ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाका मित्रबहादुर तामाङको निधनपछि दुई छोरालाई बाबुको अन्तिम संस्कारको कामबाट बञ्चित गरिएको छ ।
गत जेठ २९ मा घरमै निधन भएका तामाङका चार छोरामध्ये अन्तरजातीय विवाह गरेको आरोपमा माइला शंकर तामाङ र कान्छा प्रदीपलाई अन्त्येष्टिमा सहभागी हुन रोक लगाइएको हो ।
बुबा बितेको खबर सुनेपछि शंकर धादिङबाट र प्रदीप काठमाडौंबाट घर
पुगेकोमा उनीहरुलाई बाबुको मुख हेर्नसमेत दिइएन् । वडाअध्यक्ष बलबहादुर तामाङले नै समुदायलाई उकासेर बुबाको मुख हेर्नसम्म नदिएको उनीहरुको भनाइ छ ।
अन्तरजातीय बिहे गरेको कारण देखाएर आफूहरूलाई बुबाको अन्त्येष्टिमा सहभागी हुन नदिइएको उनीहरूको गुनासो छ । बुबाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरूलाई शव छोएमा सबै मलामी फर्किने धम्की दिएपछि फर्कन बाध्य भएका थिए । जेठो यामबहादुर र साइला तुलबहादुर मात्र अन्तेष्टिमा सामेल भएका छन् ।
घरमा बुबाको काजकिरिया चलिरहँदा प्रदिप र शंकर काठमाडौंमै छन् । अन्त्येष्टिका मुख्य पुजारी लामाले क्रियापुत्रीको रूपमा सहभागी गराउन मिल्ने बताएपनि वडाअध्यक्ष तामाङको नेतृत्वको गाउँलेहरूले रोकेको उनीहरुको भनाइ छ ।
शंकरले क्षेत्री थरकी केटी बिहे गरेका छन् भने प्रदिपकी श्रीमति दलित हुन् । सोही गाउँका राजु तामाङलाई पनि दुई वर्षअघि हजुरबुबा बित्दा अन्तरजातीय बिहे गरेको भन्दै विभेद गरिएको थियो ।
वडाअध्यक्ष बलबहादुरले भने घटनामा आफ्नो कुनै भूमिका नरहेको दावी गरेका छन् । दाजुभाइमै कुरा भएपछि उनीहरु हिँडेको उनको भनाइ छ । तामाङ समुदायको संस्कार भएकाले त्यसमा आफूले हस्तक्षेप नगरेको उनले बताए ।

