काठमाडौं। नेपाल–तिब्बत सिमानामा भिषण वर्षाका कारण गएको पहिरोले नदी थुनिएको सूचना आएपछि माथिल्लो तामाकोशी आयोजनाले ड्याम खाली गराएको छ।

दोलखाको लामाबगरतर्फ बाढीको खतरा बढ्ने पूर्वानुमानपछि अपर तामाकोशीको ड्याम खाली गराएको आयोजनाले जनाएको छ।

शुक्रवार राति जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गरेसँगै आयोजनाले सबै गेट तयारी अवस्थामा राखेको र सुरुङमा पानी पठाउन बन्द गरिएको जनाएको छ । ड्यामको पानी पनि खाली गरिएको आयोजनाका प्रकक्ता डा.गणेश न्यौपानेले बताए ।

विहान ६ बजेसम्म नदीको बहाव स्थिर रहेको र बांधस्थलमा सबै स्टाफ अलर्टमा रहेको आयोजनाले जनाएको छ। ठूलो बाढी आएमा करिब एक घण्टाको पानी ड्याममा हाल्न सकिने र त्यो अबधिमा आपपासको बस्तीलाई सुरक्षित गर्न सकिने बताइएको छ ।

पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको हो । पहिरोका कारण तामाकोसी नदीको सहायक रोङ्सी खोला थुनिएको बताइएको छ । चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक खोला थुनिएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छोडिएको हो । तामाकोसी जलाशयको पानीको सतह १९ सय ७८ मिटरमा झार्ने काम भइरहेको छ । बाँधले ५ हजार घनमिटरसम्मको बाढी थेग्नसक्ने बताइएको छ ।

खोला थुनिएकाले माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलको माथिल्लो भेगमा तामाकोसीमा पानीको मात्रा घटेको बताइएको छ । नदी थुनिएको क्षेत्रमा ताल बनेको चिनियाँ अधिकारीहरुले जनाएको प्रशासनले जनाएको छ ।