निषेधाज्ञाले ‘चेन ब्रेक’ गर्दा विराटनगरलाई राहत, कोरोना संक्रमणदर घट्दो

विराटनगर । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा संक्रमणको ‘हटस्पट’ बनेको विराटनगर पछिल्लो समय तङ्ग्रिने प्रयासमा छ ।

केही समययता लगातार घट्दै गएको संक्रमण दरले प्रदेशको राजधानीलाई राहत प्रदान गरिरहेको छ । कोभिडको चेन ब्रेक गर्ने उद्देश्यका साथ वैशाख १८ गतेदेखि जारी निषेधाज्ञाका कारण विराटनगरमा संक्रमण दर न्यूनीकरण हुँदै गएको हो । निषेधाज्ञा जारी हुनुपूर्व विराटनगरमा मात्रै दैनिक ४ सयभन्दा बढीमा नयाँ संक्रमण देखिने गरेको थियो । तर, निषेधाज्ञा जारी भएसँगै संक्रमण दर क्रमशः घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार वैशाख १७ गते १ हजार ७५ जना सक्रिय संक्रमितहरु रहेको विराटनगरमा ३१ गते संक्रमितहरुको संख्या ४ हजार ४ सय ७ पुगेको थियो । मात्र १४ दिनको अन्तरालमा विराटनगरमा ३ हजार ३ सय ३२ जना नयाँ संक्रमित थपिएका थिए । तर, वैशाख १८ गतेदेखि निषेधाज्ञा जारी भएपछि मानवीय चहलपहलमा कमी आएसँगै जेष्ठ महिनाको सोही अवधिमा विराटनगरमा मात्र १ हजार ६ सय ६६ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा मात्रै विराटनगरको संक्रमण दर ५० प्रतिशतले न्यूनीकरण भएको विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलिले बताए । ‘संक्रमण दर घटनुमा निषेधाज्ञा एउटा कारण हो, उनले भने,’ ‘संक्रमण दर बढी हुने रोगहरु एक निश्चित समयपछि आफै कमजोर हुन थाल्ने बिषयलाई अर्को कारणको रुपमा लिन सकिन्छ ।’

नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमणका कारण स्वस्थ नागरिकहरुले पनि अकालमै मृत्युवरण गर्नुपरेको अवस्थालाई दृष्टिगत गर्दै विराटनगरसहित बुढीगंगा, जहदा र कटहरी गाउँपालिकाका सिमित वडाहरुमा पहिलोपटक बैशाख १७ गतेदेखि ७ दिने निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ । प्रारम्भिक चरणमा मोरङका केही स्थानीय तहहरुमा मात्रै जारी गरिएको निषेधाज्ञा बैशाख २४ गतेदेखि जिल्लाभरि लागु गरिएको छ ।

निषेधाज्ञाकै प्रभावस्वरुप ३ अङ्कमा रहेको विराटनगरको संक्रमण दर जेष्ठ अन्तिम सातायता २ अङ्कमा झरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । समयमै उचित निर्णय गरेकाले निषेधाज्ञा प्रभावकारी साबित भएको उनको भनाई छ । अझ केही दिनसम्म निषेधाज्ञालाई निरन्तरता दिने तयारी रहेको उनले जानकारी दिए । ‘मोडालिटी परिवर्तन गर्दै खुकुलो प्रावधानसहित अझ केही दिनसम्म निषेधाज्ञा निरन्तरता दिन्छौं,’ उनले भने, ‘जोर बिजोर प्रणाली अनुसार साना तथा निजी सवारीसाधन सञ्चालनको अनुमति दिने बिषयमा पनि तयारी भईरहेको छ ।’

जेठ अन्तिम सातायता विराटनगरमा भने दैनिक ४० देखि १०० जनामा मात्रै नयाँ संक्रमण देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार जेठ २५ गतेदेखि संक्रमण दर घटेको हो । विराटनगरमा जेष्ठ २६ गते ६३, २७ गते ९६, २८ गते ९४ र ३१ गते मात्र ५६ जनामा संक्रमण पुष्टि भएको महानगरको तथ्याङ्क छ । तथ्याङ्क अनुसार असारमा पनि १ गते ५८, २ गते ६३, ३ गते ८३, ४ गते ७८ र ६ गते ९२ गरि ६ दिनको अवधिमा मात्रै ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यो दर दिनानुदिन घटने क्रममा रहेको महानगरका कोभिड संयोजक हैदर अलिले बताए । उनले विराटनगरको संक्रमण दर ७० प्रतिशतदेखि १५ प्रतिशतमा झरेको जानकारी दिए ।

संक्रमण दर पुनः बढ्नसक्ने जोखिम

यद्यपि जोखिम कायमै रहेका कारण यसले कुनबेला उच्च फैलावटको स्वरुप ग्रहण गर्छ भन्ने टुंगो नभएको विज्ञहरु बताउँछन् । सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै जाँदा संक्रमण दर पुनः बढ्न सक्ने जोखिम कायमै रहेको उनीहरुको भनाई छ । पहिलो चरणको महामारीबाट जोगिएका अधिकांश जनसंख्या यसपटक बढी नै लापरवाह भएको कारणले पनि संक्रमण दर बढ्नसक्ने उनीहरुको आशङ्का छ ।

लामो समयदेखि आतङ्क मच्चाएको म्युटेन्ट भेरिएन्टसहितको कोरोना संक्रमणको पूर्ण रोकथामका निम्ति अब कोभिडविरुद्धको खोप एकमात्र विकल्प रहेको वरिष्ठ सामुदायिक चिकित्सा विशेषज्ञ डा. सुर्य पराजुलीले बताए । उनले खोप उपलब्ध नहुन्जेल केही दिनयता ओरालो लागेको संक्रमण दर, सरकारको अग्रसरताको अभावमा पुनः बढ्नसक्ने जोखिम कायमै रहेको जानकारी दिए ।

‘पहिलो चरणको महामारीमा महानगरकै अग्रसरतामा विराटनगरका चोकचोकमा साबुनपानी सहित हातधुने व्यवस्था गरिएको थियो । तर यसपटक हात धुने ठाउँ कतै भेटिदैनन,’ उनले भने, ‘हातधुने ठाउँ भेटिए पनि साबुन पानी हुँदैन । यसले पनि थप जोखिम सिर्जना गरेको छ ।’

जेठ मसान्तयता भने विराटनगरको कोरोना संक्रमणदर २० प्रतिशतमा झरेको महानगरको तथ्याङ्क छ । यद्यपि संक्रमण दर ५ प्रतिशतभन्दा कम नहुन्जेल निषेधाज्ञामा कडाई नै गरिनुपर्ने डा. पराजुलीको सुझाव छ ।

विराटनगरमा हालसम्म १० हजार ३ सय २७ भएका छन् भने २ हजार ३ सय ४० जनाको विभिन्न अस्पताल तथा होम आईशोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण विराटनगरमा हालसम्म १ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

मङ्गलबार, १५ असार, २०७८, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर