहयोग पुग्नेछ । आफू सभापति बन्नका लागि शेखरले कति भूमिका खेल्नसक्छन् त्यो भने हेर्न बाँकी छ ।
तीन कोइरालाबीच छलफल
आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्ने विषयमा छलफल सुरु भएको छ । कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै तयारी तीव्र पारेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दाबी गर्ने बताउँदै आएकी छन् ।
कोइराला परिवारका यी तीन जना नै एकजुट नहुने अवस्था आएपछि परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास सुरु भएको हो । शनिबार दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशांक र सुजाताबीच लञ्च बैठक भयो ।
२ घण्टा लामो भएको छलफलमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार निर्माणपछिको राजनीतिक परिस्थितिबारे कुराकानी भएको नेतृ सुजाता कोइरालाले बताइन् । कोइराला परिवारको नेताबीच कुनै झगडा नरहेको भन्दै एकताको सन्देश दिन लञ्च मिटिङ गरिएको उनको भनाइ छ ।
पार्टीलाई कसरी जोगाउने भन्ने आफूहरुको एउटै उद्देश्य रहेको उनले बताइन् । ‘आउँदो चुनावमा पार्टीलाई कसरी सशक्त बनाएर लिएर जाने भन्ने चिन्ता सबैलाई छ’ उनले भनिन् । उनका अनुसार १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक जना मात्र उम्मेदवार बन्ने विषयमा छलफल केन्द्रित भएको थियो । हालसम्म शेखर र शशांकले आफू नै सभापतिको उम्मेद्वार हुनुपर्ने अडान राख्दै आएका छन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई १४ औं महाधिवेशनमा रोक्न आफ्नो उम्मेदवारी अपरिहार्य रहेको शशांकको भनाइ छ भने आफ्नो तयारी राम्रो रहेको र युवा नेताहरुले साथ दिने बचन दिएकाले देउवालाई हराउने उपयुक्त पात्र आफू नै भएको शेखरको दाबी छ ।