कृषि अनुदान दुरुपयोग : बचत तथा ऋण सहकारीलाई कृषिको १ करोड अनुदान

अनुदान दुरुपयोगको लक्ष्य राखेरै कागजी ‘सेटिङ’मा कृषि, दुग्ध तथा व्यवसायमुखी सहकारी संघ/संस्था/समूहलाई दिने आफ्नै प्रस्ताव विपरीत मन्त्रालयले वित्तीय कारोबार गर्ने सहकारीलाई दियो अनुदान

विराटनगर । आफैंले बनाएको कृषि व्यवसाय प्रबद्र्धन अनुदान कार्यविधि–२०७६ तथा आफ्नै प्रस्ताव आव्हान विपरीत प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मोरङको रंगेलीस्थित एक सहकारीलाई अनुदान रकम वितरण गरेको पाइएको छ ।

कृषि मन्त्रालयले मोरङको रंगेली–७ मा रहेको ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.लाई हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रबद्र्धन कार्यक्रम संचालनका लागि भन्दै १ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

मन्त्रालयले प्रथम पटक २०७६ साउन २४ गते प्रस्ताव आव्हान गर्दै विभिन्न ९ वटा अनुदान कार्यक्रममा आवेदन माग गरेको थियो । सोही सूचना पुनः दोस्रो पटक २०७६ पुस ३ गते प्रकाशित गरिएको थियो । उक्त दुवै सूचनाको ६ नम्बर बुँदामा हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा प्रबद्र्धन कार्यक्रम (प्याकेज)को लागि प्रति प्याकेज १ करोडसम्म अनुदान रकम प्रस्ताव गरिएको छ ।

सूचनामा प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारहरूमा झापा, मोरङ र सुनसरी जिल्लाका हुलाकी मार्गसँग जोडिएका पालिकाहरुमा रहेका दूध उत्पादक कृषिक समूह/समिति/सहकारी संघ/संस्था भनिएको छ । तर, मन्त्रालयले आफ्नै सूचना विपरीत बचत तथा ऋण सहकारीलाई प्रस्ताव हाल्न लगाएर अनुदान रकम चालू आर्थिक वर्षमा भुक्तानी गरिएको पाइएको छ । मन्त्रालयका पशु चिकित्सक कुमार सिंह खत्रीको अग्रसरतामा अनुदान रकम वितरण गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।

मन्त्रालयले पुनः २०७६ फागुन २६ गते प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गर्दै हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा प्रबद्र्धन कार्यक्रमका लागि उत्सव कृषि सहकारी संस्था लि. झापा, ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. रंगेली र साना किसान महिला कृषि सहकारी संस्था लि बैगुनधारा झापा तथा मिल्किङ पार्लर स्थापनाका लागि स्वास्तीका दुग्ध फार्म विराटनगर छनौट गरिएको उल्लेख छ । छनौट भएका अन्य सहकारी कृषि र दुग्ध जोडिएको भएपनि ग्रामलक्ष्मी मात्रै बचत तथा ऋणको कारोबार गर्ने सहकारी हो ।

मन्त्रालयले अनुदानमा रकम उपलब्ध हुने ८४ वटा कार्यक्रमहरुको लिष्ट कृषि व्यवसाय प्रबद्र्धन अनुदान कार्यविधि–२०७६ मा उल्लेख छ । ८४ वटा कार्यक्रममध्ये ६१ नम्बरमा हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा बजारीकरण प्रबद्र्धन कार्यक्रम रहेको छ । कार्यविधि अनुसारको उक्त कार्यक्रमको ४ नम्बर बुँदामा अनुदान प्रवाहका शर्तहरु उल्लेख छ । ९ वटा शर्तहरुमै अनुदान दिनका लागि कृषक समूह/समिति/ सहकारी संघ/संस्थाहरु हुलाकी मार्ग लक्षित दूध उत्पादन कार्यक्रमका लागि योग्य मानिनेछन् भन्ने उल्लेख छ । यस्तै बुँदा नम्बर ३ मा कार्यक्रम कार्यान्वयनका लागि सहभागी छनौटका आधारहरुमा पनि बचत तथा ऋण सहकारी उल्लेख छैन ।

३ नम्बर बुँदा अन्तर्गत राखिएको (ग) मा कार्यक्रम कार्यान्वयनको सम्भावना बोकेका क्षेत्रहरुमा विगत देखि क्रियाशिल रहेका दुग्ध उत्पादक सहकारी संघ/संस्थाहरु वा दूध उत्पादनमा संलग्न संगठित कृषक समूह/समितिहरु समेत यस कार्यक्रम अन्तर्गतको दूध उत्पादन प्रबद्र्धन क्रियाकलाप संचालन गर्ने सम्भावित सहभागी हुन सक्नेछन् भन्ने उल्लेख छ । यस्तै सोही बुँदाको (घ) मा कृषक समूह/समिति मार्फत कार्यक्रम संचालन भएमा सुरु वर्षको अन्त्यसम्म त्यस्ता समूह समितिहरु दुग्ध उत्पादक सहकारी संस्थामा विधिवत रुपान्तरण भइसक्नु पर्नेछ भन्ने उल्लेख छ ।

