काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पेसी सूचीमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा तोकेका छैनन् ।
सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको निवेदन स्थगित पेसी सूचीमा चढाइएको छ । आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएको बताइएको छ । उनको स्वास्थ्यमा के समस्या भएको हो भन्नेचाहिँ खुलिसकेको छैन। सर्वोच्च स्रोतका अनुसार संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिनेछ।
संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस केन्द्रित थियो । बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने बताएका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १ सय ४६ सांसद पक्षका कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए । संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे दिनभर बहस भए पनि आदेश भने आएन ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए।

