कोभिड अस्पताल सञ्चालनमा ढिलाई, डेढ महिनामा पनि जोडिएन अक्सिजन पाईपलाईन

विराटनगर । कोरोना संक्रमित बिरामीहरुको सघन उपचार निम्त्ति प्रदेश १ सरकारले निमार्ण गरेको ८० शैयाको कोभिड अस्पताल पुनः सञ्चालनमा ढिलाई भएको छ ।

पछिल्लो समय नयाँ भेरिएन्ट सहितका कोरोना संक्रमितहरुको संख्या बढिरहँदा पनि अस्पताल सञ्चालनमा ढिलाई भएको हो । संक्रमित बिरामीहरुको निःशूल्क उपचारको अवधारणासहित प्रदेश सरकारले निमार्ण गरेको ८० बेड क्षमताको कोभिड अस्पताल हालसम्म ठप्प छ । अस्पतालमा विगत डेढ महिनादेखि अक्सिजनको पाईपलाईन जडानको कार्य भईरहेको प्रदेश सरकारले जनाएको छ । लक्षणसहितका गम्भीर प्रकृतिका बिरामीहरुको उपचारका निम्त्ति प्रदेश सरकारले २०७६ चैत्र २१ गते पहिलोपटक विराटनगर–१० स्थित नेशनल ट्रेडिङको रिक्त संरचनामा ५० शैयाको कोभिड अस्पताल निमार्ण गरि सञ्चालनमा ल्याएको थियो । मुख्यमन्त्री शेरधन राईले अस्पतालको उद्धाटन गरेका थिए । पछि बढ्दो संक्रमण दरलाई दृष्टिगत गर्दै सरकारले अस्पतालको क्षमता वृद्धि गरेर ८० शैयामा पुर्‍याएको थियो । अस्पतालमा ७ वटा आई.सि.यु, ७ वटा भेन्टिलेटर र ३२ वटा अक्सिजन सहित सामान्य बेडहरु थिए ।

तर पछिल्लो डेढ महिनायता ‘डबल म्युटेन्ट भेरिएन्ट’ सहितको कोरोना संक्रमणको जोखिम तीव्र भएपनि उक्त अस्पताल सञ्चालनमा प्रदेश सरकारले कुनै चासो देखाएको छैन् । जसकारण प्रदेशका अन्य सरकारी अस्पतालमा संक्रमित बिरामीहरुको चाप बढ्नुका साथै उनीहरुले चर्को मुल्य तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य हुनुपरेको छ । अक्सिजन पाईप र सिलिण्डर म्यानिफल्ड जडानको कार्य जारी रहेकाले ८० बेडको उक्त अस्पताल सञ्चालनमा ढिलाई भएको कोभिड–१९ उपचार केन्द्रका संयोजक बैजनाथ शाहले बताए । ‘विगत १ महिनाभन्दा बढी समयदेखि चलिरहेको प्राविधिक कार्य नसकिएकाले अस्पताल सञ्चालनमा ढिलाई भएको हो’, उनले भने, ‘काम सकिएपनि पछिल्लो समय भएको अक्सिजन अभावको नयाँ समस्या सिर्जना भएको छ । यसले अस्पताल पुनः सञ्चालनमा थप चुनौती सिर्जना गरेको छ ।’

हाल विराटनगर–१० स्थित कोभिड–१९ उपचार केन्द्रमा नागरिक केयर सेन्टरले निमार्ण गरेको ९६ बेड क्षमताको नयाँ ब्लक मात्र सञ्चालनमा छ । नयाँ ब्लकमा आई.सि.यु २१, एच.डी.यु २९, अक्सिजन जेनरल ३३ र जेनरलका १३ बेड छन् । ८० बेडको पुरानो अस्पतालको स्वास्थ्य उपकरणहरु पनि नयाँ ब्लकमा प्रयोग भईरहेको छ । २०७७ बैशाख १८ देखि नागरिक केयर सेन्टरको सहकार्यमा प्रदेश सरकारले उक्त ब्लक सञ्चालनमा ल्याएको हो । यहाँ हाल ५४ पुरुष र २४ महिला गरि ७८ जना उपचाररत छन् । पछिल्लो समय संक्रमण दर उच्च भएसँगै अस्पतालमा बिरामीको चाप पनि उत्तिकै बढेर गएको छ ।

तर प्रदेश सरकारले भने संक्रमण दर न्यूनीकरण हुँदै गएको भन्दै पुरानो अस्पताल सञ्चालनको आवश्यकता नपर्ने बिषयमा आशावादी रहेको जनाएको छ । सरकारले छिट्टै कोरोना विरुद्धको खोप पनि उपलब्ध गराउने तयारी गरिरहेको भन्दै प्रदेश सरकारकी सामाजिक विकास मन्त्री उषाकला राईले ८० बेडको उक्त अस्पताल पुनः सञ्चालनको आवश्यकता नपर्ने बताईन । ‘हामीले चाँडै अस्पताल तयार गर्ने कार्यमा जुटेका छौं’, उनले भनिन, ‘तर संक्रमण दर घटदै गएकाले अस्पताल पुनः सञ्चालन गर्नुपर्छ जस्तो लाग्दैन ।’

पछिल्लो जेठ १५ देखि १९ गतेसम्मको अवधिमा मात्रै प्रदेश १ मा ३ हजार ७८४ जना नयाँ संक्रमित थपिएका छन् । जसमा १५ गते ७०१, १६ गते १ हजार ५, १७ गते ६९७, १८ गते ६६३ र १९ गते ७१८ जनामा संक्रमण देखिएको सरकारी तथ्याङ्क छ । तथ्याङ्क अनुसार यो दर बढ्ने क्रममा देखिएको छ । प्रदेश १ मा दैनिक भने ६ सय बढीमा संक्रमण पुष्टि हुने गरेको छ ।

बिहिबार, २० जेठ, २०७८, साँझको ०५:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर