विराटनगर । पूर्वी नेपालबाट यस वर्षको मनसुन भित्रिएसँगै अबको तीन दिन देशका अधिकांश भागमा हल्का तथा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदेखि सोमबारसम्म देशभरको मौसममा सामन्यदेखि पूर्ण बदली हुने पनि महाशाखाले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ ।

शनिबार दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

शनिबार साँझ देशभर सामान्य देखि पूर्ण बदली रहि देशका अधिकांश भागमा वर्षा हुने अनुमान गरिएको छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार पनि प्रदेश १ लगायत बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना छ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।