कुमार लुईटेल
‘जैसे कर्म तैसे फल’ अर्थात जस्तो कर्म गरिन्छ, फल पनि त्यस्तै प्राप्त हुने हो । कर्मअनुसारको स्वर्ग यहीँ छ न त नर्क नै टाढा छ । केपी ओलीलाई भएको त्यही हो । अब ओलीको आगमन र बहिर्गमन एउटा कंलकित इतिहासको रुपमा दर्ज भईसकेको छ ।
संवैधानिक व्यवस्थाका मापदण्ड भताभुङ्ग पार्ने कदम उनलाई ‘बा’ को फुर्को झुन्ड्याईदिनेका लागि मात्र पाच्य थियो । तर, स्पष्ट जनादेशबाट सत्तारोहण गरेका ओलीका पछिल्ला गतिविधिबाट भने जनता जनार्दन समेत वाक्कदिक्क भएका थिए । असंवैधानिक, अलोकतान्त्रिक र विधिको शासनविरुद्धका कदम किमार्थ स्वीकार्य थिएनन् । हुने पनि छैनन् ।
एउटा सवल अनि दह्रो चुनावी गठबन्धन । त्यसपछिको स्पष्ट बहुमत । कम्युनिष्ट मेलसहितको नेकपाको अध्यक्ष र दुईतिहाईको प्रधानमन्त्री । चाहेको भए इतिहसमा स्वर्णिम अक्षरमा नाम लेखिनेथियो । तर, अहंकारी र जिद्धि शासकलाई यो मान्य थिएन् ।
साढे तीन वर्ष सत्ताको ताज पहिरिएर विपक्षी नेतालाई जबरजस्ती छाड्नुपर्दाको क्षण ओलीका लागि बिर्सनयोग्य हुनेछन् । पार्टीभित्रको अन्तरकलह, संसद विघटन अनि आफैंले टिकट दिएर चुनाव जितेर सांसद बनेका सहकर्मी र सहधर्मी उनको सहनै नसकिने थिचोमिचोविरुद्ध गोलबन्द हुनुपर्यो । मथिगंल हल्लिएका अरिंगालको भुनभुनाहट सडकसम्म सुनियो । यद्यपि यो बेलाको बोली थिएन । अन्ततःराष्ट्रवासीको नाममा सम्बोधन गरेर ओली फेरि बालकोटतिर लागेका छन् ।
गल्तीको ढाकछोप गर्नकै लागि भएपनि राष्ट्रबासीको नाममा सम्बोधन गर्ने भन्दै उनले लोकतन्त्र, विधिपद्दति र प्रक्रियाको राग अलाप्न भ्याए । त्यसमा बहिर्गमनको कुण्ठा प्रष्टै सुनिन्थ्यो । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति ओली शुरुवातदेखि नै इमान्दर थिएनन् । सानो समूहको कोटरीबाट उनी बाहिर आउन चाहेनन् र सकेनन् पनि । भनिन्छ, मानिसको आदत र व्यवहार सम्बन्धित व्यक्तिले नचाही अरुले जति चाहे पनि परिवर्तन हुँदै हुँदैन् । अन्ततः ओली राष्ट्रपति जस्तो गरिमामय संस्थालाई समेत चरम विवादमा तानेर कुर्सीबाट ओर्लिएका छन् ।
ओलीले छाडेको कुर्सी उपहारमै भएपनि शेरबहादुर देउवालाई प्राप्त भएको छ । देउवा मात्र नभएर देउवालाई ‘दाई भन्ने कांग्रेसजन’का लागि यो ‘अफर’ प्राप्त भएको छ । भन्नुपर्दा देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर अदालतमा न्याय माग्न पुगेका बाँकी दललाई प्राप्त भएको छ । देउवाको स्वभाव, काम गराई अनि व्यक्तिवादी चरित्रप्रति नेपालीजन जानकार छन् । देउवाको विगत । सत्तारोहण र बहिर्गमन धेरैको मानसपटलमा ताजै छ् । उनले ‘अब के गर्लान ?’ धेरैको जिज्ञासा यहि छ ।
लोकतान्त्रिक पार्टीको सभापति भएर पनि विधि र सिद्धान्तअनुसार सञ्चालन गर्न नसकेको, विपक्षी हुँदा विपक्षीको धर्मसम्म निर्वाह नगरेको, संवैधानिक नियुक्तिका लागि ओलीसँग सारमा सार मिलाएर हिँडेको आदि धेरै आरोपको छिनोफानो अब उनले कसरी गर्लान् ? फेरि विगतदेखिकै कांग्रेसभित्रको राजनीतिको किचलोबीच नै ‘अफर’मा प्राप्त भएको कुर्सीको साख उनले जोगाउन सक्लान् ? आमरुपमा योे प्रश्न उठ्न शुरु भईसकेको छ ।
खासमा देउवा र देउवाजनहरुले कुर्सी पाइयो भनेर नपलाप्पिएकै वेश । किनभने कोरोना महामारीमा पिल्सिएिका जनताको समस्या समाधान गर्नुपर्ने जिम्मेवारी, तीनै तहको चुनाव गर्नैपर्ने बाध्यता र आफ्नै दलभित्रको विवादलाई समाधान गर्नुपर्ने जिम्मेवारी पनि लिएर देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् । जनताले उनलाई पत्याएर, स्पष्ट जनमत दिएर सत्ता संचालनको बागडोर सम्हाल्न पठाएका हैनन् ।