काठमाडौं (बिबिसी) । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरि सापकोटा रोगव्याधिबाट कर्णालीवासीलाई बचाउँदाबचाउँदै गत भदौ अन्तिममा कोरोनाभाइरसबाट सङ्क्रमित भए।
थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुर्याइएका डा. सापकोटाको उपचारकै क्रममा असोजमा मृत्यु भयो ।
नेपालगन्जमै चिकित्सक रहेका छोरा र हाल विदेशमा रहेकी छोरीका एक्ला अभिभावक डा. सापकोटा आफू सङ्क्रमित हुनुअघि बिरामीको उपचारमै व्यस्त थिए ।
‘मेडिकल फ्रन्टलाइनर नभएको भए शायद बुवा पहिलो लहरमै एक्सपोज हुनुहुन्थेन। हामीले उहाँलाई नगुमाउन पनि सक्थ्यौँ,’ छोरा डा. वसन्त सापकोटा सम्झन्छन्। अभिभावक गुमाउँदाको पीडा अरू पेसाकर्मीजस्तै आफूहरूलाई पनि हुने नै भए पनि हतोत्साहित भएर बस्न नमिल्ने उनी बताउँछन्।
‘अरू पेसामा जस्तो हामीकहाँ वर्क फ्रम होम भन्ने पनि हुँदै झन् अपरेसन गर्नुपर्दा बढी एक्पोज हुने जोखिम सर्जनहरूलाई हुन्छ,’ उनले भने। सुर्खेतमा एक्लै बस्दै आएका डा. सापकोटा कार्यस्थलबाटै सङ्क्रमित भएका छोरा वसन्तको आशङ्का छ।
‘अस्पतालमा काम गर्दागर्दै उहाँलाई सङ्क्रमण भएको हुनुपर्छ। बुवा एक्लै बस्ने भएकाले परिवारबाट सर्ने सम्भावना नै थिएन,’ वसन्तले भने। डा. सापकोटा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउने पहिलो चिकित्सक पनि हुन्।
सङ्क्रमित हुनेमा स्वास्थ्यकर्मी धेरै
नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने फ्रन्टलाइनरहरूमध्ये सबैभन्दा धेरै स्वास्थ्यकर्मी पाइएको अधिकारीहरूले बताएका छन्।
कोरोनाभाइरसबाट सङ्क्रमित हुने निजामती कर्मचारीहरूको विवरण प्राप्त भई नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए।
स्वास्थ्यकर्मीपछि कोरोनाभाइरस सङ्क्रमणको चपेटामा सुरक्षा निकायमा कार्यरत छन्।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार हालसम्म आठ हजारको हाराहारीमा प्रहरीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्।
प्रहरीका बहालवाला नायव उपरीक्षक राजकुमार केसीसहित १४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको तथ्याङ्क छ। पछिल्लो तथ्याङ्क अनुसार नेपाली सेनामा पनि छ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सात जना सैनिकले कोभिडका कारण ज्यान गुमाइसकेका छन्। ‘सामूहिक बसाइको संरचना भएकाले हाम्रो फौजमा एक जनालाई सङ्क्रमण भएपछि धेरैलाई सर्ने समस्या छ। हामीले स्वास्थ्य मापदण्ड थप बढाएका पनि छौँ,’ उनले भने।
कहाँ कति सङ्क्रमित र मृत्यु ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ८,७४२ स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् भने कतिपयलाई दोहोर्याएर पनि सङ्क्रमण भएको छ।
तीमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ५,४६३ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २५० जना सङ्क्रमित भएका छन् ।
प्रदेश नं १ मा १,१३२, लुम्बिनीमा ७९८, प्रदेश नं २ मा ५०१, कर्णालीमा ३०७ र गण्डकी प्रदेशमा २९१ स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्।
कोभिडका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मीहरू पनि वाग्मतीमा ११ जना छन् भने गण्डकीमा हालसम्म कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
कोरोनाभाइरस सङ्क्रमणका कारण प्रदेश नं २ मा १० जना, लुम्बिनीमा ६ जना र प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दुई–दुई जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्य बिमाको अवधि
