विराटनगर । मोरङको कटहरीका काठ व्यापारीमाथि निर्घात कुटपिट भएको छ । कटहरी–२ हल्दीवारीका जय हनुमान भेनियर उद्योग सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवामाथि निर्घात कुटपिट भएको हो ।
बाबुबाजेको पालाको पुरानो रिसिबिलाइ लिएर कटहरी गाउँपालिका ३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले कुटपिट गरेको करवाको भनाई छ ।
कुटपिटबाट करवाको टाउँकोमा गहिरो चोटपटक लागेको छ । बाबुछोराले ढुंगाले आक्रमण गर्दा करवाको टाउँको ६ टाँचा लगाइएको छ । आक्रमण गर्ने उचितलाल धानको काटा गर्ने व्यापारी हुन् भने अजय पूर्वाञ्चल विश्वविद्यालय पुसेटका प्रध्यापक हुन् ।
मरणसन्न हुनेगरि कुटपिट गर्दा पनि मोरङ प्रहरीले जाहेरी नलिएको व्यापारी सञ्जयकुमार करवाले गुनासो गरेका छन् । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै करवाले टाउँमा चोटपटक लागेको देखाउँदै कुटपिट गर्ने विरूद्ध मोरङ प्रहरीमा जाहेरी दिँदा पनि दर्ता नगरी उल्टै मिल्न दबाव दिने गरेको गुनासो गरेका हुन् ।
‘काम गर्दै गरेको अवस्थामा मलाई एक्कासी आएर बाबुछोराले आक्रमण गरे । कटहरीका स्थानीयले तत्काल विराटनगर पु¥याएर उपचार गरेपछि मेरो ज्यान बाँचेको छ । मोरङ प्रहरी कार्यालयमा पुगेर ज्यान मार्ने उद्योगमा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन मानेको छैन,’ घाइते भएका करवाले पत्रकार सम्मेलनमा भने, ‘अहिले मुद्दा फाँटका प्रहरीले उल्टै पीडक पक्षसँग मिल्न दबाव दिने गरेका छन् ।’ आफूलाई आक्रमण गर्ने बाबुछोरा पहुँचवाला भएकोले प्रहरीले जाहेरी लिन नमानेको उनको भनाई छ ।
‘अहिलेसम्म प्रहरीले घाउँजाच फारम भरेर जाहेर लिन पनि मानेको छैन,’ उनले भने, ‘न्यायको लागि पहल गरिदिनुपर्ने प्रहरी उल्टै पीडक पक्षसँग मिल्न दबाव दिने गरेका छन् ।’ प्रहरीले जाहेरी नलिँदा आक्रमण गर्नेहरू खुलेआम गाउँघरमा हिँड्ने गरेको उनले बताए । ‘यसरी मर्नेगरि कुटपिट गर्दा पनि प्रहरीले जाहेरी लिन मानेको छैन । म त छक्क परेको छु,’ उनले भने, ‘जाहेरी नलिँदा आफूमाथि आक्रमण गर्नेहरू गाउँघरमा खुलेआम हिँडडुल गर्ने गरेका छन् ।’
यता मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले घटनामा मोरङ प्रहरीमा अहिलेसम्म जाहेरी नआएको बताए । ‘जाहेरी आएको खण्डमा प्रहरीले दर्ता गर्ने भन्ने नै हुँदैन,’ डिएसपी राईले भने, ‘कुनैपनि घटनामा दोषी देखिए प्रतिवादीलाई कानूनी कारवाहीको दायरामा लिएर अगाडि बढ्छ ।’
कटहरी २ मा जमिन भएपनि सञ्जयकुमार करवा विराटनगरमा ७ मा बस्दै आएका छन् । हुलाकी लोकमार्ग विस्तारको क्रममा कटहरी २ मा करवाको ३ कठ्ठा १७ धुर जमिनमध्ये केही भाग भत्काइएको थियो । २९ जेठमा पसल बनाउन जग्गा छुट्याउन कटहरी २ मा पुगेका उनले सँधियार हरि राजवंशीको घर पूर्वपट्टि छलफल गरिरहेको अवस्थामा मोटसाइकलामा आएका उचितलाल र उनका छोरा अजयले ढुङ्गाले आक्रमण गरेको बताएका छन् ।
‘किन एक्कासी आफुमाथि यसरी आक्रमण भयो, मलाइ कुनै जानकारी छैन,’ करवाले भने, ‘बाबुबाजेको पालामा उहाँहरुको रिस थियो भन्ने मलाइ लागेको छ । त्यही रिस फेर्न म माथि आक्रमण भयो ।’

