पाँचथर । लेकाली हावापानी शितल–सुन्दर घाँसे मैदानमा फालेलुङ गाउँपालिकाको चारराते क्षेत्र चौरी पालनको पकेट क्षेत्र हो । तीनदेखि छ हजार मिटर उचाइको हावापानी रुचाउने चौरीलाई यो क्षेत्र अनुकुल मानिन्छ । चौरी एउटा गाईको प्रजाती हो । यो घर पालुवा र जंगली गरि दुई प्रकारको हुन्छ र उराङ जातको चौरीलाई घरमा पाल्ने गरिएको छ ।
पाँचथरका उच्च पहाडी क्षेत्र फालेलुङमा परम्परादेखि नै चौरी पालन व्यवसाय हुँदै आएको छ । पछिल्लो समयमा यसमा युवाहरूको आकर्षण बढ्दै गएको देखिएको छ । फालेलुङमा चौरी पालन गरेर युवाहरुले राम्रो आम्दानी गरिरहेका छ्न । यहाँका युवाहरुको चौरीप्रतिको माया देखेर आन्तरिक तथा बाह्य पर्यटक समेत लोभिने गरेको गाउँपालिका उपाध्यक्ष हिमा अधिकारी बताउछिन् ।
२०५३ सालबाट फालेलुङ ४ चाररातेमा चौरी पालन गर्दे आएका जङ्ग राईको गोठमा अहिले २५ वटा चौरी छन् । उनले घरपालुवा उराङ जातिका चौरीहरु पालेका हुन् । स्थानीय दुई जनालाई उनले रोजगारी पनि दिएका छन् । आम्दानीको हिसावले दूध, घ्यू र छुर्पी बेचबिखन गरि वार्षिक रुपमा राइले ५ लाख भन्दा धेरै पैसा कमाइ गरिरहेको बताए । सबै खर्च कटाएर गरेको चोखो आम्दानी हिसाब उनले सु्नाएका हुन् । चौरीको दूधबाट मात्र होइन रौंबाट पनि उनले राम्रो आम्दानी गर्ने गरेका छन् । राडीपाखी बनाएर पनि आम्दानी गरिरहेको उनी बताउँछन् ।
राईका अनुसार पहाडी गाइ (किर्खो)बाट जन्मिने चौंरीलाई ‘उराङ’ र पहाडी गोरु याककको संसर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ । डिम्जो चौरी जस्तै दूधालु हुन्छ तर, झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम लाग्ने हुन्छ । झोप्क्योलाई हेरचाह गरिरहनु पर्दैन उस्लाई दानापानी बेलाबेला दिए पुग्छ । यसलाई खुला रुपमा नै छाडिने गरिन्छ ।
उराङको दूध सामान्य घरपालुवाको झैं आउँछ । तर यसको दूध, घ्यू, छुर्पी भने घरपालुवा गाईको तुलनामा महंगो मूल्यमा बिक्री हुन्छ ।
चौरीको मुख्य चरन क्षेत्र जङ्गली रूखबिहीन घाँसे मैदान हो । चौंरीले नुन र दानापानी समेत रुचाउने किसानहरुले बताएका छन् । दिनभर चरेकै भरमा चौरीले पेट भर्छ । फालेलुङ ४ स्थित चारराते चौरी चरनको मुख्य ठाउँ मानिन्छ । चौरीपालक किसानका अनुसार वर्षको आठ महिना चाररातेमा र बाँकी चार महिना अर्को वार्डको तेन्दे भन्ने ठाउँको घाँसे मैदानमा चौरी चराउने गरिएको छ । भारतसाग सिमाना जोडिएको फालेलुङको चारराते तथा तीन सिमाना फराकिलो लेकाली क्षेत्र भएकाले यहाको वातावरणमा चौरीगाई रमाउने स्थानीय चौरी गाइका खोज तथा संरक्षणकर्ता सुनिल वान्तबा बताउछन् । वान्तबा भन्छन् ‘हिमाली क्षेत्रहरूमा पाइने घाँसे मैदान मासिदै जाँदा चौरी पालन व्यवसाय प्रभावित भएको छ । यसको मार हामी किसान र व्यवसायीहरुमा परेको छ । पछिल्लो समय प्रयाप्त घाँस नपलाउने र पानीको अभाव हुदाँ चौरीपालकहरु चिन्तित छन् ।’
तीन दशक यताबाट चौरी पालन गर्दै आएका किसान चन्द्र नेपाल विदेश जानुभन्दा नेपालमै केही गरौं भनेर चौरी पालनमा निरन्तर सक्रिय छन् । ‘विदेश जानुभन्दा आफ्नै देशमा केही गरौं भनेर लागेको छु । चौरी पालन गरेर चौरीको पहिचान र यस्को बिकास लाई जोड दिएको छु,’ नेपालले भने ‘पर्यटकहरु आएर रमाउनुहुन्छ । परम्परागत गोठहरुमै चौरी पालन गरिएको छ । पेशाप्रती खुसी छु तर चरन र खानेपानीको समस्या भएकाले सोचे अनुरुपको प्रगति भएको छैन ।’ आफुले बनाएको चौरीको छुर्पी अमेरिकासम्म निर्यात गर्न पाएकोमा उत्साही छन् ।
पछिल्लो समय फालेलुङमा युवाहरुले चौरी पालनको व्यवसायिक विकास र प्रवद्र्धनमा सक्रियता देखाएका छन् । गोठ सुधार लगायतका काममा आफुहरु सक्रिय भएको र व्यवसायिक रुपमा चौरी पालनलाई अगाडि बढाउन युवा पुस्ताको सहभागिता बढ्दै गएको स्थानीय अमर राईले बताए ।