विराटनगर । भारततर्फ तस्करी हुन लागेको गाँजासहित मोरङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पहाडी जिल्लादेखि ल्याएर भारततर्फ तस्करी गर्न लाएिको गाँजासहित पाँच जनालाई प्रहरीले विराटनगरदेखि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक रहेका छन् । प्रहरीले भारतको पञ्चायत फार्बिजगन्ज थानाका १९ वर्षीय सोनुकुमार यादव, अररिया पिर्पाघाट पञ्चायत विशनपुरका २८ वर्षीय जयराम यादव, अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रञ्जित भन्ने प्रिन्स विचितर कुमारलाई पक्राउ गरेको हो । यस्तै सुनसरीको देवानगन्ज गाउँपालिका–१ का ४० वर्षीय उमेश यादव र धनकुटाको सहिदभुमि गाउँपालिका–१ का ३२ वर्षिय रुद्र राईसमेत पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार शनिबार विराटनगर महानगरपालिका –६ रामपुर स्थित झाँडीमा लुकाईएको अवस्थामा अन्दाजी १८ केजी गाँजा बरामद भएको थियो । प्रहीले प्रिन्स विचितर कुमारको साथबाट ७ लाख १६ हजार ६ सय भारतीय हजार रुपैयाँ पनि बरामद गरेको जनाएको छ ।

बरामद गरिएको रकम तस्करीको गाँजा किन्न ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले तस्करीको गाँजा ओसारपसारमा संलग्न भएको को १ च २४१२ नम्बर मारुती भेन र चालक सुनसरीको धरान उपमहानगरपालिका १३ का सुम्निमा चोकमा बस्ने ४५ वर्षीय सुर्य राईलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई मोरङ प्रहरीले लागुऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको जनाएको छ ।