तर, ग्रामलक्ष्मी बचत तथा ऋण सहकारीले कार्यक्रम सम्झौता गरेपछि बहुउद्देश्यीय सहकारी बनाउने भन्ने प्रतिबद्धता जाहेर गरेको छ । हालसम्म उक्त सहकारी बचत तथा ऋणकै अवस्थामा छ । मन्त्रालयले गरेको यो काम गैरकानूनी रहेको स्पष्ट हुन्छ । २०६६ सालमा स्थापना भएको उक्त सहकारीको रंगेली, धनपालथान, सुनवर्षीलगायतका क्षेत्र कार्यक्षेत्र हो । सहकारीले अनुदान कार्यक्रममा चालू आर्थिक वर्षको सुरुमै अर्थात साउन १३ गते सम्झौता गरेको थियो । सम्झौता पछि कार्तिकमा सहकारीले दूध कलेक्सन सेन्टर स्थापना गरेको छ । हाल त्यहाँ दैनिक २ सयदेखि ३ सय लिटरसम्म दूध संकलन हुने गरेका सहकारीका सचिव अशोककुमार मण्डल बताउँछन् ।

मण्डलका अनुसार अनुदान कार्यक्रममा १ सय जना कृषकलाई गाई वा भैंसी दुईवटा हुनुपर्ने र मापदण्ड अनुसार गोठ निर्माण गरेको हुनुपर्नेछ । तर, हालसम्म ५ जना पशुपालक किसानले गोठ निर्माण गरेका छन् । अन्यको घरका गाईभैंसी गणना गरेर पु¥याइएको विवरण पेश गरिएको छ । सहकारीका कर्मचारी विनोदकुमार साहका अनुसार १ सय जना किसानमध्ये ३५ वटा गाईगोठ ३४ जनाले भैंसी र अन्यले गाई, भैंसी दुवैका लागि गोठ निर्माण गर्ने बताएका छन् ।

सचिव मण्डलका अनुसार सहकारीमा १ हजार शेयर सदस्यहरु छन् । अनुदान कार्यक्रममा सहभागी भएका १ सय जनामध्ये ६० जना नयाँ हुन् । ‘हामीले अनुदान रकम मन्त्रीलाई ल्याएर किसानलाई वितरण गर्ने सोचेका छौं,’ मण्डलले भने, ‘आउनु होला नि हामी चेक हस्तान्तरण गर्छाैं ।’ उनले आफूहरुले बचत सहकारीलाई बहुउद्देश्यीय बनाउने प्रक्रियामा लगेको र सूचना जारी गरिसकेको पनि बताए ।

अनुदान कार्यक्रम सम्झौता अनुसार थप नयाँ कृषक सदस्यहरुलाई गाई/भैंसी खरिद, गोठ सुधारमा प्रति किसान ७५ हजार, कृत्रम गर्भाधान कार्यक्रम संचालनका लागि कृत्रिम गर्भाधान सम्बन्धी सामाग्री खरिदका लागि १ लाख ८ हजार, कृत्रिम गर्भाधान कार्यक्रम संचालनका लागि ६० हजार, पशु आहारा विकास कार्यक्रम (वर्षे र बहुवर्षीय घाँस खेति)का लागि १ लाख ३५ हजार, पशु स्वास्थ्य सेवा कार्यक्रम संचालनका लागि आवश्यक पर्ने औषधि, मेसिन, औजार आदि सामाग्री खरिद तथा वितरणका लागि १ लाख ७५ हजार, कृषक क्षमता अभिवृद्धि तालिम, अन्तरक्रिया तथा भ्रमणका लागि १ लाख ३५ हजार, प्राविधिक सहजकर्ता व्यवस्थाका लागि २ लाख ६ हजार, दूध संकलन केन्द्र स्थापनाका लागि आवश्यक पर्ने मेशिन, उपकरण र सामाग्रीहरु खरिदका लागि ८ लाख ८१ हजार, दूघ संकलन केन्द्रको लागि भवन निर्माणका लागि ७ लाख ६८ हजार, कार्यक्रमको सार्वजनिक सुनुवाई÷सार्वजनिकीकरणका लागि १५ हजार र कार्यक्रम संचालन खर्च (कृषक, छनोट, सर्भेक्षण, अनुगमन, प्रतिवेदन तयारी र सम्प्रेषणका लागि १४ हजार ५ सय गरी १ करोड रुपैयाँ अनुदान मन्त्रालयले दिने र ३३ लाख ३४ हजार रुपैयाँ सहकारी र किसानले व्यहोर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयका तर्फबाट अनुगमनकर्ता वरिष्ठ पशु विकास अधिकृत डा. पशुपति ढुंगाना र पशु चिकित्सक कुमारसिंह खत्रीले २०७८ असार २३ गते रकम भुक्तानीका लागि सचिव समक्ष निवेदन दिए । सोही निवेदनका आधारमा रकम निकासा भइसकेको स्रोतले जनाएको छ । २०७७ माग २ गतेदेखि २०७८ असार १७ गतेसम्म अनुगमन गरेको अवधि देखाइ सम्झौता अनुसार साझेदारले काम सम्पन्न गरेकोले सम्झौता मुताविक रकम भुक्तानी गर्न मनासिव देखिएको पत्र सचिव समक्ष पेश गरिएको थियो ।

शनिबार, २६ असार, २०७८, दिउँसोको ०४:२८ बजे

प्रतिक्रिया

  1. समाचार सम्प्रेषण गरि दिनु भएकोमा हार्दिक धन्यवाद वचत तथा ऋण सहकारीको उद्देश्य कृषि तथा पशु पालन गर्ने रहेको र सो सहकारीमा पछाडि परेको र मदेशि कृषकहरु सदस्यहरु रहेकोले सो सहकारी छनैाट गरिएको, अनुदानको दुरुपयोग भएको भए छानविन कारवाही को लागि तयार छाै ।

प्रतिक्रिया:

सम्बन्धित खवर