शिक्षा कार्की
म एक स्वास्थ्यकर्मी हुँ । म अहिले आफ्नो घर झापाको दमकमा छु । मैले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज काठमाडौँमा लगाएको थिएँ । निषेधाज्ञाको कारण दोस्रो डोज खोप कहाँ लगाउने अन्यौल थियो । केही समयअघि खोप स्थानीय सरकारले ल्याउने भन्ने सूचना पाएँ । सूचनामा उल्लेख गरेअनुसार मैले आफ्नो नाम दमक नगरपालिकामा टिपाएँ । नगरपालिकाले सूचना निकालेको भोलिपल्टै नाम टिपाएको थिएँ । बीच–बीचमा खोप कहिले लगाउन पाइन्छ भनेर बुझ्दै पनि गरेँ । काठमाडौंमा पहिलो डोज खोप लगाएकालाई खोप दिने सूचना नगरपालिकाले तालिकासहित जारी गरेको थियो । त्यस अनुसार सूचनामा उल्लेख गरिएको समयमै म नगरपालिका पुगेँ ।
खोप लगाउन म पुग्दा त्यहाँ वातावरण भिन्न थियो । नगरपालिकाको ढोकामा हजुरबा र हजुरआमा उमेरका जेष्ठ नागरिकहरु खोप सकियो भनेर खिन्न बनेर बसिरहेका थिए । मलाई पनि खोप छैन भनेर फिर्ता पठाइयो । कोभिड वार्डमै काम गर्ने धेरै स्वास्थ्यकर्मीहरू खोप सकियो भनेर सानो मुख लगाएर बसिरहेका थिए । दिनरात कोभिड उपचारमा खटिँदा पनि भ्याक्सिन लगाउन पाइएन भनेर गुनासो गरिरहेका थिए ।
सूचनामा प्राथमिकताको आधारमा वृद्धवृद्धा र पहिलो डोज लगाएका र फ्रन्टलाइनरहरूलाई खोप दिइने भनिएको थियो । त्यस अनुसार नगरपालिकामा खोपको मात्रा पनि आएको हो । तर, नगरपालिकाले त्यस अनुसार खोप लगाएको थिएन । जसको पहुँच थियो, उसले खोप लगाउँदै बाहिर निस्किरहेका थिए । प्राथमिकतामा परेका हामीहरूले भने त्यो दृश्य टुलुटुलु हेरिरहनु परेको थियो । जेष्ठ नागरिकहरु खोप सकिएको सूचनापछि खिन्न मनसहित निराश बनेर बसिरहेको बेला हस्टपुष्ट युवा कार्यकर्ताहरु खोपकेन्द्रमा पस्ने र निस्कने गरिरहेका थिए । उनीहरुको अनुहार हँसिलो थियो । बाहिर बस्ने सबैलाई भ्याक्सिन सकियो भनिएको थियो । तर, भित्र भ्याक्सिन लगाउने काम भइहरेको थियो । प्राथमिकतामा परेकालाई नै भ्याक्सिन नदिएर अरुलाई भ्याक्सिन दिनु भनेको कहाँसम्मको लापरबाही हो ? भ्याक्सिनमा समेत भनसुन र भ्रष्टाचार ? यो त मानबतामाथिकै अपराध भएन र ?
सरकारले गएको माघमा तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने घोषणा गरेको थियो । तर, ६ महिना हुनलाग्दा पनि अनुदानको बाहेक खोप ल्याउन सकेको छैन वा पहल नै गरेको छैन । अतिआवश्यक व्यक्तिहरुले खोप पाएका छैनन् । पहिलो डोज कोभिशिल्ड लगाएका लाखौं जेष्ठ नागरिकहरुले दोस्रो खोप पाउने अझै निश्चित बनेको छैन । योभन्दा सरमको विषय सरकारको लागि अरु नहुनुपर्ने हो । तर, सरकारलाई सायद यसमा खासै चासो छैन । खोपको नाममा सस्तो प्रचारबाजी र राजनीति मात्र भइहरको छ । नेपालभन्दा कम क्षमता भएका धेरै मुलुकले खोप किनेर आफ्ना नागरिकलाई लगाईसकेको समाचारमा पढ्न पाइन्छ । तर, छिमेकी दुबै मुलुकले खोप उत्पादन गरिरहँदा पनि नेपालीहरुको लागि खोप आकासकै फल जस्तो भएको छ ।
दमकमा नपाएपपछि घरबाट १५ किलोमिटर टाढा गौरादह नगरपालिकामा खोप लगाउन पाइन्छ कि भनेर म पुगें । त्यहाँ पनि सकियो भन्ने खबर आयो । अब मैले खोप कहाँ लगाउने ? अब पनि भ्याक्सिन लगाउन ढिला भयो भने पहिलो डोजले काम गर्न छाडिसकेको हुन्छ । अहिले म यहाँ भोलेन्टियरको रुपमा काम गर्ने सिलसिलामा बाहिर निस्किरहेको छु । छिट्टै नै काठमाडौँ फर्किएर फेरि अस्पतालमा ड्युटी गर्नुपर्नेछ । त्यो अवस्थामा कसरी काम गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।