ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले प्रत्येक वर्ष गाउँपालिकाका एक जनालाई एमबीबीएस (डाक्टर) पढ्न छात्रवृत्ति दिने भएको छ ।

पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् ‘म स्वस्थ मेरो गाउँ स्वस्थ्य’ अभियान सञ्चालन गर्दै डाक्टर उत्पादन गर्ने नीति लिएको हो ।

आमामी वर्षदेखि एमबीबीएस अध्ययनको प्रवेश परीक्षा उत्तीर्ण गाउँपालिकाभित्रका एक विद्यार्थीले वर्षिक १३ लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् । विद्यार्थीले अध्ययन सम्पन्न गरेपछि २ वर्ष पालिकामै रहेर काम गर्नुपर्ने सर्त राखिएको छ ।

गरिबका छोराछोरीले पनि डाक्टर बन्ने सपना देखुन् भनेर यो योजना ल्याएका गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले बताए । छात्रवृत्ति आवासीय सुविधासहितको हुने प्रमुख प्रशासकीय अधिकृत सन्तोस घिमिरेले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र केल्लोकमा रिक्त रहेको चिकित्सकको पदमा पदपुर्तिका लागि गत वर्ष ४ पटक आवेदन खुलाउँदा पनि डाक्टर आउन नमानेको कारण गाउँपालिकाले यस्तो योजना ल्याएको हो । क्षमता भएको तर पैसा नभएका विद्यार्थीले पढ्न पाउन् भनेर यस्तो कार्यक्रम ल्याइएको हो ।

गाउँपालिकाले दलित महिला तथा अपाङ्गता भएका विद्यार्थी लक्षित गरि स्नातक अध्यनका लागि उपाध्यक्ष छात्रवृत्ति कार्यक्रम समावेश गरेको छ । जस अन्तर्गत महिला तथा अपाङ्गता भएका विद्यार्थीले पालिकामा रहेको सिनाम बहुमुखी क्याम्पसमा बीबीएस र बीएड निःशुल्क अध्ययन गर्न पाउनेछन् ।

पालिकाले आर्थिक वर्ष २०७७–७८ देखि गाउँपालिकामा कक्षा–१२ सम्मको पठनपाठन निःशुल्क गरेको थियो । नेपालभरका जोकोहि विद्यार्थीले पनि सिरीजङ्घाका विद्यालयमा कक्षा १२ सम्म निःशुल्क पढ्न पाउनेछन् ।

गाउँपालिकाले यहाँका ८ वटै वडाका १–१ जना विद्यार्थीलाई कृषि र पशु विज्ञान पढ्नका लागि गत वर्षदेखि नै छात्रवृत्ति दिन थालेको छ । जस अन्तर्गत अहिले १६ जनाले निःशुल्क कृषि र पशु विज्ञान पढिरहेका छन् । कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको छ ।

कञ्चनजंघा हिमालको काखमा रहेको गाउँपालिकाले विहिबार ५० करोड ५७ लाख रुपैयाँको आगामी वर्षको बजेट ल्याएको छ ।