सवारी दुर्घटनामा संलग्न कार चालक रोविन कार्कीसँग लाइसेन्स नै नभएको दाबी

विराटनगर । विराटनगरको एयरपोर्ट मोडमा हिंजो साँझ भएको सवारी दुर्घटना प्रकरणमा कार चालक रोविन कार्कीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै नभएको पाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कार रोविन कार्कीले चलाएका थिए । उनका साथमा दुई युवति सँगै थिए । कारमा बियरका बोतलसमेत रहेको प्रत्यक्षदर्शी बताउँछन् । एयरपोर्ट रोडको एक होटलमा बियर खाएर निस्किएका रोविनले चलाएको कार अनियन्त्रित हुँदा दुई जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङ कटहरी– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा चालकको पहिचान भइसक्दा पनि लाइसेन्स नभएको र पहुँचमा भएका कारण कार्कीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ । हालसम्म प्रहरीले दुर्घटनामा परेको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार १ नम्बर प्रदेशसभा सदस्य विन्दिया कार्कीको भएको पुष्टि भइसकेको छ । ‘रोविनसँग लाइसेन्स पनि छैन, यसअघि पनि थुप्रै यसखालका घटनामा संलग्न हुँदा पनि छुट्दै आएको कारण प्रहरी आफैं घटना गुपचुप गराएर नक्कली सवारी चालक खडा गर्न खोजिरहेको छ,’ स्रोतले भन्यो, ‘प्रहरीले अहिलेसम्म सवारी चालक रोविनका विरुद्धमा जाहेरी लिन समेत प्रहरीले मानेको छैन ।’

कारमा सवार रहेकी भनिएकी मकालु टेलिभिजनकी एक महिला कर्मचारीलाई भने बयानका लागि बोलाइएको प्रहरीस्रोतको भनाइ छ । अहिलेसम्म बयान लियो कि लिएन भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।

चालक रोबिन कार्कीसहित कारमा को–को सवार थिए भन्ने कुरा समेत प्रहरीले अहिलेसम्म बताउन चाहेको छैन । दुर्घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुका अनुसार चालक रोविनले मदिरा सेवन गरेको जस्तो देखिन्थ्यो । प्रहरीले मेडिकल परीक्षण गर्दा प्रमाणित नहोस् भन्नेगरि चालकलाई ढिलो गरि पक्राउ गर्ने योजना अनुरुप छलछाम गरेको स्थानीयको आरोप छ । स्रोतका अनुसार पीडित परिवारलाई केही रकम दिने प्रलोभन सुरु भएको र घटना गुपचुप गराउन पनि आर्थिक स्रोतको परिचालन भएको बुझिएको छ । कार्कीलाई बचाउन प्रदेश सरकारका मन्त्रीदेखि कांग्रेसका माथिल्लो तहका नेताहरुले नै प्रहरीलाई दबाब दिइरहेको स्रोतको दाबी छ ।

शुक्रबार, २१ जेठ, २०७८, दिउँसोको ०३:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर