लीलावल्लभ घिमिरे
देशको सबैभन्दा ठूलो पार्टीमा यति बेला बेमेल छ । त्यसको प्रमुख कारण दुई वटा घर बुढाबीचको जुङ्गाको लडाई । यो जुङ्गाको लडाई पनि बढा अनौठो हुँदोरहेछ । नामको पार्टी छ । त्योपनि साम्यवादी । जबज उसको मुल सिद्धान्त । जन्मेदेखि अहिलेसम्म बिच लाइनको संर्घष गर्दै आएको पार्टीमा यति बेला बेमेल विचार संघर्षको हैन जुङ्गाको मात्र हो । त्यही ज जुङ्गाको लडाईमा दुई हुल कमरेडहरु लामबद्ध हुनुहुन्छ । पार्टी संगठन गर्नु नपरेको चार वर्ष पुग्न लाग्यो । अहिले गुट बढाए भयो । यताका लाई उता तान्यो उताका लाई यता तानयो त्यसै मख्ख छन् कमरेडहरु ।
आजभोलि एकताका लागि दैनिक बैठकहरु बसिरहेका छन् । कुरा मिल्न खोज्छ । तर मिल्दैन् । राति अबेरसम्म मिल्ने खबर आउँछ । त्यसपछि अर्को खबर थप हुन्छ । सहमती नजिक छांै, भोली मिल्छौं । कुरा प्रष्ट छ कुनै विचारको बिषयको लडाई भए पो मिल्नु वार्ता । फगत जुङ्गाको लडाई जहिले मिलेपनि हुन्छ । प्रष्ट कुरा के छ भने मिल्नुको विकल्प छैन । तरपनि मिल्न धेरै कठिन भइरहेको छ । यसका प्रमुख दोषी केपी शर्मा ओली र माधव कुमार नेपाल नै हुन् ।
हाम्रो देशका राजनीतिक दलहरु परिपक्व बनिसकेका छैनन् भन्ने यो पछिल्लो उदाहरण हो । यहाँ दलभन्दा नेता ठूला छन् । दलको नीति र सिद्धान्तमा हैन नेताको सनकमा पार्टी चल्नु पर्छ । झोले कार्यकर्ताहरु त्यसैको पछाडी कुद्नु पर्छ । उनीहरुलाई त्यसैमा मस्ती छ ।
पार्टीको सिद्धान्तभन्दा फरक लाइनमा नेता हिडेपनि उनलाई त्यसको छुट हुन्छ । हिजोको पञ्चायती व्यवस्था र अहिले खासै फरक छैन । हिजो राजालाई जे लाग्यो अन्तिम सत्य त्यही हुन्थ्यो । आज व्यवास्था फेरिएको छ । पात्रका अनुहार फेरिएका छन् । तर प्रवृति हिजैको नै छ । यहाँ नेतालाई मन पर्नु पर्छ । गणेशले शिव पार्वतिको परिक्रममा गरे जस्तै आफ्ना वरिपरीका हनुमान सबै नेताका प्रिय छन् । कुमारहरु आज दरबार वरपर देख्न पाइदैन । अब दल आफ्नो सिद्धान्त र नीति भन्दा फरक तरीकाले चल्छन् । दल समूहको हैन व्यक्तिको सनकमा निर्देशित हुन्छ । त्यो पञ्चायत, दरबार, प्रजातन्त्र वा गणतन्त्र जुन शब्द प्रयोग गरेपनि त्यसबाट निस्कने परिणाम एउटै हुन्छ । त्यसमा भ्रम पर्नु भनेको झोले कार्यकर्ता बन्नु मात्र हो । यो नेकपा एमाले, माओवादी मात्र हैन आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने कांग्रेसमा पनि लागू हुन्छ । जब एउटा नेताले गल्ति गर्छ त्यसलाई पार्टी हो भने फ्याँकेर नयाँ नेतृत्व जन्माउन सक्ने पार्टी मात्र जीवन्त र प्रगतिशील हुन्छ । वास्तवमा एमालेलाई साँच्चीकै जनताको पार्टी बनाउने हो भने माधवकुमार नेपाल र केपी शर्मा ओली बिनाको एमाले नेपाली जनता र नेपालको भविष्य हुन सक्छ । नत्र यो पनि कुनै एउटा प्रजापरिषद् वा हिजो खुम्चीएको कांग्रेस भनौं या सकिन लागेको माओवादी त्यसमा खासै फरक हुदैन । साँच्चीकै जनताको पार्टी हो र अहिलेपनि जबजको सिद्धान्तमा अडिग छ भने एमालेमा दोस्रो तहका नेताहरुले यो पार्टीलाई जोगाउन सक्छन् त्यसको एक मात्र उपाय ओली नेपाललाई बिदाइ गर्नु हो ।
तर, त्यस्तो हुने अवस्था देखिदैन किन भने दोस्रो तहका नेताहरु जुन पदमा अहिले पुगेका छन् त्यो उनीहरुको क्षमता भन्दा उनै दुई नेताहरुको फेर समातेर पुगेका हुन् । ओली नेपालको बिदाइसँगै उनीहरु पनि बिदा हुने निश्चीत छ । किनकी उनीहरु कुमार हैनन् गणेश हुन् । गणेशहरुले संगठनमा हैन ‘बा’ हरुमा विश्वास राख्छन् ।
यीनै ‘बा’ कारण दुई तिहाइको सरकार गयो । नेकपा पार्टी सकियो । माओवादी अलग भयो । माधव नेपाल घरका न घाटका भए । सम्मानीत राष्ट्रपति मात्र हैन अदालत समेत विवादमा तानीयो । अब एमाले सकिदा केहि पनि हुनेवाला त छैन् । यसैमा गणेशहरु मख्ख छन् । ताली बजाइरहेका छन् । भोज खाइरहेका छन् । दुवै ‘बा’ हरुलाई उकासेर भड्काइरहेका छन् । न गरुन् पनि किन पार्टीमा क्षमता र संगठन गरेर त्यहाँ पुगेकै हैन । गुटबन्दी गर्दै बाहरुका फेरो समाएर त्यहाँ पुगेका छन् । उनीहरुलाई संगठन गर्ने राम,श्यामको मात्र हैन जबज कतै कुनामासमेत माया छैन । एक पटक ठान्डा दिमाग भएको बेला एउटा कपी र कलम लिनुहोस् , एका तर्फ पञ्चायत लेख्नुहोस् अर्को तर्फ गणतन्त्र लेखेर आफ्नो पार्टीको नाम एमाले वा माओवादी वा कांग्रेस जुन हो त्यही लेख्नुहोस् अनि पञ्चायतका नेताहरुका गुण र दोष लेख्न थाल्नुहोस् । अर्को तर्फ आफ्नो पार्टीका नेताहरुका गुण र दोष इमान्दारीताका साथ लेख्नुहोस् । ९० प्रतिशत भन्दा बढि मिलेनन् भने भन्नुहोला । तर, तपार्इाहरु यसो गर्न तयार हुनुहुन्न किनकी तपार्इँ अहिले पार्टीको जुन ठाउँमा हुनुहुन्छ त्यो तपाईँको इमान्दारिता, पार्टी, संगठन र क्षमताले हैन ‘बा’हरुको फेर नै समातेर आइपुग्नु भएको हो ।
अन्त्यमा विपी कोइरालाले भन्नुभएको एउटा भनाइ राख्दैछु । ‘प्रजातन्त्र स्थापना पछि पार्टीभित्र सुकिलामुकिलाहरुको हाबी हुने छ, त्यसबेला वास्तविक कार्यकर्ताहरुले पार्टीभित्रै संघर्ष गर्नुपर्छ ।’ यो भनाइ वीपीले कांग्रेसका लागि भनेका हुन् । तर, अहिले सबै पार्टीहरुका लागि उपयुक्त छ । त्यसैले एमालेमा पनि धेरै सुकिलामुकिलाहरु विरुद्ध वास्तविक कार्यकर्ताहरुले संघर्ष गर्ने बेला आएको छ । त्यो हुनेवाला छैन । भोलि एमाले एक हुन्छ, पर्सीबाट फेरी रोइलो सुरु हुन्छ । आगे कामरेडहरुको जो मर्जी !
Great post नेपाली राजनीति र राजनीतिक दलमा निति सिद्धान्तको व्यापक खडेरी मात्रै न भइ समाप्त नै भएको छ त्यहाँ दल बाकी नै छैन छ भने मात्रै गुटे दलाल ,चाकरकाे याेग्यता भएका हरुकाे नेताहरू काे समूह जसलाई न समाजबाद के हाे थाहा छ न साम्यवाद के हाे भन्ने थाहा छ थाहा मात्र के छ भने म फलानो नेताकाे मान्छे रुपि दलाल त्यसको परिणामस्वरूप राजनीति पूर्णरूपमा बिकृत भै सकेको छ दल भित्र दलाल बाहेक पार्टीको नाममा इमानदार कार्यकर्ता लाई बाच्नै गार्हो मात्रै हाेइन स्थापित हुनै असम्भव भै सकेको छ