विराटनगर । विराटनगरस्थित बाल सुधार गृहदेखि गए राती फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि आज पक्राउ गरेको हो ।

भागेका अन्य तीन जना अझैसम्म फरार रहेको र फेला पार्न नसकिएको बाल गृहका इन्चार्ज मिलन चौहानले जानकारी दिए । फरार हुने तीन जना जवरजस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियरा खरखजना मुद्दामा पुर्पक्षका लागि रहेका बाल बिज्याँइकर्ता रहेका थिए । उनीहरु मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बाल बिज्याँइकर्ता पक्राउ परेका हुन् ।

फरार भएकामध्ये संखुवासभा, उदयपुर र झापा घर भएका तीन जना फरार बनेर सम्पर्कविहीन नै रहेका कारण खोजी जारी राखिएको मोरङ प्रहरीका निमिक्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । ‘फरार मध्ये एक जना पक्राउ परेका छन्,’ उनले भने, ‘अरूको पनि खोजि कार्यमा प्रहरी जुटेका छन् ।’

सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको बताएको छ । कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहमा राखिएका बालविज्याइँकर्ता एक वर्ष अगाडी पनि दुई जना फरार भएका थिए । त्यसबेला फरार भएको पाँच दिनपछि झापादेखि पक्राउ परेका थिए ।