विराटनगर । सरकारले देशभर असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको जनाएको छ । कोरोनाका कारण स्थगित भएको विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने र आजैबाट नयाँ शैक्षिक सत्र आरम्भ गर्ने तयारी सरकारले गरेको हो ।
आज देशभरका कक्षा १० सम्मका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएकोले विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो खुलेको छ ।
कोरोना ९कोभिड–१९० सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि उपयुक्त समयमा भौतिक कक्षा आरम्भ हुने सरकारले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको अन्तिमसम्म सबै नेपालीलाई खोप लगाइसक्ने विश्वास व्यक्त गर्दै कोरोना नियन्त्रण तर्फ गएको भन्दै सबै गतिविधिहरु क्रमश सुचारु हुने बताउनुभयो ।
असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने छ । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् ।
असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ ।

