विराटनगर । सुनसरीको इनरुवा अस्पताललाई महामारीको रुपमा फैलिएको कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरणहरू सहयोग गरिएको छ । नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगरले मञ्चले इनरुवा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको छ । उक्त सामाग्रीका लागि एकमुष्ठ २ लाख रुपैयाँ सदस्यहरुले आपसमा संकलन गरि स्वास्थ्य उपकरण खरिद गरि वितरण गरिएको कार्यक्रमका संयोजक तथा पुर्वअध्यक्ष मनोज विक्रम साहले जानकारी दिए । उनले महामारी नियन्त्रणका लागि यस प्रकारको सहयोग मंचले निरन्तर गर्दै आइरहेको पनि बताए ।
सन २००४ मा स्थापना भएको युवा उद्यमी मञ्च विराटनगरको वर्तमान अध्यक्ष युनेशराज श्रेष्ठ छन् । हाल मञ्चमा करिब ५० जना युवा उद्यमीहरुको सदस्यता रहेको छ ।