अघिल्लो वर्ष धेरै स्वास्थ्यकर्मीहरूको कोरोना बिमा गरिए पनि यो वर्ष बिमाको अवधि सकिएकाले सङ्क्रमित हुँदा समेत स्वास्थ्यकर्मीले बिमा रकम पाउँदैनन्।
मन्त्रालयका सह–प्रवक्ता अधिकारी सङ्क्रमित सबै स्वास्थ्यकर्मीको औषधि उपचार राज्यले गरिरहेको बताउँछन्।
‘बिमाको अवधि एक वर्ष हुने भएकाले यो वर्ष बिमा कायम छैन। तर सङ्क्रमित सबै स्वास्थ्यकर्मीको उपचारको सम्पूर्ण जिम्मा राज्यले लिएको छ,’ उनले भने। कोभिडका कारण मृत्यु भएको अवस्थामा स्वास्थ्यकर्मीका परिवारलाई २५ लाख रुपैयाँ राहत दिइने उनले जानकारी दिए।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि कतिपय स्वास्थ्यकर्मीले अरू सङ्क्रमितको सेवा गरिरहेका छन्। स्वास्थ्यकर्मीसँगै अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूको पनि कोरोना बिमाको अवधि सकिएको छ।
स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसविरुद्ध खोपका लागि तयार गरेको सूचीअनुसार नेपालमा महिला स्वास्थ्य स्वयंसेविकासहित दुई लाख २५ हजार स्वास्थ्यकर्मी कार्यरत छन्।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले हालै सार्वजनिक गरेको एउटा विवरणअनुसार विश्वभरि करिब एक लाख १५ हजारभन्दा बढी स्वास्थ्यकर्मीले कोभिडका कारण हालसम्म ज्यान गुमाइसकेका छन् ।
भारतमा मात्रै एक हजारभन्दा बढी चिकित्सकले कोभिडका कारण ज्यान गुमाइसकेको त्यहाँको मेडिकल एसोसिएसनले जनाएको छ।
किन सङ्क्रमित भइरहेका छन् स्वास्थ्यकर्मी ?
चिकित्सक तथा अनुसन्धाता डा. किरणराज पाण्डेका अनुसार विश्वका अन्य देशको तुलनामा नेपालमा स्वास्थ्यकर्मीमा सङ्क्रमण दर केही बढी देखिए पनि मृत्युदर कम छ।
‘दोस्रो लहरमा खोपकै कारण धेरै स्वास्थ्यकर्मीलाई बचाउन सकिएको छ। खोप लगाएका व्यक्तिमा मृत्युदर मात्रै नभई स्वास्थ्य जटिलता पनि धेरै कम छ,’ पाण्डे भन्छन् ।
स्वास्थ्य सुरक्षा मापदण्डबारे प्रशिक्षणको अभाव र व्यक्तिगत सुरक्षाका मापदण्डमा कमजोरीका कारण पनि कतिपय स्वास्थ्यकर्मी सङ्क्रमित भएको डा. पाण्डेको बुझाइ छ।
‘स्वास्थ्यकर्मीहरू धेरै सङ्क्रमित हुनुको प्रमुख कारण नै उनीहरू अग्रपङ्क्तिमा रहेर सङ्क्रमितहरूको उपचारमा संलग्न हुनुपर्ने बाध्यता हो,’ पाण्डे थप्छन्।
पाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजाल सामान्यभन्दा लामो समय काम गर्दा पर्याप्त स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध नभएका कारण पनि धेरैजसो स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।
‘स्वास्थ्यकर्मीहरूले लगातार १२ घण्टा काम गर्दा पनि एउटै पीपीई प्रयोग गरिरहेका छन्। पीपीई प्रयोग गरेपछि नष्ट गर्नुपर्नेमा पुनः प्रयोग गर्नुपर्ने अवस्था पनि छ। यसले पनि उनीहरूमा सङ्क्रमणको जोखिम बढाउने नै भयो,’ रिजालले भने।
अघिल्ला भेरिअन्टभन्दा डेल्टा भेरिअन्टबाट सङ्क्रमण हुने दर धेरै भएको र कार्यस्थलमा सङ्क्रमित तथा अन्य सहकर्मीसँग दूरी कायम गर्न कठिन भएका कारण पनि स्वास्थ्यकर्मीहरू बढी सङ्क्रमित भएको हुन सक्ने उनको ठम्याइ छ।
सरकारले के गर्यो ?
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारी स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्रीमा समस्या नरहेको बताउँछन्।
‘तालिम प्रशिक्षण र आवश्यक व्यक्तिगत सुरक्षा सामग्री सबैलाई उपलब्ध गराइएको छ। उनीहरूलाई बिमा र क्वारन्टीनको व्यवस्था गरिएको छ। त्योभन्दा विशेष केही छैन,’ उनले भने ।
पहिलो लहरका बेला स्वास्थ्यकर्मीका लागि होटल क्वारन्टिनको व्यवस्था गरेको सरकारले यसपटक सम्बन्धित स्वास्थ्य संस्थालाई आफैँ प्रबन्ध गर्न भनिएको छ।
– बिबिसी नेपाली सेवाबाट साभार